मान्छेलाई किन खाउँ खाउँ लाग्छ मासु ?

मान्छेलाई किन खाउँ खाउँ लाग्छ मासु ?

यस संसारमा मान्छेलाई खानको निम्ति अनगिन्ती चीजबीच छन् । अन्न भने अन्नै थरीथरी । रोजीरोजी खानलाई तरकारी, फलफूल पनि किसिम–किसिमका छन् । तैपनि धेरै मान्छे मासु भनेपछि हुरुक्क हुन्छन् । मासुको परिकारको नाममात्रै लिँदा पनि मुखमा र्याल आउँछ कति जनाको । आखिर मान्छेको मनले किन मासु माग्छ त ? यो मनको राक्षसी आवृत्ति हो ।

देवताहरुले हल्का अन्न र फलाहारमात्रै गरेको र दैत्यहरुले अरुको रगतमासु लुछेको किस्सा हामीले नसुनेका होइनौं । मान्छेको मनमा ईश्वरको बास हुन्छ भन्छौं हामी । राक्षस पनि हामीभित्रै सवार छ । दुईखुट्टे मान्छेमा यी दुवै गुण विद्यमान छन् । केमा जाने ? कतातिर पाइला चाल्ने ? ईश्वरीय गुणलाई जगाउने कि आसुरी प्रवृत्तिलाई ? त्यो मान्छेमै निर्भर छ ।

राम-राज्यको कल्पना गर्छाैं हामी । जब प्रत्येक मान्छे नै अधिकांशरुपमा आसुरी गुणमै मग्न छ भने कसरी आउँछ यहाँ रामराज्य ? हामीले जे खान्छौं त्यसको असर प्रत्यक्ष–परोक्ष रुपमा हाम्रो शरीर र मनमा समेत परिरहेको हुन्छ । गरिष्ठ खानाले शरीरसँगै मन पनि भारी हुन्छ । नसालु पदार्थ खाँदा पहिले मनै त हो मात्तिने ! रक्सी पिउँदा उन्मत्त भएर उद्दण्ड हुन्छ मान्छे भने पानीमात्रै पिउँदा केही शान्त हुन्छ मन । नुन बढी खाँदा आलस्यता आउँछ । गुलियो फल वा मिठाइले मनैमा मिठास र स्फूर्ति ल्याउँछ । मासु त काँचै नुनिलो हुन्छ । हामीले खाने नुनसमेत जुठो हो भनेर कतिपय धार्मिक कर्म–काण्डहरुमा खाइँदैन । किरिया बस्दा पनि मान्छेहरु नुन नखाई बार्छन् । जेहोस्, मासु असुरी खाना हो र यसले हाम्रो चित्त बिगार्दछ । आफूभित्रको दैत्यलाई जगाउने कि यस्ता असुर खानपान आनीबानी छोडेर ईश्वरीय गुणलाई प्रबल बनाउने ? सोच्ने र गर्ने हामीले नै हो ।

हामीले खाएको खाना हाम्रो नसा–नसाबाट उर्जा बनेर प्रवाहित हुन्छन् । यसरी नसा–नसामा आसुरी तत्व समाएपछि हामी त्यसैअनुरुप चलायमान त हुने नै भयौं । हाम्रो बोली–व्यवहार, चालढाल र रहनसहनमै यसले असर पार्छ । आसुरी खानपानले मानिसमा उत्तेजना र आवेग बढाउँछ ? हाम्रो विवेकलाई नै छोपिदिन्छ । उर्बरता रोज्ने कि बर्बरता ? रचनात्मक बन्ने कि विध्वंशात्मक ? जस्तो अन्न उस्तै मन भन्ने त कहावत् नै छ । हाम्रो खानपानले हाम्रो सोचविचार र चिन्तनमनन्मा गहिरो प्रभाव पारिरहेको हुन्छ । आसुरी खानाले हाम्रो आचारविचारलाई नै कलुषित पारिरहेको छ । मान्छेलाई व्यभिचारी, दूराचारी, अहंकारी, अत्याचारी र हिंस्रक बनाउँदै लगेको छ । 

यो संसारमा आफूखुशी जिउने हक सबैलाई बराबर छ । तर आफ्नो स्वाद र सन्तुष्टिको लागि अरुको जिउने अधिकार नै खोसिदिने भनेपछि हामी मान्छे राक्षसभन्दा के फरक रह्यौं र ? असुरीय असरले मान्छेको जीवनलाई सुरमा चल्न दिएकै छैन । सुर गुण संगतिमा लाग्छ भने असुरी गुण असंगति र विसंगतिमा लिप्त हुन्छन् । 

घरमा पाहुना आउँदा मासुले नै स्वागत गर्नु, विवाह, बर्थडेजस्ता उत्सवहरुमा पनि मासुकै परिकार बनाएर भोजभतेर गर्नु राक्षसी चर्या नै हो । शुभ कर्महरुमा समेत यस्ता आसुरी रिवाजले ढिलोचाँडो त्यसको अशुभ प्रभाव नै हामीमा पर्दछ । मान्छेहरु हिन्दू, मुस्लिम, बौद्धिस्ट वा क्रिस्चियनलगायत अनेक धर्ममा लागेको तामझाम र नौटंकी खुब देखिन्छ । तर धर्मको अर्थमा पुग्न सकेको पाइँदैन । बुद्ध हुनु भनेको बुद्धि हुनु हो । तर अहिंसाको बाटो देखाउने बुद्ध धर्म मान्ने भन्नेहरु नै जातले पाएको भन्दै गाई–भैंसीको मासु खान पाउँदा रमाउँछन् । मुस्लिम, इसाइ सबै उस्तै छन्, मासुमै लोभिने । हिन्दूका दशैँ, तिहार जस्ता धार्मिक चाडहरुमा समेत मासुकै भतेर चल्छ । मासुविना दशैं नै खल्लो हुने रे ! राक्षसी मन खल्लो हुने हो मासुविना, दशैं होइन । चाड त हामीले जसरी मनायौं, त्यसरी मानिन्छ ।

आफू त मांसभक्षी भएर दैत्यिक आहारको आदी भयौं भयौं, बालबच्चालाई समेत सानो नबुझ्ने बेलादेखि नै चिचीपापा भन्दै मासु खुवाएर आसुरी खानपान सिकाइराछौं । अवोध बालबालिकालाई अरुको रगत–मासु, हाडछाला खाएर तृप्त हुन सिकाइएको छ । अर्थात् राक्षसी संस्कार खानाबाटै हुलिएको छ त कसरी आउँछ यहाँ रामराज्य ? जसले जे भनेपनि अरुलाई मारेर खान रुचाउनु मान्छेको आसुरी गुण नै हो ।  जब राक्षसी खानपानको बानी पर्दै जान्छ, त्यसले हामीलाई आसुरी कामक्रियातर्फ नै प्रेरित गर्दै लग्छ, अनि त्यसैमा हामी तृप्ति भेट्छौं । त्यसैले मासुको लत लागिसकेपछि कति मान्छेहरु चाहेर पनि छोड्न सक्दैनन् । किनकि उसमा राक्षसी बल प्रबल भइसकेको हुन्छ ।

मासु खाने बानी परेपछि अर्थाेकभन्दा मनले मासु नै मागिरहन्छ । पैसा नहुनेहरु पनि पैसा भएपछि मासुमै खर्च गर्न पुग्छन् । अरुको अमूल्य जीवन हर्दै खाएको त हामीले चर्काे मूल्य चुकाउनैपर्छ । स्वस्थवर्धक अरु तरकारीभन्दा मासु नै महँगो । महिनाभरि दालचामल, रोटी, सागसब्जी खानपुग्ने पैसा ५-७ छाक मासु खाँदामै सकिन्छ र त्यसले रोग-व्याधि नै बढाउने हुन् । एउटा सामान्य रोग लाग्दा पनि मान्छेको कति खर्च हुन्छ ? सोचौं त !

रोग व्याधि त्यसै बढेका होइनन्, सात्विक आहार सुहाउँदो शरीर हो हाम्रो । मानव शरीरमा मासु सजिलै पच्दैन । अनि स्वभावतः पनि यस्तै जिद्दी, हठी र क्रोधी व्यवहारले ग्रस्त बनाउँदैछ हामीलाई । ठूल्ठूलो स्वरमा चर्केर कुरा गर्नु, अपशब्द बोल्नु, निर्धालाई दबाउनु यी सबै आसुरी गुण हुन् । ईश्वरीय गुण त परोपकारी हुन्छ । राक्षसी स्वभाव हिंसामा रमाउँछ । अतः स्वार्थी, मतलबी, अरुलाई सताएर, दुःख दिएर, मारपिट गरेर रमाउने मान्छेको तुलना राक्षससँग मात्रै हुन सक्छ । सबै प्राणीलाई प्रेम गर्ने, सबैको भलो चिताउने, उद्धार, उपकार गर्ने ईश्वरी गुण हो । शान्तभावमा रहनु, मधुर वचन बोल्नुमै ईश्वरीय विशेषता छ । 

आफ्नो स्वाद–सन्तुष्टि र मजाको लागि अरुको जीवनलाई तुच्छ ठानेर हिंसा गर्नु राक्षसी स्वभाव नभए के ? अनि किन नहोस् यहाँ रोग, शोक, भोक, कलह, पीडा र अशान्तिका क्रन्दन ? कुनै कुरा नहुनुलाई अभाव भनिन्छ । किन ? किनकि, त्यसनिमित्त उपयुक्त भाव भएन, त्यसैले अभाव भयो । जुनसुकै आविष्कार पहिले मनको भावबाटै उब्जिएर प्रकट हुने हुन् । हामीले नदेखेको ईश्वर र राक्षसका किस्सालाई सांकेतिक वृत्तको रुपमा जीवनमा बुझ्ने चेष्टा गर्यौँ भने बल्ल थाहा हुन्छ ।

यस जुनीमा गरिएको कर्मअनुसार मरेपछिको भोग त होला, नहोला । तर स्वर्ग र नर्क भन्ने कुरा यहीँ छ र ईश्वर पनि हामी नै हौं, राक्षस पनि हामी । भूतले तर्साउनु भनेको विगतले सताउनु हो । बितेका समयमा गरेका गल्ती, कमजोरी र कुकर्महरुले पिरोल्नु हो । यस अर्थमा हामी जुनरुपमा भगवान खोजिरहेका छौं, त्यो सुखद भविष्य हो । हाम्रो विगत र वर्तमानको कर्म, जसबाट हाम्रो भविष्य सुखमय हुन्छ, लाग्छ भगवान भेट्नु भनेकै त्यही हो । आसुरी प्रवृत्तिलाई छोडेर ईश्वरी गुण अवलम्बन गर्दा कुनै भूतदेखि तर्सिनुपर्दैन र भविष्य पनि आनन्ददायी हुने निश्चित छ । तर आजको जीवन सुखमय छ भनेर मैमत्त हुने, अरुलाई हेप्ने, दुत्कार्ने गर्यौँ भने भोलि फेरि दुःख पाइने पक्का छ । भगवानले पनि विभिन्न रुपमा छल गरेका कथा छँदैछ । त्यसैले जस्तोसुकै आपत्विपद्मा पनि आफ्नो ईश्वरीय धर्म छोड्नुहुँदैछ । ईश्वरको परीक्षामा सफल भयौं भने सुखद् भविष्य अर्थात् भगवान त हामी भेट्ने नै छौं । 

पशुको दूध, दही पनि मान्छेको लागि राम्रो होइन । तर हामी गाईभैंसी लगायतका पशुलाई बाँधेर, थुनेर उनीहरुका बाच्छाबाच्छी, पाडापाडीलाई समेत अघाउन्जी खान नदिई दूध निकालेर आफू खाने र आफ्ना बालबच्चालाई खुवाउने, बेच्ने गरिराछौं । मान्छेले त खासामा मान्छेकै दूध खाने हो । हामीलाई बच्चा छँदा बाँच्न, हुर्कनको लागि आफ्नो आमाकै दूध पर्याप्त छ । पशुको दूधले सेवनले त पाशविक गुण नै हामीमा विकसित हुँदै जान्छ । किनकि दूधमा आमाको आत्माको अंश पनि मिसिएको हुन्छ । यसरी पाशविक र आसुरी गुण बढ्दै जाँदा एउटा मान्छेले अर्काे मान्छेकै अधिकारसमेत खोसिँदैछ । अरुमाथि दासत्व लादेर मालिक बन्ने प्रवृत्ति राक्षसी नभए के हो त ? अरुलाई लुटेर, ठगेर मालामाल हुने कोसिस गरिराछौं, त्यो आसुरी गुणकै प्रभावले हो । जानीनजानी अरु प्राणीलाई थुनेर, बाँधेर जीविका चलाउन उद्यत हुनुले पनि आसुरी गुणलाई बढावा दिन्छ । 

एक मनले अरुको सेवा र परोपकारी काम पनि गर्न खोज्छौं तर त्यसमासमेत स्वार्थीपन जुन हामीमा हावी छ, त्यो आसुरीपन हो । एउटा गरीब वा विपद्मा परेकोलाई अलिकति दालचामल वा चाउचाउ बिस्कुट दिएको फोटो-भिडिओ खिचेर सामाजिक सञ्जालमा आफ्नो मपाईंत्व देखाउनुलाई के भन्ने ? असुरमा नै मपाईंत्व निहित हुन्छ । धेरै धन कमाउनु, दरबार जत्रो घर हुनु वा भौतिक सुविधा सम्पन्न हुनुलेमात्रै ईश्वरप्राप्ति भएको हुन्न । रावणको त सुनैको लंका थियो । तर अरुलाई हरण गर्ने उनी राक्षस नै थिए । राम त वनबासै बसेरपनि भगवान नै मानिन्छन् । तर हामीचाहिँ बिराम ज्यादा गरिराछौं । त्यसैले बिरामीले ग्रस्त छ यो समाज ।

टिप्पणीहरू