शिक्षकको शैक्षिक प्रमाणपत्र नक्कली

चितवनको खैरहनी नगरपालिका–६, मा रहेको खैरहनी माध्यमिक विद्यालयका शिक्षक गोपालप्रसाद शर्माविरुद्ध मुद्दा दायर भएको छ ।
नक्कली शैक्षिक योग्यताको प्रमाणपत्रका आधारमा नियुक्ति लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालत काठमाडौंमा उनीविरुद्ध मुद्दा दर्ता गरेको छ ।
द्वितीय तहमा कार्यरत स्थायी शिक्षक शर्माले नियुक्तिको क्रममा पेश गरेको प्रवीणता प्रमाणपत्र नक्कली रहेको भेटिएको अख्तियारको दाबी छ । उनले भारतको उत्तर प्रदेशस्थित माध्यमिक शिक्षा परिषद्बाट जारी भएको भनी झुट्टा प्रमाणपत्र बुझाएको पाइएको बताइन्छ ।
नक्कली प्रमाणपत्रका आधारमा सरकारी सेवामा नियुक्ति लिई ओहोदा, लाभ र सुविधा लिएको ठहर गर्दै अख्तियारले उनीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र जरिवाना हुन मागदाबी गरेको छ ।
टिप्पणीहरू