सेलिब्रेटीहरुको बिहे र डिभोर्स धमाधम

६० को दशककी चर्चित अभिनेत्री उषा पौडेलले दोस्रो बिहे गरेकी छिन् । अमेरिका बस्दै आएकी उनले राहुल केसीसँग लगठगाँठो कसेकी हुन् ।
‘राम-लक्ष्मण’, ‘क्रोध’, ‘माया नगर’सहित झण्डै ५० भन्दा बढी चलचित्रमा काम गरेकी उषाले ०७४ मा अभिनेता सुधांशु जोशीसँग पहिलो बिहे गरेकी थिइन् । तर, उनीहरुको सम्बन्ध लामो समय टिक्न सकेन ।
बिहे गरेको ढेड वर्षमै सम्बन्धमा दरार आएपछि छुट्टा-छुट्टै बस्न थालेका उनीहरुले ०७७ मा औपचारिक रुपमै डिभोर्स गरेका थिए । उषाको अहिलेका श्रीमान राहुल पनि पेशाले मोडल रहेको र उनको पनि दोस्रो बिहे रहेको बताइन्छ ।
उनीहरुले गत अप्रिल २८ मै कोर्ट म्यारिज गरेको तथा हिजो बिहान नेपाली परम्पराअनुसार बिहे गरेको बुझिएको छ । हिजै साँझ उषाले नजिकका केही सीमित साथीभाइलाई पार्टीसमेत दिएकी थिइन् ।
उता ६० कै दशककी चर्चित अभिनेत्री विपना थापाको वैवाहिक सम्बन्धमा खटपट आएको चर्चा छ । उनका श्रीमान आषुतोश भारद्वाजले फेसबुकमा लगातार ‘विपनासँगको सम्बन्ध सकिएको’ स्टाटस लेखेपछि यस्तो चर्चा चलेको हो ।
यद्यपि, दुई साताअघि माइत (नेपाल) आएकी विपनाले भने सम्बन्धमा त्यस्तो कुनै समस्या नरहेको स्पष्टीकरण दिंदै श्रीमानसँग कुरा गर्न अस्ति पुनः भारत फर्केको जानकारी दिएकी छिन् । विपना यता आएकोबेला आषुतोषले फेसबुकमार्फत् विपनालाई अपशब्द प्रयोग गर्दै भनेका थिए, ‘विपना थापासँग अब मेरो कुनै सम्बन्ध छैन, विपना थापाले मलाई मार्ने धम्की दिएकी छिन् ।’
श्रीमानको यस्ताे स्टाटसपछि विपनाले पनि अत्तिंदै एयरपोर्टबाटै भिडियो सन्देश सार्वजनिक गरेकी थिइन् । भनेकी थिइन्, ‘मेरो श्रीमान विरामी भएको कारण औषधी प्रयोग गर्दै आउनुभएको छ, सायद त्यसैको असरले त्यस्तो लेख्नुभयो होला । तर हामीबीच केही समस्या छैन । अहिले म घर फर्किदैछु ।’
रोचक के भने, आषुतोषले अहिले आफ्नो फेसबुकबाट ती स्टाटस हटाइसकेकाे देखिन्छ । यो समाचार तयार पार्नुभन्दा केहीबेर अघि मात्रै ‘फेसबुक ह्याक भएको’ नयाँ स्टाटस लेखेका छन् । तर, धेरैले भने उक्त स्टाटस विपनाले नै लेख्न लगाएको अनुमान गरिरहेका छन् ।
स्मरणीय छ, पछिल्लो समय कलाकारहरुको बिहे र डिभोर्सको कन्ट्रोभर्सीले नेपाली चलचित्र गर्माएको छ । अभिनेत्री वर्षा शिवाकोटीको डिभोर्स, सृष्टि श्रेष्ठ र सौगात मल्लको ब्रेकअप, रवि ओडमाथि वैवाहिक बलात्कार, गायिका एलिना चौहानको डिभोर्स, मोडल मिस पवीको बिहे र डिभोर्स हुँदै पछिल्लो समय अरुणिमा लम्सालको बिहे र डिभोर्सले चलचित्रवृत नसेलाउँदै उषाको दोस्रो बिहे र विपनाको खटपट चर्चामा आएको हो ।
टिप्पणीहरू