दुई छिमेकीको झगडा मिलाउनु पर्थेन नेपालले ?

भारत र पाकिस्तानबीच तीन दिनसम्म चलेको आक्रमण र प्रत्याक्रमण हिजो साँझदेखि मत्थर भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका विदेशमन्त्री मार्को रुवियोले आफ्नो रातभरको सक्रियताका कारण युद्धमा होमिएका दुई दक्षिण एसियाली मुलुक युद्धविरामका लागि सहमत भएको दाबी गर्दै हिजो सामाजिक सञ्जालमा लेखेका थिए । राष्ट्रपतिले दुबै मुलुक तटस्थ स्थानमा वार्ता गर्न सहमत भएको समेत दाबी गरेका छन् ।
यता भारतले अरु सबै कुरामा आफू सहमत भए पनि वार्ता गर्ने तटस्थ मुलुकबारे अमेरिकासँग कुरै नभएको दाबी गरेको छ । यसवीच छिमेकी र क्षेत्रीय संगठनका संस्थापक मुलुकहरुबीच युद्ध रोक्न,शान्ति कायम गर्न नेपालले सार्कको अध्यक्ष हुँदाहुँदै पनि कुनै प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको प्रमाणित भएको छ । केही दिनको अन्तरमा जारी गरिएका औपचारिकताका विज्ञप्तिबाहेक नेपालको सशक्त भूमिका नदेखिएको कूटनीतिक वृत्तमा चर्चा छ ।
"अमेरिकी बर्चश्व कायम रहने साउदीमा हुने गरेको वार्ता नेपालले छिमेकी मुलुक, सार्कको अध्यक्ष राष्ट्रका नाताले यसको मुख्यालय रहेको काठमाडौंमै गराउन किन पहल गरेन ? गरेको भए कहाँसम्म पुगेर प्रक्रिया अवरुद्ध भयो ?"
उता अमेरिकाले दुई मुलुकबीचको वार्ता सम्भवत: भोलि साउदी अरेबियामा गराउँदै छ । यसअघि युक्रेन र रुसबीचको वार्ता पनि अमेरिकी मध्यस्थतामा साउदीमा भएको थियो । अमेरिकी बर्चश्व कायम रहने साउदीमा हुने गरेको वार्ता नेपालले छिमेकी मुलुक, सार्कको अध्यक्ष राष्ट्रका नाताले यसको मुख्यालय रहेको काठमाडौंमै गराउन किन पहल गरेन ? गरेको भए कहाँसम्म पुगेर प्रक्रिया अवरुद्ध भयो ? यसबारे हाम्रो सरकार र परराष्ट्र मन्त्रालय हालसम्म मौन छन् । वक्तव्य निकालेर औपचारिकता निर्वाह गर्नेबाहेक हाम्रो तर्फबाट कुनै रचनात्मक पहल नभएको अधिकारीहरु बताउँछन् ।
हिजो अपरान्ह भारत र पाकिस्तानबीच युद्ध विरामको सहमति भएको खबर बाहिरिएपछि आज परराष्ट्र मन्त्रालयमा सहमतिको स्वागतमा अर्को विज्ञप्ति निकाल्नेबारे पनि छलफल भएको बुझिएको छ । तर,कतिपयले विज्ञप्ति निकाल्नुको कुनै अर्थ नभएको जवाफ दिएपछि मन्त्रालय पछाडि हटेको अवस्था छ ।
केही बर्षदेखि भारत सार्कको भूमिका र औचित्यलाई निकम्मा साबित गर्न उद्दत छ । उसले औपचारिकताको निम्ति सार्कलाई स्वीकारे पनि वार्षिक रुपमा हुनुपर्ने शिखर सम्मेलनमा भाँजो हालेर यसको भूमिकालाई एक दशकदेखि ठप्प प्रायः बनाएको छ । बरु इस्लामिक मुलुकहरु पाकिस्तान,माल्दिभ्स र अफगानिस्तानलाई अलग्याएर पूर्वका म्यानमार र थाइल्याण्डलाई समेट्दै बिमस्टेकतर्फ अगाडि बढेको छ । बंगालको खाडीसँग जोडिएका मुलुकको नाममा खोलिएको बिमस्टेकमा नेपाल पनि लतारिएको छ । तर, सार्कको भूमिकालाई नयाँ ढंगले अगाडि बढाउन नेपालले खासै पहल गरेको पाइन्न । सन् २००५ मा ढाकामा आयोजित शिखर सम्मेलनमा छिमेकी चीन सार्कको पर्यवेक्षक मुलुक बनेपछि भारतले घुमाउरो तरिकाले यसलाई निष्प्रभावी बनाउन कस्सिएको हो । चीन त्यतिबेला पाकिस्तान,बंगलादेश र नेपालको समर्थनमा पर्यवेक्षक बनेको थियो ।
टिप्पणीहरू