हिसाब गोलमालपछि मन्त्रीले प्राधिकरणको डीडीए गराउने

कुलमान घिसिङको ठाउँमा आएका हितेन्द्रदेव शाक्यले नेपाल विद्युत प्राधिकरण घाटामा गएको हिसाब देखाएसँगै उत्पन्न विवादबारे विभागीय मन्त्रीले प्रतिक्रिया दिएका छन् ।
उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले प्राधिकरणको अहिलेको यथार्थ अवस्था श्वेतपत्रमार्फत बाहिर ल्याएको बताए । प्राधिकरणको वित्तीय विवरण र सम्पत्ति तथा दायित्वको मूल्याङ्कन (डीडीए) गरिने पनि उनले जनाएका छन् ।
विद्युत प्राधिकरण घाटामा गएको हो ? भन्ने प्रश्नमा मन्त्री खड्काले अहिलेको यथार्थ अवस्था सार्वजनिक गरिएको भन्दै अध्ययन गर्न सुझाव दिए । ‘श्वेतपत्रमा अहिलेको जे यथार्थ हो त्यो ल्याइदिएको हो । त्यसको राम्रोसँग अध्ययन गर्नको लागि म सबैलाई सल्लाह पनि दिन चाहान्छु । हामी प्राधिकरणको पछिल्लो अवस्थाको डिडिए गराउँछौं’, उनले भने ।
अब मुलुकमा लोडसेडिङ नहुने समेत मन्त्री खड्काको दाबी छ । नयाँ कार्यकारी निर्देशक आएसँगै लोडसेडिङ हुन लागेको चर्चाका बीच उनको यस्तो जिकिर आएको हो ।
प्राधिकरणले गत शुक्रबार श्वेतपत्र जारी गर्दै सहायक तथा संवद्ध कम्पनीहरूको प्रवद्र्धनका लागि कुल ४१ अर्ब १३ करोड रुपैयाँ संस्थागत जमानत प्रदान गरेको जनाएको थियो । बाँकी भुक्तानीको लागि जगेडा नरहेको हुँदा १० अर्ब रुपैयाँ अल्पकालिन ऋण लिने प्रक्रिया अगाडि बढेको जानकारी गराएको थियो ।
त्यस्तै श्वेतपत्रमार्फत हितेन्द्रले ५ अर्ब २६ करोड रुपैयाँ नोक्सानीको हिसाब पनि देखाएका छन् । केही महिना अगाडिसम्म नाफामा रहेको भनिएको संस्था एकैचोटि अर्बौं रकम घाटामा रहेको भन्ने दाबीलाई कतिपय सरोकारवालाहरुले तथ्यांकमा गरिएको चलखेल भनेका छन् ।
हितेन्द्र आउनुअघिसम्म प्राधिकरण ४६ अर्ब ४७ करोड नाफामा रहेको भनिएको थियो । यसअघिका कार्यकारी निर्देशक कुलमानले अहिले पनि नाफामै रहेको दाबी गरिरहेका छन् ।
टिप्पणीहरू