कमल थापा र पूर्व राजावीच नगरकोटमा गोप्य कुराकानी

सत्तामा फर्किने प्रष्ट मनसुवाका साथ समर्थकहरुलाई सडकमा ओर्लन आह्वान गरे पनि तीनकुने घटनापछि रक्षात्मक बन्न पुगेका पूर्वराजा ज्ञानेन्द्र शाह बिभिन्न समूहमा छरिएर रहेका राजावादीहरुलाई एक ठाउँमा ल्याएर आन्दोलन अगाडि बढाउन फेरि कस्सिएको खबर प्राप्त भएको छ ।
फागुन ७ गते वक्तव्य निकालेर उनले आफूलाई साथ दिन आह्वान गरेपछि हौसिएर सडकमा ओर्लिएका राजावादीहरुले चैत १५ गते तीनकुनेमा विध्वंस मच्चाएका थिए । त्यसपछि सुस्ताएको आन्दोलनलाई फेरि उठाउन राजेन्द्र लिङ्गदेनहरु सक्रिय भैरहेका बेला ज्ञानेन्द्र आफैँ भित्रभित्र तातेका हुन् ।
पूर्वराजा ज्ञानेन्द्र वैशाख १७ गतेदेखि नगरकोटस्थित सोल्टी वेस्ट इन्ड रिसोर्टमा बसिरहेका छन् । 'मुड फ्रेस' बनाउन बसेका उनको त्यहाँ विभिन्न व्यक्तिहरुसंग भेटवार्ता भैरहेको छ ।
ज्ञानेन्द्रसँगको मन्त्रणापछि मिलेर आन्दोलन गर्न राजावादीहरु लगभग सहमत भएका छन् ।
आज बिहान राजेन्द्र लिङ्गदेन नेतृत्वको राप्रपाका नेता तथा सांसद दीपकबहादुर सिंह र सहमहामन्त्री रविन्द्र शाहलाई 'दर्शन भेट' दिएका उनले हिजो राप्रपा नेपालका अध्यक्ष कमल थापासँग दुई घण्टा कुराकानी गरेका थिए । कमलसँगको भेटमा राजावादी शक्तिहरु छिन्नभिन्न हुँदा आन्दोलन प्रभावकारी ढंगले अघि बढ्न नसकेको गुनासो गर्दै उनले आपसी मतभेद बिर्सिएर एकतावद्ध हुन आग्रह गरेको स्रोतले बताएको छ ।
ज्ञानेन्द्रले नवराज सुवेदीलाई सघाएर जान आग्रह पनि गरेका थिए । राजनीतिमा निष्क्रिय भैसकेका ८७ वर्षे सुवेदीलाई राजा फर्काउने आन्दोलनको जिम्मा दिइएकोमा लिङ्गदेन र कमल शुरुबाटै खुशी थिएनन् । त्यो बुझेका ज्ञानेन्द्रले कमललाई फकाउँदै 'जे भए पनि गर्ने तिमीहरुले नै हो !' भनेको बताइएको छ ।
समाचार स्रोतका अनुसार नगरकोट भेटमा राजावादी आन्दोलनसँगै बाह्य शक्ति केन्द्रको भूमिकाबारे पनि ज्ञानेन्द्रले चासो राखेका थिए । भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख डा. विजय चौथाईवालेको नेपाल भ्रमणपछि भारतको भूमिका कस्तो रहला ? उनले कमलसँग सोधेका थिए ।
त्यस्तै, पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सम्भावित राजनीतिक पुनरागमनको विषय पनि नगरकोटमा कुरा उप्किएको बताइन्छ । विद्या राजनीतिमा आए सन्तुलनकारी भूमिका खेल्न सक्ने राजावादीहरुको विश्लेषण छ । त्यही कुरा कमलले ज्ञानेन्द्रलाई रिपोर्ट गरेको स्रोत दावी गर्छ ।
ज्ञानेन्द्रसँगको मन्त्रणापछि मिलेर आन्दोलन गर्न राजावादीहरु लगभग सहमत भएका छन् । भोलि सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा पत्रकार सम्मेलन गरी संयुक्त आन्दोलन घोषणा गर्ने उनीहरुको तयारी छ ।
पर्सि पूर्वराजाको चाहनाअनुसार 'धक्का' दिनेगरी शक्ति प्रदर्शन गर्न बृहत मोटर साइकल र्यालीको आयोजना गरिँदैछ ।
टिप्पणीहरू