मोदी दुई रात जाग्राम, मध्यरातमा आक्रमण
भारतले पाकिस्तानी आतंकवादी समूहहरुलाई निरुत्साहित गर्न र जनताको सुरक्षित जीवन सुनिश्चितका लागि मिसाइल आक्रमण गरेको बताएको छ । गएराति १ बजे पाकिस्तानका नौ स्थानमा हमला गरेपछि भारतीय विदेश मन्त्रालयले नयाँ दिल्लीमा पत्रकार सम्मेलन गरेर आक्रमणको उद्देश्यबारे स्पष्ट पारेको छ ।
विदेश सचिव विक्रम मिश्रीले पाकिस्तानी आतंकवादी समूहले २२ अप्रिलमा जम्मु–कश्मीरको पहलगाममा गरेको हमलापछि दोस्रो हमलाको योजना बनाइरहेको गुप्त सूचना पाएको जिकिर गर्दै बाध्यकारी आक्रमणमा उत्रिनु परेको प्रतिक्रिया दिएका छन् । आतंकवादीहरुलाई असक्षम सावित गर्दै उनीहरुको संगठन र संरचनालाई निस्तेज पार्नु आक्रमणको एक मात्र उद्देश्य रहेको उनको भनाई छ ।
‘पहलगाम हमलापछि पाकिस्तान सरकार हामी (भारत)सँग आरोप प्रत्यारोपमा त उत्रियो, तर आतंकवादीहरुलाई कानुनी कठघरामा उभ्याउन अग्रसर देखिएन’, उनले भने, ‘उक्त देशमा सक्रिय रहेका कतिपय आतंकवादी समूहहरुले भने भारतमा अर्को हमलाको योजना बनाइरहेको गुप्त सूचना प्राप्त भएपछि हामीले आक्रमण गर्न बाध्य भयौँ, उनीहरुलाई रोक्न अनिवार्य जरुरी थियो ।’
भारतीय विदेश मन्त्रालयका यसअघिका कुनै पनि पत्रकार सम्मेलनमा सैनिक प्रतिनिधिहरु उपस्थित हुँदैन थिए । तर, आजको सम्मेलनमा भने विदेश सचिव मिश्रीको दायाँ बायाँ सेनाका दुई प्रतिनिधि पनि सहभागी थिए । सेनाकी कर्नेल सोफिया कुरैशी र एयर फोर्सका विङ्ग कमाण्डर व्योमिका सिंहले ‘सिन्दूर अपरेसन’बारे जानकारी दिएका थिए ।
सोक्रममा कर्नेल सोफियाले आतंकवादी समूहको गतिविधि हुने ठाउँलाई मात्र हमलामा निशाना बनाइएको जानकारी दिइन् । ‘पाकिस्तानी सेना र त्यहाँका जनतालाई क्षति गर्नु हाम्रो उद्देश्य होइन’, उनले भनिन्, ‘विशेष सुराकी स्रोतले भारतमाथि अर्को हमलाको योजना बनिरहेको सूचना दिएपछि त्यसलाई पुष्टि गरेर मात्रै आक्रमण गर्नैपर्ने वातावरण बनेको हो ।’
एयसफोर्सका विङ्ग कमाण्डर सिंहले पनि ‘सिन्दूर अपेरसन’ करिब २५ मिनेट चलेको जानकारी दिइन् । ‘गएराति १ः०५ देखि १ः३० बजेसम्म हामीले आतंकवादीको नौ अड्डामा आक्रमण गर्यौँ’, उनले भनिन् । सिंहका अनुसार आतंकवादीले गतिविधि चलाउँदै आएको बहाबलपुर, मुरिदके, तेहरा कलां, सियालकोट, बरनाला, कोटली, मुफ्जरावादमा हमला गरिएको हो । यीमध्य धेरै ठाउँमा आतंकवादीहरुले हातहतियार सञ्चय गर्ने र तालिम गर्दै आएको भारतीय दाबी छ ।
त्यस्तै, प्रधानमन्त्री नरेन्द्र मोदी पछिल्लो दुई रात नसुतेको बताइएको छ । सुरक्षा हाइकमाण्डले साताअघि नै आतंकवादीहरुले दोश्रो हमलाको योजना बनाइरहेको खबर जानकारी गराएपछि मोदीले आक्रमणको रणनीति बनाउन निर्देशन दिएका थिए । सोमबार बिहान आतंकवादीले हमलाका लागि हातहतियार तयार पार्दै गरेको गुप्त सूचना दोहोरिएर कानमा पुगेपछि मोदीले सोही दिन सेनालाई आक्रमण लिन निर्देशन दिएको भारतीय सञ्चारमाध्यमले प्रमुखतका साथ जनाएका छन् ।
त्यसपछि मोदीले तत्काल सैन्य कारबाहीका लागि निर्देशन दिएको र प्रत्यक्ष निगरानी राख्दै आएको समाचारमा उल्लेख छ । गएराति पनि अपरेसन चलिरहँदा उनी प्रत्यक्ष सम्पर्कमै रहेको समाचार त्यहाँका मिडियाले लेखेका छन् ।
उता छिमेकी देश चीनले भने भारतीय सैन्य कारबाहीप्रति खेद प्रकट गरेको छ । चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले दुवै देशलाई संयमता अपनाउन आग्रह गरेकी छन् ।
निङको भनाईलाई उदृत गर्नै अन्तर्राष्ट्रिय सञ्चामाध्यमहरुले लेखेका छन्, ‘हामी त्यहाँ भइरहेका सबै गतिविभिलाई निकै चासोका साथ हेरिरहेका छौँ । आज बिहान भएको भारतीय सैन्य कारबाही खेदजनक छ । र, दुवै देशलाई संयमता अपनाएर समाधान खोज्न अपिल गर्छौं ।’
दुई छिमेकी भारत र पाकिस्तान युद्धमा उत्रिएपछि नेपालमा पनि चिन्ता व्यक्त भइरहेको छ । प्रनिधिसभाको आजको बैठकमा सांसदहरूले यसबाट नेपाललाई अल्पकालीन र दीर्घकालीन प्रभाव पार्ने भन्दै चिन्ता जनाएका हुन् ।
टिप्पणीहरू