दलालको उठिबास, छैन अमेरिका पुग्ने आश
नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्प आएदेखि अबैध बाटो भएर अमेरिका पुग्ने नेपालीसँगै पठाउने दलालहरूको पनि बिजोग भएको छ । ट्रम्पको पदभार हुनु आसपास यात्रा शुरु गरेका अधिकांश बाटोमै अलपत्र परेका छन् भने केही पुगेर जेल र डिपोर्टमा परिसकेका छन् । लाखौं रकम दलाललाई दिएर अबैध यात्रामा रहेकाहरू बाटोमै अलपत्र तथा फिर्ता हुन थालेपछि दलालहरू पनि धमाधम समातिन थालेका छन् ।
यसअघि ढिलोचाँडो जसरी पनि अमेरिका पुगिने आशाले दलालविरुद्ध मुद्दा दर्ता नगर्ने गरेको भए पनि ट्रम्पको शासनभर अमेरिका पुग्ने सम्भावना कमजोर बन्दै गएपछि मुद्दा दर्ताको काम पनि बढेको हो । पश्चिम नेपालबाट धेरैजसो मानिस अबैध बाटो हुँदै अमेरिका पुग्ने गरेका छन् । जसमा रुकुम पश्चिम, रुकुम पूर्व, रोल्पा, सल्यान र दाङ क्षेत्रका धेरै छन् । अमेरिका पठाइदिने भन्दै ३ जना व्यक्तिबाट ९२ लाखभन्दा बढी रकम असुल गर्ने रुकुम पश्चिम बाँफिकोटका आदर्श केसी साताअघि काठमाडाैँमा पक्राउ परेका छन् ।
त्यस्तै रुकुमकै इन्द्रकुमार रोकाय, काभ्रेका तारा गिरी र ललितपुरका विनिता पुरी समातिएका छन् । काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले पीडितले दिएको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूले अमेरिका, फ्रान्स र माल्टाजस्ता देशमा पठाइदिने भनेर ४ लाखदेखि ९२ लाखसम्म रकम उठाएका थिए । तर, अमेरिकामा हिजोआज अबैध रूपमा पठाउन सम्भव नभएपछि पीडितले दलालविरुद्ध मुद्दा हालेर पक्राउ गर्ने बढेका हुन् ।
यसअघि रुकुम पश्चिम आठबिसकोटका निराजन नेपालीलाई अमेरिका पठाइदिने भनेर विभिन्न व्यक्तिबाट लाखौं रकम असुल गरेको अभियोगमा इन्टरपोलमार्फत दिल्लीबाट पक्राउ गरेको थियो । त्यस्तै, रुकुम पूर्वका हस्त गौतमलाई पनि अवैध रूपमा अमेरिका लाने मुख्य दलालका रूपमा प्रहरीले पक्राउ गरेको थियो ।
टिप्पणीहरू