झल्याकझुलुकले देश चल्ने भए त किन चाहिन्थ्यो र कानुन ?
अहिले काठमाडौं महानगरको उपमेयर सुनिता डंगोलको एउटा डाइलग निकै भाइरल छ– ‘स्टन्टले देश चल्दैन ।’ उक्त भाषण कोप्रति लक्ष्यित भनेर उनले नाम नकिटे पनि त्यो बालेनतिर सोझिएको प्रष्टै छ । कुनै पनि क्रियाको प्रतिक्रिया हुन्छ भन्ने वैज्ञानिक सिद्धान्तमुताविक, प्रतिक्रिया उनीमाथि पनि खनियो– ‘तिमी पनि त स्टन्टबाटै जितेकी हौ नि !’
एकले अर्कोमाथि स्टन्ट गरेको आरोप लागिरहँदा देश नै स्टन्टबाट चलेको छ भन्दा दुईमत नहोला । यसैले त कोही नेता सडकमा मकै खान्छन् र हजार तिर्छन् । कसैले पानीमा रुझ्दै ढलेको ट्राफिक पोल ठडयाइदिन्छन् । सोझासिधा नेपाली जनता यतिसम्म सोच्न सक्दैनन् कि तीस सेकेण्डको त्यो गतिविधिमा, त्यहाँ क्यामेरा कहाँबाट आयो ? पत्रकार कसरी पुगे ? युट्युब कसले बजायो ? बुझ्नेले सजिलै बुझ्छन्, यी स्टन्ट हुन् । नबुझ्नेहरू लेख्छन्– नेता भनेको फलानोजस्तो हुनुपर्छ, तिलानोजस्तो हुनुपर्छ ।
केही महिनाअघि दरवार मार्गको फुटपाथमा निर्मित ग्रेनाइटयुक्त सडकपेटीको खुब प्रचार भयो । सञ्जालमा तस्वीरहरू हेरुञ्जेल र आफ्नै पाइलाले नटेकुञ्जेल आफूलाई पनि वाह भन्ने लाग्यो । जब आफ्नै पाइलाले फुटपाथ नापेँ, लाग्यो– त्यो ‘वाह’मा त्यस्तो वजन किन ? जब त्यसको परिमिति घरको आँगनभन्दा थोरै मात्र चौडा छ । मैले त्यो फुटपाथलाई यसकारण ‘वाह’ भन्न सकिन किनकि मलाई त्यो फुटपाथको परिमिति र काठमाडौं महानगरपालिकाको बजेटबारे पूरापुर जानकारी थियो । बालेनले अपेक्षित, पुरानाको तुलनामा राम्रै काम गरेका थिए तर त्यति प्रचार पनि आवश्यक थिएन, जति गरिँदैछ । थोरै प्रकाश चियाएको हो, बिहानी आएको छैन, थोरै सुगन्ध चलेको हो, वसन्त आएको होइन । निस्पट्ट अँध्यारोमा बसेकालाई मैनबत्ती पनि सूर्यजस्तो लागेको हो, वास्तवमा सूर्यको चहकले त पृथ्वी नै धपक्क बाल्छ नि !
सुन्दर काम गर्नेलाई स्टन्टको आवश्यकता नै पर्दैन । सुकर्मलाई क्यामेरा किन चाहियो ? अखवार किन चाहियो ? फूलको सुगन्धलाई हम्किनै पर्दैन, आफैँ फैलिन्छ । डा. सन्दुक रुइतले कहिल्यै क्यामेरा बोेकेर हिँडनुभएको छ ? तैपनि, हामी उहाँलाई ‘दृष्टिको देवता’ भन्न चुक्दैनौँ । बच्चुकैलाशको अनुहार कस्तो छ ? कालो छ कि गोरो ? हामीलाई थाहा छैन । तैपनि, हामी उहाँको गला र कलाको सम्मान गछौँ । युट्युबमा पटक पटक उहाँको गीत सुन्छौँ । त्यस्तै, टिभीमा एक पत्रकार हुनुहुन्छ, जसको अनुहार हामी दिनमा पाँच पटक हेर्छाँै, तीन पटक गाली गर्छौँ । राम्रो काम गर्ने मानिस प्रचारमा आउनै चाहँदैन किनकि उनको कर्म नै प्रचारित छ ।
फेसन क्षेत्रको, मैले चिनेको एक जना समाजसेवी हुनुहुन्छ, उहाँले दिनदुःखीका नाममा कैयन दान गर्नुभएको छ तर आफ्नो कामबारे एक शब्द पनि लेख्नुहुन्न, लेखाउनुहुन्न । ‘आफ्नो आत्माको प्रसन्नताका लागि गरेको दान किन अखबारको अक्षरमा लगेर कालो पोत्ने’ भनी तर्क गर्नुहुन्छ । उहाँ न कुनै अखबारमा आउनुभयो न कुनै युट्युबमा फुकिनुभयो, तैपनि सुन्दर कर्मको कारण, सबैको निम्ति पुजनीय हुनुहुन्छ । स्टन्टभन्दा टाढाको कर्म भनेका यस्तै हुन् । यसको ठीकविपरीत, केही नक्कली समाजसेवीहरू मेरो आदर्शविपरीत आफ्नोबारेमा लेखिदिन हजार दाउ गर्छन् । किनकि उनीहरूलाई स्टन्ट चाहिएको छ । स्टन्टको यही ज्वरोले गर्दा देश थलिएको हो, देश बिग्रेको हो । किनकि देशमा सबै पत्रकार, सबै दार्शनिक, सबै समाजसेवी, सबै कलाकार, सबै कवि र सबै नेता छन् । स्टन्ट गर्न सक्ने अगाडि छ, नसक्ने पछाडि । यसरी निर्माण भएको पंक्तिले देश उँभो लाग्दैन ।
अहिलेको समयमा भाइरल हुन केही गर्नुपरेन, एक थान स्याउ, एक थान क्यामेरा र एक जना पत्रकार बोकेर बृद्धाश्रम पुगे भयो । एक थान स्याउ युट्युबसम्म पुग्दा फलफूलको बगैंचा हुन्छ । यसरी स्टन्ट बेचेर कमाएको पपुलारिटीले देशलाई के दिन्छ ? स्टन्टका ब्यापारीबाट, भोलि सत्तामा पुगे पनि के अपेक्षा राख्न सकिन्छ र ? एक पटक झुक्याउन सकिएला, दश पटक सकिएला, सय पटक त सकिन्न । यथार्थ कुरा कुनै न कुनै दिन प्रकट भएरै छाड्छ ।
राजनीतिक दलहरू असफल भएको पक्कै हो । जनताको अपेक्षाअनुसार देशमा शासन सत्ता नचलेकै हो । त्यो असफलता नै उक्लिने भ¥याङ भयो र चढ्नका लागि खुट्किला बनाइयो स्टन्टलाई । पपुलर हुन र जनताको सहानुभूति बटुल्नका लागि क्यामेराको अगाडि कुनै भ्रष्टाचारी नेतालाई गाली गरे भयो । जनताको नजरबाट पतित भएका, नेतालाई गाली गरे भाइरल होइन्छ भनेर केहीले बुझेका छन्् र त्यही हतियार प्रयोग गरेका छन्् । यसरी स्टन्टको नशा लागेकाहरू भोलि चुनावमा पनि स्टन्टबाटै आउँछन् । त्यस्तालाई चिनेर जनताले नै परास्त गर्नुपर्छ । नयाँ होस् कि पुरानो, जो स्टन्टबिना पनि सुन्दर कर्म गर्छन्, असल काम गर्छन् र जो साँच्चिकै देशका लागि आवश्यक छन्, जसको मनमा साँच्चिकै देशको माया छ, त्यस्तालाई निर्वाचित गर्नु नै आमनागरिकको मिसन ८४ का निम्ति उद्देश्य हुनुपर्छ ।
टिप्पणीहरू