रोल्पा कारागारमा किचिएर मरिने डर
रोल्पाको कारागारमा क्षमताभन्दा करिव तेव्वर कैदी बन्दी रहेका छन् । ३५ पुरुष र १५ महिलासहित ५० कैदीबन्दी क्षमता भएको उक्त कारागारमा हाल १२३ पुरुष र १२ महिलासहित १३५ कैदी बन्दीलाई राखिएको छ ।
पञ्चायतकालीन जीर्ण कारागारमा क्षमताभन्दा करिब तेब्बर कैदीबन्दी रहँदा दैनिकीसमेत असहज हुने गरेको छ । कारागार शाखा २०२९ सालमा स्थापना भए पनि आफ्नै भवन नहुँदा लामो समय भाडाको घरमा सञ्चालित थियो । २०३९ सालमा १० रोपनी जग्गामा निर्मित भवन निर्माण व्यवसायीले २०४६ सालमा बल्ल सरकारलाई हस्तान्तरण गरेका थिए ।
स्थानीय तील मल्लको ७ रोपनी र यज्ञविक्रम मल्लको ३ रोपनीसहित १० रोपनी जग्गा खरिद गरी भवन निर्माण गरिएको हो । दुई वटा घेरामा रहेको रोल्पा कारागारको बाहिर प्रहरी ब्यारेक छ भने भित्र महिला र पुरुष थुनुवा तथा कैदी राख्ने छुट्टाछुट्टै कोठा छन् । शुरुमा ३५ जनाको क्षमतासहित निर्माण गरिएको कारागार भवन पछि ५० जना अट्ने गरी स्तरोन्नति गरिएको थियो । भवनमा जम्मा १० कोठा छन् । जसमा ८ कोठा पुरुष र २ कोठा महिला कैदीबन्दीका लागि छुट्याइएको जेलर यामलाल वलीले जानकारी दिए । एउटा कोठामा १५ देखि १९ जनासम्म कैदी बन्दी बस्नुपर्ने बाध्यता छ । भवन अभावले कारागारको प्रशासनिक काम भने भाडाको घरबाट हुन्छ । कारागार नजिकै वार्षिक १ लाख २० हजार भाडा तिर्ने गरी कार्यालय सञ्चाालन गरिरहेको वलीले बताए ।
लुम्बिनी प्रदेशका तत्कालीन मुख्यमन्त्री कुलप्रसाद केसीको पहलमा ०७६ सालमा कारागार भवन मर्मतका लागि १० लाख रूपैयाँ उपलब्ध भएको र सोही बजेटबाट मर्मतको काम गरेर काम चलाउँदै आइएको थियो । पानी चुहिने छाना र सेन्ट्री पोष्ट मर्मत गर्नुका साथै कैदीबन्दीका लागि २ कमन र प्रत्येक कोठामा अट्याच ट्वाइलेटको व्यवस्था गरेको उनले बताए । ‘कारागार सुरक्षाका लागि पर्खाल मर्मत तथा काँढेतारको समेत व्यवस्था गरेका छौं’, उनले भने ।
फिल्टरसहितको स्वच्छ पिउने पानी, चारैतिर सोलार बत्तीका साथै आवश्यकताअनुसार इन्भर्टरको व्यवस्था हुनुपर्ने कैदीबन्दीको भनाइ छ । घरेलु सीपमूलक तालिमका साथै पुस्तकालयसमेत सञ्चालन हुनुपर्ने उनीहरूको माग छ । महिलाले सिलाइकटाइ तालिम लिन चाहेपनि कुनै व्यवस्था छैन– ८७ वर्षीय कैदी गंगे खड्काले भने । ज्येष्ठ व्यक्ति दीर्घरोगीसमेत भएकाले समय–समयमा उपचारको व्यवस्था हुनुपर्ने खड्काको भनाइ छ ।
३५ वर्ष पुरानो भवन जीर्ण भएकाले नयाँ भवन निर्माण गर्ने भन्दै रोल्पा नगरपालिका वडा नं. २ रेउघानजिक जग्गासमेत व्यवस्थापन गरिसकिएको छ । स्थानीय रामबहादुर नेपाली, प्रमिला बुढामगर, पञ्चबहादुर घर्तीमगर, दिलसरा वली, शान्तबहादुर घर्तीमगर, चन्द्रमाला वलीलगायतले कारागार भवन निर्माणका लागि १८ रोपनी जग्गा निःशुल्क रजिष्ट्रेशन गरिदिएको र सोही आसपास रहेको करिब ४ रोपनी नूनथलोसमेत साढे २२ रोपनी जग्गा उपलव्ध गराएको बताइएको छ । कारागार भवन निर्माण गर्ने भन्दै केही वर्षअघि लुम्बिनी प्रदेश सरकारले २५ लाख रूपैयाँ विनियोजन गरेको थियो । उक्त बजेटले घडेरी सम्याउने काम मात्रै भएको छ ।
- दयाराम डाँगी
टिप्पणीहरू