टीआरसीको सर्ट लिस्टमा परेका व्यक्तिबारे प्रतिक्रिया माग

टीआरसीको सर्ट लिस्टमा परेका व्यक्तिबारे प्रतिक्रिया माग

संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगको पदाधिकारीका लागि संक्षिप्त सूची (सर्ट लिस्ट) मा परेका उम्मेदवारबारे प्रतिक्रिया जनाउन आह्वान गरिएको छ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष र सदस्यको लागि सर्ट लिस्टमा परेका करिब तीन दर्जनउपर प्रतिक्रिया मागिएको हो । 

दुवै आयोगको पदाधिकारी नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिको सचिवालयले आज ३४ जनाको नाम सार्वजनिक गरेको छ । पूर्व मुख्यसचिव लीलादेवी गड्तौलादेखि पूर्व न्यायाधीशसम्म सर्ट लिस्टमा परेका छन् । 

दुई आयोगको पदाधिकारीका लागि सयभन्दा बढी आवेदन परेको थियो । जसमध्ये सत्य निरुपण आयोगको अध्यक्ष र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग सदस्यमा आवेदन दिई सर्ट लिस्टमा पर्नेमा अग्नीप्रसाद थपलिया, अच्युतप्रसाद भण्डारी, डिल्लीराज आचार्य, विजयसिंह सिंजापति, विश्वराज कोइराला छन् । 

सत्य निरुपण आयोगको अध्यक्षका लागि आवेदन दिएका महेश थापा, लीलादेवी गडतौला, शेरबहादुर केसीको नाम सर्ट लिस्टमा परेको छ । दुवै आयोगको सदस्यमा दरखास्त दिएर सर्ट लिस्टमा पर्नेमा कविता पाँडे, कुमारी कौशल्या ओझा, कुलप्रसाद शर्मा, गोपालनाथ योगी, गोपालप्रसाद लम्साल, नरेन्द्रकुमार केसी, नागेन्द्रलाल कर्ण, ब्रहमदेव राय यादव, डा.श्री मानबहादुर विश्वकर्मा, रामकुमार आचार्य, रामकान्त तिवारी, रेश्मा थापा, विनिता नेपाली, श्रृजना पोखरेल, सुबोधराज प्याकुरेल र प्रा.डा.हेमराज सुवेदी छन् । 

कृष्णप्रसाद पौडेल, कृष्णप्रसाद सुवेदी, टीकाप्रसाद ढकाल, नवलकिशोर यादव, राजुप्रसाद चापागाई, विनोद मोहन आचार्य, वीरेन्द्रप्रसाद थपलिया, शोभाकर बुढाथोकी सत्य निरुपण आयोगको सदस्यका लागि ३४ भित्र परेका छन् । सन्तोषबाबु सिग्देल बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सर्ट लिस्टमा छन् ।

यी नामउपर वैशाख २० गतेसम्मको समय दिएर प्रतिक्रिया मागेको सचिवालयले प्रस्तुतीकरण वैशाख २४ देखि २६ गतेसम्म हुने जनाएको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा प्रस्तुतीकरण हुने छ ।

टिप्पणीहरू