कसलाई लल्कारेको हो यसरी कमरेड !
एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले अबको दश–पन्ध्र वर्षसम्म एमालेभित्र आफ्नो विकल्प नखोज्न र खोजिहाले पनि त्यो सम्भव नरहेको कुरा ठट्यौली शैली अपनाएर मञ्चबाटै बताइदिए । मदन भण्डारीले राजालाई टुँडिखेलबाट लल्कारे जसरी यिनले आफ्नै दलको मञ्चबाट एमालेजनलाई लल्कारे । ती तमाम वरिष्ठतम् कमरेडहरू जो भविष्यमा अध्यक्ष बनेर पार्टीको नेतृत्व गर्ने सपना बोकिरहेका छन्, तिनको मन–मस्तिष्कमा कस्तो प्रतिक्रिया उत्पन्न भयो होला ? अनुमान लगाउन गाह्रो परिरहेको छ । तैपनि, के कुरा पक्का हो भने उहाँहरूमाथि अचानक र नचिताएको बज्रपात भएको हुनुपर्छ ।
त्यो अभिव्यक्तिको एक मात्र आशय घर्कंदो उमेर नभएर निर्विकल्प छु भन्ने सन्देश प्रवाह गर्नु हो । यो अभिव्यक्तिमार्फत एकैपटक दुई वटा सन्देश दिन खोजिँदैछ । पहिलो हो, पूर्वराष्ट्रपतिको सक्रिय राजनीतिमा फर्किने चाहनाप्रति अस्वीकारोक्ति र दोस्रो भनेको माके, एकीकृत समाजवादीसँगको एकता प्रचण्ड वा माधव नेपालहरूले चाहना राख्दैमा नहुने संकेत । अर्थात् आफ्नो नेतृत्व र स्वीकृतिमा बाहेक अरु अवस्थामा यी दुईवटै कुरा घटित हुनु असम्भव छ । अर्थात् सन्देश प्रष्ट छ– म र म मात्रै हो, ‘आई एम दि स्टेट ।’
ओलीलाई यस्तो अभिव्यक्ति दिन केले उक्साइरहेको होला भनेर पनि थाहा पाउनु जरुरी छ । छिमेकी मुलुक भारतमा आमचुनाव भएर मोदी तेस्रोपटक प्रधानमन्त्री बनेको धेरै समय भएको छैन । त्यहाँ अर्को चुनाव सन् २०२९ मा हुने हो तर भाजपाले अहिलेदेखि नै त्यसपछिको प्रधानमन्त्री पनि मोदी नै हुन् भन्ने घोषणा गरेर उनको विकल्प नरहेको सन्देश दिइरहेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले समेत अर्को पटक फेरि चुनाव लड्ने बताएर रिपब्लिकन पार्टीभित्र आफ्नो विकल्प नरहेको सन्देश प्रवाह गरिरहेका छन् । रुसी राष्ट्रपति पुटिनको कुरा त झन् बेग्लै भयो । ओलीलाई उनीहरूको कदमले हौस्याइरहेको छ । ओलीको पृष्ठभूमि वामपन्थी रहे पनि आजको दिनमा उनको विचार मोदी, ट्रम्प र पुटिनसित मिल्दोजुल्दो देखिन्छ । यिनीहरूको आजको दिनको विचारधाराको श्रोत, आधार एउटै र उस्तै हो ।
ओलीले आफू एमालेभित्र मात्रै होइन, देशकै राजनीतिमा निर्विकल्प रहेको सन्देश पनि दिन चाहिरहेको देखिन्छ । ‘मै एमाले हुँ र एमाले नै म हुँ’ भन्ने भाष्य स्थापित नै भएको छ । यो ‘आई एम द स्टेट’ भनेको हो । उनका अन्धभक्तले उनलाई यत्तिकै ‘केपी बा’ भनेर संबोधन गरिरहेका छैनन् । उनले यस्तो भाष्य निर्माण गर्नुको पछाडि विभिन्न कारण छन् । जस्तो : ओलीको सत्तारोहण प्राकृतिक तरिकाबाट भएको होइन । विभिन्न राजनीतिक दाउपेचलाई प्रयोग गरेर प्रधानमन्त्री बन्न सफल भएको कुरामा सबै सहमत छन् । उनी बडो सचेतनापूर्वक यसलाई आफ्नो सफलताको रुपमा स्थापित गर्न प्रयासरत छन् । नेकपाको विभाजन र दुई–दुई पटक संसद विघटन ओलीको राजनीतिक जीवनकै सबैभन्दा ठूलो असफलता हो, जसलाई हटाउन उनले आजको आफ्नो हैसियतलाई प्रयोग गरिरहेका छन् । र, भविष्यमा आउन सक्ने चुनौतीलाई पनि यसैबाट निस्तेज पार्ने रणनीति रहेकोमा दुईमत छैन ।
ओलीले आफू मात्रै देशको एक मात्र कट्टर राष्ट्रवादी नेता ठान्छन् (देशभक्त नेता भनेको त सुनिएको छैन) । भारतीय नाकाबन्दी र ऊसँग सीमा विवादको समयमा एमाले सरकारले भारतीय स्वार्थप्रति नझुक्ने विदेश नीति लियो । त्यो नीतिको नेपाली जनताले सक्रियतापूर्वक साथ दिएर समर्थन गरे । तर, सिंगो पार्टीको नीतिलाई आफ्नो नीति भनेर प्रचार गराए । भारतसँग नझुक्ने नीतिले एकाएक राष्ट्रवादी नेताको छवि निर्माण हुन गयो । तर, त्यो छवि अहिले कायम छैन । उनले खेलेका अनेक खाले भूमिकाले उनको त्यो छविमाथि प्रश्नचिह्न खडा गरिदिएको छ । उनी आफ्नो छविमाथि उठिरहेको प्रश्नलाई मेटाएर पुनः राष्ट्रवादी नेताको पहिचान हासिल गर्ने कोसिसमा छन् । यसको निम्ति राजा तथा पुरातनवादीहरूको समेत समर्थन लिन चाहन्छन् । कमल थापा, राजेन्द्र लिङदेन, धवलसमशेर आदिसँगको हिमचिम यसैको सबुत हो ।
ओलीको लोकप्रियतामा लगातार ह्रास आइरहेको पाइन्छ । सार्वजनिक सभामा पहिलेजसरी आई लभ यु केपी बा भन्नेजस्ता चाकडीबाज नारा लाग्न कम भइरहेको छ । कुनै पनि सार्वजनिक कार्यक्रममा सजिलोसँग उपस्थित हुन सुरक्षाको दृष्टिले चुनौतीपूर्ण बन्दै गएको छ । जताततै विरोधका स्वर सुनिन थालेका छन् । आई लभ यु केपी बाको ठाउँमा अर्कै नारा लाग्न थालेका छन् । देशमा बढिरहेको अचाक्ली महँगी र भ्रष्टाचारले उनको छविलाई खस्काउने काम गरिरहेको छ । यीसबै कुराले उनमा छट्पटी र चिन्तालाई बढाउने काम गरिरहेको छ ।
अध्यक्ष ओलीले आफूलाई एक मात्र कट्टर राष्ट्रवादी नेता, एक मात्र असल र सक्षम राजनीतिज्ञ ठान्नु सामान्य ठट्टा, उनकै शब्दमा मजाक, होइन । त्यसभित्र अनेक कारण छन् । उनले समय–समयमा अभिव्यक्त गरिरहने विचार, देशका राजनीतिक, शैक्षिक तथा संवैधानिक अंगमा नियुक्त गरेका मानिस तथा देशको सम्पत्ति दोहनमा राज्यका निकायलाई परिचालन गरिरहेको अवस्थालाई हेर्दा उनमा परम्परागत राष्ट्रवाद नभएर ‘दिग्भ्रमित राष्ट्रवाद’को सोच विकास भइरहेको लख काट्न सकिन्छ । जसरी पनि सत्तामा रहिरहने सोचको विकास जुन तरिकाले भइरहेको छ, त्यो यस्तै दिग्भ्रमित राष्ट्रवादी चिन्तनको नतिजा हो । अरु दश–पन्ध्र वर्षसम्म मतिर नहेर्नू भनेर आफ्नै शैलीमा ‘मै स्टेट हुँ’ भन्ने सन्देश दिनु ‘दिग्भ्रमित राष्ट्रवादी’ सोचको उपज हो ।
दिग्भ्रमित राष्ट्रवादी सोचको विकास विभिन्न कारणले हुने गर्छ । राजनीतिक असफलताको कारणले आफूभित्र उत्पन्न रिस र असन्तुष्टिले यस्तो सोचलाई जन्म दिन्छ । ओलीमाथि असफलताको ठूलो भारी छ । देशमा बढ्दो बेरोजगारी, गरिबी, भ्रष्टाचार र गहिरिँदो असमानताले जनतामा असुरक्षाको भावना बढाइरहेको छ, उनको सरकारमाथि लगातार अविश्वास र चुनौती थपिरहेको छ । यसले उनको राज्य सत्ता र पार्टीको नेतृत्वमा चुनौती बढाइरहेको छ । यसले ओलीमा ठूलो बेचैनी उत्पन्न भइरहेको अनुमान गर्न कठिन छैन । आफ्नो नेतृत्वमाथि अव्यक्त र सुषुप्त तर ब्यापक बन्दै गइरहेका यावत् चुनौतीबाट जोगिन ओलीले यसखालको चिन्तनलाई प्रयोगमा ल्याउने कोसिस गरिरहेका छन् । आफ्नो विकल्प नरहेको भनेर एक किसिमले समाजलाई एमालेभित्र ‘म’, बाहिर ‘हामी’ र अरुलाई ‘तिमीहरू’ भनी कित्ताकाट गरेर राजनीतिक ध्रुवीकरण गराउने कोसिस पनि हो यो अभिव्यक्ति । यसले हार्डकोर समर्थकलाई थप उत्तेजित बनाउन र पार्टीसत्ता कब्जा गर्न असहयोग गर्ने पक्षमाथि जाइलाग्न लाग्न उत्प्रेरित गर्छ ।
यस्तो दिग्भ्रमित राष्ट्रवादले तत्कालीन अवस्थामा उनलाई राजनीतिक नाफा त दिलाउला तर अन्ततोगत्वा त्यसले दिने भनेको आपसी टकराव, फुट र विभाजन नै हो । यो यथार्थलाई एमालेजनले बुझ्न जति ढिलो गर्छन् एमालेको उँधोयात्रामा बिराम लाग्न उत्ति नै ढिलो हुनेछ । र, हामीजस्ता लाखौं मान्छे एउटा सशक्त वामपन्थी दल आफ्नै आँखा अगाडि पतन भएको देख्न अभिशप्त हुनेछौँ ।
टिप्पणीहरू