पर्यटनमन्त्रीमाथि गम्भीर आरोप, काँग्रेस सांसदद्वारा पार्टीमा उजुरी

पर्यटनमन्त्रीमाथि गम्भीर आरोप, काँग्रेस सांसदद्वारा पार्टीमा उजुरी
सुन्नुहोस्

नेपाली काँग्रेसका सांसद राजेन्द्र बजगाईंले आफ्नै पार्टीका नेतासमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेलाई कारबाहीको माग गर्दै पार्टी मुख्यालय, सानेपामा उजुरी दिएका छन् । 

मन्त्री पाण्डेले बहुदलीय लोकतान्त्रिक विचारको विरोध तथा चीनको एकदलीय शासन प्रणालीको समर्थनमा अभिव्यक्ति दिएको भन्दै उनले पार्टीको केन्द्रीय अनुशासन समिति गुहारेका हुन् । अस्ति दर्ता गरिएको उजुरी पत्रमा बजगाईंले पाण्डेमाथि तीन वटा आरोप लगाएका छन् । 

उजुरीमा मन्त्री पाण्डेले चिनियाँ नीतिको समर्थन गरेर संविधान र पार्टीको सिद्धान्त उल्लंघन गरेको दाबी छ । ‘मन्त्री पाण्डेले हालै पशुपतिनाथ मन्दिरको प्रांगणमा दिरुत्साहन अभिव्यक्ति र एक सार्वजनिक कार्यक्रममा एकदलीय चिनियाँ शासन प्रणालीका राष्ट्रपति सी जिनफिङको नैतिकतालाई नेपालको बहुदलीय लोकतान्त्रिक प्रणालीका नेताहरु र जनतासमक्ष लैजानुपर्ने धारण व्यक्त गरेका छन्’, उजुरीमा भनिएको छ, ‘नेपाली कांग्रेस, जसले प्रजातन्त्र, लोकतन्त्र र बहुदलीय गणतन्त्रको रक्षा गर्दै आएको छ, त्यसको जिम्मेवार मन्त्रीबाट यस्तो अभिव्यक्ति आउनु पार्टीको सिद्धान्तविपरित मात्र नभई संविधान र राष्ट्रिय हितविपरित छ ।’

पार्टीको विधान मिचेर पाण्डेले मनपरी गरेको आरोपसमेत लगाइएको छ । ‘पार्टीको जिम्मेवार नेता एवम् मन्त्रीबाट साम्यवादी एकदलीय प्रणालीको गुनगान गाउनु पार्टी विधानको गम्भीर उल्लंघन हो’, पत्रमा थप भनिएको छ । 

त्यस्तै, राष्ट्र तथा लोकतन्त्रप्रति गैरजिम्मेवार अभिव्यक्ति दिएको बजगाईंको अर्को आरोप छ । उनले उजुरीमा खुलाएका छन्, ‘मन्त्री पाण्डेको अभिव्यक्ति प्रजातन्त्रप्रति अपमानजनक मात्र नभई नेपालको लोकतान्त्रिक प्रणालीलाई चीनको एकदलीय शासन मोडलतर्फ धकेल्ने दुष्प्रयास समेत हो ।’

कांग्रेस सहमहामन्त्री समेत रहेका पाण्डेमाथि यथाशीघ्र अनुशासनात्मक छानबिन गरी आवश्यक कारबाहीको माग गरिएको छ । 

एउटै पार्टीमा भएर पनि मन्त्री पाण्डे र सांसद बजगाईंबीच लामो समयदेखि आन्तरिक द्वन्द्व चलिरहेको छ । गत कात्तिक अन्तिम साता पनि बजगाईंले क्यासिनो सञ्चालनको अनुमति दिँदा मन्त्रीले घुस खाएको आरोप लगाएका थिए । 

बुटवलको रोयल टाइगर क्रियसन क्यासिनो सञ्चालनको इजाजत दिँदा पाण्डेले करोडौँ रकम घुस लिएको उनको दाबी थियो । त्यसको खण्डन गर्दै पाण्डेले सांसद बजगाईंविरुद्ध पार्टीको अनुशासन समितिमा उजुरी दिएका थिए । 

त्यतिबेला अनुशासन समितिका संयोजक दिलेन्द्रप्रसाद बडुले पार्टीभित्रको आन्तरिक कुरा बाहिर नल्याउन निर्देशन दिँदै विवाद थामथुम पार्न खोजेका थिए ।

टिप्पणीहरू