काठमाडौंका वडा सचिवलाई युजर नेम र पासवर्ड प्रदान
काठमाडौंमा अब नागरिकता सिफारिस अनलाइनमार्फत हुने भएको छ । महानगरपालिकाले ३२ वटै वडामा आउँदो चैत १ गतेदेखि त्यस्तो सेवा शुरु गर्न लागेको हो ।
यसका लागि गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयको सहयोगमा आज सूचना प्रविधि विभागले वडा सचिवहरुलाई युजर नेम र पासवर्ड प्रदान गरेको छ । त्यसअघि विभागले वडा सचिवहरुलाई केन्द्रीय नागरिकता व्यवस्थापन प्रणाली (सिसिआइएमएस) सञ्चालनको अभिमुखीकरण तालिम दिएको थियो ।
महानगरको सेवालाई सूचना प्रविधिमा आधारित स्वचालित बनाउन सुशासन समिति र सूचना प्रविधि समितिबाट अन्तरसम्बन्धित प्रणाली सञ्चालन गर्ने निर्णय भएको बताइएको छ । अनलाइन नागरिकता सिफारिससँग सम्बन्धित प्रणाली महानगरको प्रशासन र सूचना प्रविधि विभागसँग अन्तरसम्बन्धित छ । महानगरका अनुसार विवरण प्रविष्ट गराउने, कागजपत्र प्रमाणित गरेर स्क्यान कपी राख्ने र विवरण पठाउने प्रणालीका मुख्य काम हुन् ।
काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी मुक्ति रिजाल अनलाइन प्रणाली सञ्चालन भएपछि नागरिकतासँग सम्बन्धित सेवा सरल, सहज हुने र यससँग सम्बन्धित अभिलेखलाई व्यवस्थित गराउन सकिने बताउँछन् । गृह मन्त्रालयले कार्यान्वयमा ल्याएको यो प्रणाली २० जिल्लाका करिब साढे दुई हजार वडाले सञ्चालनमा ल्याइसकेका छन् ।
उनका अनुसार यो प्रणालीका दुई वटा मोड्युल छन् । एउटा इन्टरनल र अर्को एक्टरनल मोड्युल । इन्टरनल मोड्युल (आन्तरिक प्रणाली) इन्ट्रानेटबाट जोडिएका कम्प्युटर र एक्टरनल मोड्युल (सार्वजनिक) इन्टरनेट भएका कम्प्युटरबाट चलाउन सकिन्छ । तथ्याङ्क सुरक्षाका लागि यसो गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रिजालको भनाइ छ ।
सूचना प्रविधि विभागका प्रमुख अनिरुद्र नेपालका अनुसार महानगरका वडामा जडान गरिएका कम्प्युटरबाट यो प्रणाली चलाउन सकिन्छ । विभागले सबै वडालाई युजर नेम र पासवर्ड दिएको बताउँदै उनले भने, ‘वडालाई पर्ने प्राविधिक समस्या समाधानका लागि विभागले सहजीकरण गर्नेछ ।’
टिप्पणीहरू