माओवादीले मन्त्री खोजेपछि बैठक रोक्ने निर्णय

माओवादीले मन्त्री खोजेपछि बैठक रोक्ने निर्णय

संसदमा सरकारको प्रतिनिधित्व अनिवार्य भए पनि सरकारका मन्त्री कोही उपस्थित नभएपछि आजको प्रतिनिधि सभा बैठक स्थगित भएको छ ।

सभामुख देवराज घिमिरेले मन्त्री उपस्थित नभएकाले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् । त्यसअघि बैठकको प्रारम्भमै प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले मन्त्री उपस्थित नभएको ध्यानाकर्षण गराएका थिए । 

प्रतिनिधि सभा बैठकमा मन्त्रीको उपस्थिति नभएको भन्दै उनले बैठक अगाडि नबढाउन आग्रह गरे । ‘सरकार सदनलाई हेपिरहेको छ । सरकार हामी जनप्रतिनिधिलाई एउटा कुरामा होइन हरेक कुरामा हेपिरहेको छ । हाम्रा अभ्यासहरु सरकार मानिरहेको छैन', उनले भने, 'अहिलेसम्म सदन सुरु हुँदासमेत मन्त्री कोही पनि छैनन् । हामी समितिहरुमा, उपसमितिहरुमा प्रतिपक्षी दल उपस्थित हुन्छ । तर सरकार उपस्थित हुँदैन । नियमावलीअनुसार या बैठक चल्दैन । बन्द गरियोस् ।’

सरकारले हरेक कुरामा प्रतिपक्षीलाई हेपिरहेको भन्दै माओवादी सांसद चर्किएपछि सभामुख घिमिरेले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६ को उपनियम ५ बमोजिम बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्ने भएकाले बैठक १५ मिनेटपछि बस्नेगरी सथगित भएको घोषणा गरे ।

टिप्पणीहरू