गणतन्त्रको पक्षमा समाजवादी मोर्चाले काठमाडौँमा प्रदर्शन गर्ने

गणतन्त्रको पक्षमा समाजवादी मोर्चाले काठमाडौँमा प्रदर्शन गर्ने

चार राजनीतिक दल सम्मिलित समाजवादी मोर्चाले आगामी चैत १५ गते काठमाडौँमा आमसभा गर्ने भएको छ । 

आज बसेको मोर्चाको बैठकले पछिल्लो समय प्रतिक्रियावादीहरु सल्बलाउन थालेको निष्कर्ष निकाल्दै खबरदारीका लागि जनप्रदर्शनसहित बृहत सभा गर्ने निर्णय गरेको हो । बैठकमा एक सातायता सिर्जना भएका घटनाक्रमको बारेमा गम्भीर छलफल भएको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले जानकारी दिए ।

‘२४ गतेयता आठौँ आश्चार्यको घटना घटित गराउने जसरी जुन कुचेष्ठा गरिदैँछ, त्यसको बारेमा छलफल भयो’, बैठकपछि उनले भने, ‘जनताको ठूलो त्याग र बलिदानबाट प्राप्त भएको गणतन्त्रविरुद्ध जुन षड्यन्त्र रचिदैँछ, त्यो जनतालाई स्वीकार छैन । हामी कम्युनिष्टहरुलाई झन् सह्य हुने कुरै भएन ।’

प्रकाण्डले चैत १ गते बिहान विभिन्न राजनीतिक दल, नागरिक समाज, बुद्धिजिवीलगायतसँग परामर्श गर्ने कार्यक्रम तय भएको पनि जानकारी दिए । उनका अनुसार मोर्चाले सोही दिन दिउँसो तीन बजे पत्रकार सम्मेलन गरेर देशलाई प्रतिगमनबाट बचाउन जनतासमक्ष अपील गर्नेछ । 

पूर्वराजाको सक्रियताले गणतन्त्रवादीहरु सशंकित बनेका हुन् ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले  ‘नआत्तिएको तर गम्भीर बनेको’ बताए । अघि भने, ‘देश र जनतालाई फेरि भड्कारोमा हाल्नेगरी प्रतिगामी शक्तिहरु जसरी अनुहार देखाउन थालेका छन्, त्यसले कम्युनिष्टलाई गम्भीर बनाउनु स्वभाविक हो । आत्तिएको चाहिँ हैन, किनकि गणतन्त्रको जग त्यति कमजोर पनि छैन । तर गणतन्त्रको एजेण्डा बोक्ने दलहरु नै यसका पहरेदार हुन् ।’

मोर्चामा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टी सम्मिलित छन् ।

टिप्पणीहरू