हराएका सवारी साधन बग्रेल्ती, भेटिए अलिकति
काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हराएका करिब दुई दर्जन सवारीसाधन सम्बन्धित व्यक्तिलाई बुझाइएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न मितिमा हराएका र चोरिएका २० वटा सवारीसाधन फेला पारेर सम्बन्धितलाई हस्तान्तरण गरेको जनाएको छ ।
कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विनोद घिमिरेले छ वटा मोटरसाइकल र १४ वटा स्कुटर सम्बन्धित सवारीधनीलाई बुझाएका हुन् । कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेट र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा भेटिएको हो ।
उपत्यकाका विभिन्न स्थानबाट हराएका ती सवारीसाधन युएनपार्क, एयरपोर्ट, नयाँ बसपार्क, गुहेश्वरी, गौशाला, सुन्दरीजल, कालीमाटी, ठमेल, मालीगाउँ, चुनदेवी, जगाती, दिवज्योती, बौद्ध, गोकर्णेश्वर, नरेफाँट र नेपालटारलगायत स्थानमा फेला परेको ट्राफिकको भनाई छ ।
गत साउनयता हराएकामध्ये तीन सय ३७ वटा सवारीसाधन सम्बन्धित धनीलाई बुझाइएको छ । त्यस्तै, ३६ वटा सवारीसाधन चोरीमा संलग्न ५३ जनालाई पक्राउ गरेर आवश्यक कारबाहीका निम्ति विभिन्न प्रहरी परिसर र वृत्तमा पठाइएको छ ।
सवारीसाधन हराउनबाट रोक्न आफ्नो सवारी सुरक्षित स्थानमा पार्किङ गर्न, ह्वील, चेन, ह्याण्डिल, डिस्कलक लगाउन तथा सुरक्षा साइरन जडान गर्न, मानिसको आवतजावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।
सवारीसाधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा कल गर्न वा नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सुझाइएको छ ।
टिप्पणीहरू