गगन थापाले पीडा पोख्दा एमाले सांसद भुईंमा थचक्कै

गगन थापाले पीडा पोख्दा एमाले सांसद भुईंमा थचक्कै
सुन्नुहोस्

विपक्षीको प्रतिवाद गर्दा कहिलेकाहीँ यस्तो अवस्था आइदिन्छ कि नचाहँदा–नचाहँदै आफ्नो पीडा पोख्नुपर्ने हुन्छ । सत्तारुढ दल नेपाली काँग्रेसका महामन्त्री तथा सांसद गगन थापालाई प्रतिनिधिसभाको आजको बैठकमा ठ्याक्कै त्यही अवस्था देखियो ।

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार र पूर्वराजाका पछिल्ला गतिविधिबारे धारणा राख्दै ‘सरकारको शासकीय शैली र त्यसले नागरिकमा उत्पन्न आक्रोश व्यवस्थाविरुद्ध पोखिन थालेको तथा सोही मौकामा प्रतिगामी शक्तिहरू चलखेलमा लागेको’ बताउनुभएको थियो । लगत्तै बोलेका थापाले गणतन्त्रप्रतिको बलियो प्रतिबद्धताको लागि प्रचण्डलाई धन्यवाद दिए । तर सरकारकै कारण राजावादीहरु सक्रिय भएको भन्ने प्रचण्डको तर्कमा असहमति जनाउँदै गर्दा उनले आफ्नै वह पोखेको माओवादीहरुको बुझाइ छ ।

‘नेपालको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिपक्षी दलले राखेको प्रतिबद्धताप्रति कांग्रेस सराहना गर्छ’, उनले भने, ‘रह्यो सत्तासीन नेताका कुरा, नेता बदल्ने कुरा त हामीले पनि भनेका छौँ, प्रयास गरिरहेकै हौँ त ! मेरो बलबुताले भ्याउने भए त म अहिले दलको नेता भएर बस्थेँ, त्यसै हात उठाएर बसेको हो र ? ’

नेपाली काँग्रेसको १४औँ महाधिवेशनबाटै पार्टी सभापति बन्ने चाहना राखेका र आगामी महाधिवेशनमा समेत सोही प्रयासमा रहेका थापाको उक्त अभिव्यक्ति सुनेपछि छेवैमा बसेका एमाले संसदीय दलका सचेतक महेश बर्तौता मुसुमुसु हाँस्दै थिए । महामन्त्री थापाले प्रचण्डको खण्डन गर्दा आफ्नै पार्टी सभापति शेरबहादुर देउवाको कटाक्ष गरेपछि एकछिन संसदको माहोल नै रमाइलो बनेको थियो । यद्यपि, संविधान संशोधनको प्रसंग औँल्याउँदै विषयान्तर गर्न उनी सफल भए । 

संविधान संशोधन गरेर अहिलेको व्यवस्थामा देखिएका कमजोरी सुधार्न सकिने उनको भनाई छ । ‘हामीसँगै बसेर कुराकानी गर्न सक्छौं, माओवादी, मधेशवादी र नयाँ दलहरूसँग छलफल गरेरै संविधान संशोधन गर्न सक्छौँ’, उनले थपे । 

रोचक के भने, महामन्त्री थापा बोलिरहँदा एमाले सांसद उर्मिला थेबे बसेको कुर्सी भाँचियो । कुर्सी भाँचिएपछि सांसद थेवे भुइँमा लडेपनि कुनै चोटपटक नलागेको संसद सचिवालयले जनाएको छ ।

टिप्पणीहरू