पूर्व राजाको विषयले संसद बैठक तातेकोमा एकथरी दङ्ग

पूर्व राजाको विषयले संसद बैठक तातेकोमा एकथरी दङ्ग
सुन्नुहोस्

गणतन्त्रवादी दलका नेताहरुले राजावादीहरुलाई राजतन्त्र पुनःस्थापनाको भ्रम नपाल्न चेतावनी दिइरहँदा राष्ट्रिय प्रजातन्त्र पार्टीले भने पूर्वराजाको स्वागतमा ‘ट्रेलर’ मात्र देखिएको उल्लेख गरेको छ । पूरा फिल्म देखिन बाँकी नै रहेको बताएको छ । पार्टी उपाध्यक्ष तथा सांसद ध्रुवबहादुर प्रधानले प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै राजतन्त्र पुनःस्थापनाको अपरिहार्यता महशुस गर्न नेताहरुलाई आग्रह गरेका हुन् । 

पूर्व प्रहरी प्रमुखसमेत रहेका प्रधानले पूर्वराजाको विषयले सदन तातेकोमा खुशी व्यक्त गरे । ‘आज सदन राजाको नामले तरंगित छ, हामी खुशी छौँ’, उनले भने, ‘राजालाई एयरपोर्टबाट निर्मल निवाससम्म पुर्याउँदा देखिएको दृश्य ट्रेलर मात्र हो, फिल्म बाँकी नै छ, वास्तविक आन्दोलन प्रारम्भ भएकै छैन ।’

गणतन्त्रवादी नेताहरु राजसंस्थासहितको लोकतन्त्रलाई स्वीकार गर्न तयार हुनुपर्ने उनको तर्क छ । आफू संविधान टेकेरै संसदमा प्रवेश गरेको बताउँदै प्रधानले थपे, ‘म जनताबाट निर्वाचित भएरै आएको हुँ, संविधान राम्ररी पढेको छु, तर यो व्यवस्थाले मात्रै अब देशलाई बचाउन सक्दैन ।’

राप्रपाले बोक्दै आएको राजसंस्थाको एजेण्डालाई पछिल्लो समय आमनागरिकले पनि आत्मसात गर्न थालेको उनको महशुस छ ।

टिप्पणीहरू