बार चुनावको संघारमा डिएलएमा ठूलै विद्रोह
नेपाल बारको निर्वाचन नजिकिँदै गर्दा नेपाली काँग्रेस निकट डेमोक्रेटिक लयर्स एशोएिसन (डिएलए) मा विद्रोह भएको छ । बारको उम्मेदवारी चयनमा बालुवाटार र बूढानीलकण्ठको हस्तक्षेपपछि विद्रोह भएको डिलए निकट कानुन व्यवसायीहरुले बताएका छन् ।
आगामी चैत २३ गते हुने बार निर्वाचनमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवाको गठजोडका कारण डिएलए र एमाले निकट प्रगतिशिल लयर्स एशोसिएसन (पिपिएलए) बीच तालमेल गरेर बार कब्जा गर्ने रणनीति बनेको थियो । तर टिकटका लागि बालुवाटार र बूढानीलकण्ठको नाङ्गो हस्तक्षेप भएको जनाएपछि काँग्रेस निकट डिएलएमा धाँजा फाट्न थालेको छ ।
बार निर्वाचनमा काँग्रेस–एमाले गठबन्धनबाट अध्यक्षमा डिएलए निकट विजयप्रसाद मिश्र र महासचिवमा पिपिएलएका केदार कोइरालाले उम्मेदवारी दर्ता गराएका छन् । विपक्षी गठबन्धनमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, रास्वपा र राप्रपाले संयुक्त प्यानल खडा गरेका छन् । उक्त समूहबाट अध्यक्षमा माओवादी केन्द्रका रमनकुमार श्रेष्ठ अध्यक्षका उम्मेदवार हुन् भने महासचिवमा रास्वपाका यज्ञमणी न्यौपाने उभिएका छन् ।
एकीकृत समाजवादी निकट एसपिएलएबाट बागमती उपाध्यक्षमा डेकेन्द्र सुवेदी प्रतिस्पर्धामा देखिएका छन् । श्रेष्ठको प्यानलमा प्रदेशगत उपाध्यक्ष, समावेशी पद र सदस्य बाँडफाँड गरेर संयुक्त प्यानल खडा गरिएको छ ।
सत्ता गठबन्धनका नाममा बालुवाटार र बूढानीलकण्ठको ठाडो निर्देशनपछि डिएलए फुटको संघारमा पुगेको हो । उता, पिपिएलएभित्र पनि एमालेले अध्यक्ष पाउने सम्भावना हुँदाहुँदै महासचिव लिएर काँग्रेससँग मिलेकोमा उत्पन्न असन्तुष्टि चुलिएको छ । यद्यपि, पिपिएलको असन्तुष्टी डिएलएको जस्तो प्रकट भइसकेको छैन ।
हालै सम्पन्न सर्वोच्च अदालत र पाटन अदालत बार तथा बार काउन्सिलको निर्वाचनमा भने काँग्रेस निकट डिएलए र समाजवादी निकट एसपिएलएले एउटै प्यानल बनाएर चुनाव लडेका थिए । उक्त चुनावमा एमाले–माओवादी गठबन्धन थियो । केन्द्रीय बारको चुनावमा संगठनको निर्णय प्रक्रियामाथि हस्तक्षेप गर्दै सत्ता घटक दुई ठूला पार्टी मिल्दा डिएलएमा किचलो र लफडा उत्पन्न भएको हो ।
डिएलएका पूर्व अध्यक्षहरुले सामाजिक सञ्जालमा अपिल नै जारी गरेपछि विद्रोहको रुपमा लिइएको छ । संगठनलाई पार्टीको कठपुतली बनाइएपछि वर्तमान डिएलए कार्यसमिति नै विघटन गर्न माग गरिएको छ । बार अध्यक्ष छान्न डिएलएका अध्यक्ष वरिष्ठ अधिवक्ता सिताराम केसीले आफ्नै संयोजकत्वमा १२ सदस्यीय छनौट समिति बनाएको अवस्थामा पार्टी संस्थापन निकट केही वकीलको स्वार्थमा नेताको कान फुकेर संगठनलाई बाइपास गरिएको भन्दै अपिलमार्फत प्रतिकारमा उत्रने चेतावनी दिइएको छ ।
डिएलएका पूर्व अध्यक्ष वरिष्ठ अधिवक्ता यदुनाथ खनालले उम्मेदवारी चयन प्रक्रियालाई लिएर घोषित रुपमै विद्रोह गरेका छन् । खनालको अपिलमा डिएलएलाई काँग्रेसको शुभेच्छुक संस्थाको सूचीबाट हटाएर भंग गर्न माग गरिएको छ । उनले उम्मेदवारी चयन प्रक्रियाको तल्लो तहसम्म भण्डाफोर गर्न आव्हान समेत गरेका छन् । डीएलएको मौजुदा कार्यसमितिले तत्काल नैतिक रुपमा राजीनामा दिनुपर्ने माग गरेका खनालले डिएलएको छनोट समितिबाट उम्मेदवार तय नगरी पार्टीले गरेको निर्णयलाई उनले ‘दुर्भाग्यपूर्ण’ भनेका छन् ।
‘नेपाल डेमोक्र्याटिक लयर्स एसोसिएसनको केन्द्रीय कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूले नेपाल डेमोक्रयाटिक लयर्स एसोसिएसनको स्वतन्त्र अस्तित्वमाथि गरेको हस्तक्षेपका विरुद्धमा ऐक्यबद्धता जाहेर गरी नैतिकतापूर्वक राजीनामा गरी पाँच महिनाभित्र नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसनको राष्ट्रिय महाधिवेशनको मिति तय गरी नेतृत्व हस्तान्तरण गर्ने,’ अपीलमा भनिएको छ । नेपाल बारको केन्द्रीय कार्यसमिति निर्वाचनमा उम्मेदवार हुन इच्छुक डीएलएका सदस्य कानुन व्यवसायीहरूलाई देशभरका डीएलए नेपालका महाधिवेशन प्रतिनिधिहरूले प्रत्यक्ष रूपमा निर्वाचन गरी उम्मेदवार छनौट गर्ने व्यवस्थाका लागि डीएलएको विधानमा संशोधन गर्नुपर्ने मागसमेत अघि सारिएको छ ।
कसैको निहित स्वार्थपूर्तिका लागि डिएलए कार्यसमितिलाई थाहै नदिई पार्टीपंक्तिमा संगठन कमजोर भएको सन्देश पठाएर संगठनउपर धावा बोलिएको संगीन आरोप समेत लगाइएको छ । उनले डिएलएको आगामी राष्ट्रिय महाधिवेशनमा संगठन विरोधी क्रियाकलापको भण्डाफोर गर्नसमेते आह्वान गरेका छन् ।
डिएलएकै अर्का पूर्व अध्यक्ष एवम् वरिष्ठ अधिवक्ता भरत खरेललेसमेत सामाजिक सञ्जालमार्फत डिएलएको वर्तमान नेतृत्व इतिहासकै नालायक, असक्षम र गैरजिम्मेवार देखिएको टिप्पणी गरेका छन् । सबै पदाधिकारीको राजीनामा माग्दै पोखरेलले डिएलएका नेताहरुमाथि कटु लाञ्छनासहित भनेका छन्, ‘वाल्मिकी क्याम्पसबाट डिएलएमा छिरेको छुचुन्द्रो र उनीहरुका आठपहरियाहरु डिएलए सक्न सफल भए, बधाई छ सबै गद्दारहरुलाई !’
नेपाली काँग्रेसको महासमितिले यसअघि गरेको कसैसँग गठबन्धन नगर्ने निर्णयको उपेक्षा भएको उनको ठहर छ । पोखरेल लेख्छन्, ‘हाम्रो सहज जीतको सम्भावना हुँदाहुँदै हाम्रा साथीहरुलाई पन्छाएर महत्वपूर्ण र अत्यधिक संख्या दिएर किन गठबन्धन गरियो ? डिएलएलाई किन अपदस्थ गरियो ?निर्वाचन परिचालन कस्ले गरिरहेको छ ? यो निर्वाचनको परिणामको जिम्मा कस्ले लिन्छ ?’
पूर्व अध्यक्ष खरेलले अहिले उठाइएका प्रश्नको जवाफ नदिएर अघि बढेमा त्यसको जिम्मेवारी ‘छुचुन्द्रो र त्यसका आठपहरिया’ ले लिनुपर्ने चेतावनी समेत दिएका छन् । डिएलएका अन्य साधारण सदस्यबाट पनि विद्रोहको चेतावनी दिइएको स्रोतको दाबी छ । डिएलएभित्रको कचिङ्गलमा राष्ट्रपतिका सल्लाहकार बाबुराम कुँवर समेत मुछिएको बताइन्छ । उनलाई डिएलएको पूर्व अध्यक्षको हैसियतमा उम्मेदवार छनोट समितिमा राखिएको डिएलएका एक नेताले बताए । तर बारमा टिकट वितरण गर्न डिएलए र छनोट समिति असक्षम भएपछि सल्लाहकार कुँवरसमेत विवादको भूमरीमा तानिएका हुन् ।
चुनावको सम्मुखमा डिएलएमा भाँडभैलो शुरु भएपछि बारमा बालुवाटार र बूढानीलकण्ठको ठाडो हस्तक्षेप एवम् डिएलएभित्रको कचिङ्गललाई विपक्षी समूहले मसला बनाउने सम्भावना बढेको छ । स्रोत भन्छ, ‘रमन नेतृत्वको समूह उक्त विद्रोहलाई चुनावी मसला बनाएर उपयोग गर्ने रणनीतिसहित अघि बढेको छ ।’
टिप्पणीहरू