पाथीभरा केबलकारको विरोधमा चरणवद्ध प्रदर्शन

पाथीभरा केबलकारको विरोधमा चरणवद्ध प्रदर्शन फाइल फाेटाे

ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) मा केबलकार निर्माणविरुद्ध आन्दोलनरत पक्षले बुधबारदेखि बृहत जनप्रदर्शन गर्ने भएको छ । 

मुक्कुमलुङ तान्सेप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले आज आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो । वार्ता र आन्दोलनलाई सँगसँगै अगाडि बढाइने समितिले जनाएको छ । 

घोषित कार्यक्रमअनुसार फागुन २८ गते काठमाडौंमा बुद्धिजीवीहरुको भेला गरिने छ । चैत २ गते राजनीतिक दल र संघीय तथा प्रदेश सांसदहरुलाई मुक्कुमलुङ संरक्षण आन्दोलनबारे जानकारी पत्र दिने र भोलिपल्ट ३ गते फुङलिङमा रिले अनशन गर्ने जनाइएको छ ।  

सोही दिन पत्रकार सम्मेलनमार्फत आन्दोलनका क्रममा पक्राउ परेका र वारेन्ट जारी भएकाहरुको नामावली सार्वजनिक गर्ने, सरकार, संसद र न्यायालयलाई मुक्कुमलुङ संरक्षण आन्दोलनबारे जानकारी दिने र चैत ४ गते कोशी प्रदेश बन्दको कार्यक्रम रहेकोे छ । 

त्यसैगरी, चैत ६ गते सिंहदरबार घेराउ र सभा, ८ गते मुक्कुमलुङ आन्दोलनका क्रममा भएको घटनाहरुको फोटो प्रदर्शनी, ९ देखि ११ गतेसम्म मधेश प्रदेशको लहान, जनकपुर र लालबन्दीमा घेराउ जनप्रदर्शन तथा आमसभा, कवि तथा साहित्यकारहरुबाट कार्यक्रम, चैत २४ गते कोशी प्रदेशका १४ वटै जिल्लामा आन्दोलन र २५ गतेदेखि अनिश्चितकालीन यातायात बन्दको घोषणा गरिएको छ । 

सो अवधिमा गाउँ जागरण अभियान, अन्तर धार्मिक समन्वय र भेला, घाइतेका परिवारसँग भेटघाटलगायतका कार्यक्रम पनि गरिने समितिले जानकारी दिएको छ ।

टिप्पणीहरू