समाजवादी मोर्चाको बैठकपछि उपयुक्त जवाफ दिने माओवादीको तयारी
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण प्रतिक्रियावादीहरुको सक्रियता बढेको निष्कर्ष निकालेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा आज बसेको पदाधिकारी बैठक नेकपा (एमाले) र नेपाली कांग्रेसको गठबन्धनले नागरिकमा आशा जगाउन नसक्दा प्रतिगामी शक्तिहरु चलमलाउन थालेको निचोडमा पुगेको बताइन्छ ।
बैठकमा पूर्वराजाका पछिल्लो गतिविधिबारे चर्चा गरिएको पार्टी उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । उनले भने, ‘अहिले सरकारको नालायकीपनले प्रतिगामी शक्तिहरू आशावादी देखिएका छन् । पूर्वराजाले पनि शान्त भएर सोचे हुन्छ, हिजो आफूले शासन गर्दा कुन स्थिति थियो, अहिले उहाँलाई बोल्न गणतन्त्रले छुट दिएको छ ।’
पूर्व सभामुखसमेत रहेका सापकोटाले बैठकमा प्रतिगामी शक्तिविरुद्ध प्रतिरोध जुलुस निकाल्नेबारे पनि छलफल भएको जानकारी दिए । तर समाजवादी मोर्चाको बैठकपछि जुलुसको मिति तय गरिने छ । ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति प्रतिकूल रहेकाले गणतन्त्रवादी र वामपन्थी शक्तिहरू मिलेर जानुपर्छ भन्ने कुरा भएको छ’, अगाडि भने, ‘प्रतिरोध जुलुस निकाल्ने र त्यसको लागि समाजवादी मोर्चामा आबद्ध दलहरूसँग छलफल गरेर मिति तय हुन्छ ।’
टिप्पणीहरू