विनोद चौधरीको अर्थपूर्ण विदेश भ्रमण, अपरान्ह नयाँ दिल्लीबाट आगमन

विनोद चौधरीको अर्थपूर्ण विदेश भ्रमण, अपरान्ह नयाँ दिल्लीबाट आगमन

नेपाली काँग्रेसका सांसद तथा व्यापारी विनोद चौधरी नयाँ दिल्लीबाट अपरान्ह काठमाडौं आइपुगेका छन् । एअर इण्डियाको उडान नम्बर एआई २१५ मा आएका उनी सवा ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको बताइन्छ । 

चौधरीसँगै प्रतिनिधि सभाका अर्का माननीय एकनाथ ढकालको विदेश यात्राबारे अनेकौं आशंका गर्न थालिएको धेरै भइसकेको छ । ढकाल ‘होली वाइन’ को नामले परिचित एमाले सांसद तथा नेपाल परिवार दलका अध्यक्ष हुन् ।

उनीहरुले हरियो र रातो रङ्गका राहदानी निजी काममा दुरुपयोग गरेको पाइएपछि प्रश्न उठाइएको हो । संसद अधिवेशन जारी रहेकै बखतसमेत व्यापारी र होली वाइनको मिसनमा लागेका सांसदहरु विदेश जाँदा संसद सचिवालयलाई जानकारी दिने गरेको पाइन्न । ढकालले गतसाता मात्रै पनि माल्दिभ्स पुगेर त्यहाँका सभामुख अब्दुल रहिम अब्दुल्लासँग  भेटवार्ता गरेका थिए ।

मैत्रीपूर्ण भ्रमणमा माले पुगेको भनिएका उनले सभामुख देवराज घिमिरेको तर्फबाट उताका सभामुख अब्दुललाई शुभकामना दिँदै सार्क मुलुकका सभामुख र सांसदहरु बीच आदानप्रदान बढाउनुपर्ने धारणा राखेको दाबी गरिएको छ । दुई मुलुकबीच सन् १९८० मा कूटनैतिक सम्बन्ध स्थापना भएको हो । 

ढकाल र ‘साहु’ चौधरीको एकपछि अर्को हुने गरेको विदेश यात्राको बारेमा प्रायःआधिकारिक जानकारी नहुने संसद सचिवालय स्रोतले यसअघि नै बताएको छ । चौधरीको पटक पटकको र ढकालको पछिल्लो माल्दिभ्स भ्रमणकै कुरो गर्ने हो भने यसको उद्देश्य,निमन्त्रणाबारे आफूहरु अनभिज्ञ रहेको सचिवालयका कर्मचारीहरुले बताएका छन् ।

टिप्पणीहरू