चर्को नाराबाजी बीच पूर्वराजा यसकारण मौन

चर्को नाराबाजी बीच पूर्वराजा यसकारण मौन
सुन्नुहोस्

एक महिना लामो पोखरा बसाइपछि काठमाडौँ फर्कनुभएका पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं एयरपोर्टबाट सिधैँ निर्मल निवास जानुभएको छ । 

विमानस्थलबाट बाहिरिँदै गर्दा मुख्य प्रवेशद्वार (गोल्डेन गेट) अगाडि जम्मा भएका हजारौँ समर्थकले ‘हाम्रो राजा, हाम्रो देश’ भन्दै स्वागत गरेका थिए । पूर्व राजाले उनीहरुलाई गाडीबाटै हात हल्लाएर अभिवादन गर्नुभयो । 

फागनु ७ गते प्रजातन्त्र दिवसको अवसरमा एक सन्देश जारी गर्दै उहाँले आफूलाई साथ दिन आह्वान गरेपछि उत्साहित बनेका समर्थकहरु स्वागतका लागि एयरपोर्ट पुगेका हुन् । पूर्व राजाले आज छोटो भए पनि जनताको नाममा केही सम्बोधन गर्ने राजावादीहरुको अनुमान थियो । तर, एयरपोर्टबाट बाहिरिँदै गर्दा ज्ञानेन्द्र मौन देखिनुभयो ।

हजारौँ समर्थकको भीडबाट पूर्वराजा किन एक शब्द नबोली किन बाटो लागे होलान् त ? बताइएअनुसार दरबारनिकटका ज्योतिषहरुले साइत हेर्दै आज केही नबोल्न सुझाएको बुझिएको छ । आज बोल्दा अनर्थ र साइत हेरेर उपयुक्त समयमा बोल्नुपर्ने  सुझाव पाएपछि पूर्व राजा केवल ‘नमस्ते’ गर्दै चुपचाप निवासतिर लागेको बताइन्छ । 

त्यसो त, हिमानी शाह निकट मानिने ज्योतिष हरिहर अधिकारीले आज बिहानै यात्राका लागि साइत राम्रो नरहेको बताएका थिए । साइत हेरेर मात्र काठमाडौँ फर्किनुपर्ने धारणा राख्दै उनले भनेका थिए, ‘राजाको छेउछाउमा बोल्ने ज्योतिषी र गुरुहरू थुप्रै देख्छौं, तर, आज चन्द्रमा मिथुन राशिमा छन्, अर्थात् चन्द्रमा पश्चिम दिशामा छन्, र आज पोखराबाट काठमाडौं आउँदा चन्द्रमा पछाडि पर्छन्। हामीले जहिले पनि यात्रा गर्दा वा शुभ कार्य गर्दा चन्द्रमा अगाडि अथवा दायाँ पर्नुपर्छ। आज चन्द्रमा पछाडि परेर यात्रा गर्न सल्लाह दिने ज्योतिषी पण्डितहरूलाई के भनौँ खै ।’

त्यसको दुई घण्टामा उनले पुनः अर्को सन्देश जारी गर्दै पोखराबाट जहाज चढ्नुअघि दही खुवाउन लागिएको बताएका थिए । 

राजावादी दल र विभिन्न समूहले आजको मिति तोकेर स्वागत कार्यक्रमको प्रचार प्रसार गरेकाले आजको यात्रा तय गरेका पूर्व राजालाई ज्योतिषहरुले भने अर्को दिन साइत हेरेर फर्किन सुझाएको स्रोत बताउछ ।

टिप्पणीहरू