सडकमा तमासा नदेखाउन राजावादीलाई सांसदहरुको चेतावनी
पूर्व राजा ज्ञानेन्द्र शाहको नाममा राजावादीहरु सडकमा उत्रिएकोमा सांसदहरुले आपत्ति जनाएका छन् । आज बसेको राष्ट्रिय सभा बैठकमा सांसदहरुले राजवादीको गतिविधि नियन्त्रण गर्न सरकारसँग मागसमेत गरे । प्रमुख प्रतिपक्ष नेकपा (माओवादी केन्द्र) का सांसद जगप्रसाद शर्माले पूर्व राजा शाहले वंश विनाश गरेको उल्लेख गर्दै उनको नाममा सडकमा तमासा नदेखाउन चेतावनी दिए ।
‘विश्वका धेरै देशमध्ये नेपालमा सबैभन्दा लामो समय लगाएर, सबैभन्दा कठिन र चुनौतिपूर्ण संघर्ष गरेर अढाइ सय वर्ष अघिदेखि जरा गाडेर बसेको निरंकुश सामन्तवाद राजतन्त्रको अन्त्य गरेका हौँ’, सांसद शर्माले भने, ‘त्यो राजतन्त्र अन्त्य भइसकेपछि अहिले तथाकथित प्रतिगामी शक्तिहरु राजा फर्काउने भन्दैछन् । जसले राजाको वंश विनाश गरेका हुन्, तिनैले राजा फर्काउने एउटा नाटक मञ्चन गरिरहेका छन् ।’
राजावादीका गतिविधि नियन्त्रण गर्न राष्ट्रिय सहमति कायम गर्नुपर्नेमा जोड दिँदै उनले सरकारको ध्यानाकर्षण पनि गराएका छन् । ‘यो अराजकतालाई नियन्त्रण गर्न सरकारले किन सकिरहेको छैन ? प्रतिपक्षको कुरा सरकारले किन सुनिरहेका छैन ? देश बजेट ल्याउने अवस्थामा आइपुगेको छ । ५० प्रतिशत पनि पुँजीगत खर्च हुन सकेको छैन । जसले वंश विनाश गरे उनैले राजा फर्काउने नाटक मञ्चन गरिरेहका छन्’, शर्माले भने ।
त्यस्तै, नेकपा (एकीकृत समाजवादी) की सांसद जयन्तीदेवी राईले राजावादीहरु कुर्लिरहेका कारण मुलुकमा खतरा र राजनीतिक अस्थिरता पैदा भएको टिप्पणी गरेकी छन् ।
राजतन्त्र पक्षधरहरुलाई प्रतिगामीको संज्ञा दिँदै उनले संविधान उल्लंघन गर्दै लोकतन्त्रमाथि धावा बोलिरहेको बताइन् । मुलुकभर अनावश्यक नाराहरु गुञ्जिरहेको उल्लेख गर्दै सांसद राईले सबैले यसको प्रतिवाद गर्दै संविधान कार्यान्वयनमा अघि बढ्न जरुरी रहेको उल्लेख गरिन् ।
‘फेरि पनि प्रतिगामी तत्वहरु कुर्लंदैछन्, आज संविधानको उल्लंघन गर्न खोज्दैछन्’, उनले आक्रोश जनाउँदै भनिन्, ‘६७÷६८ वर्षसम्म लडेर प्राप्त गरेका उपलब्धी खोज्न चाहन्छन् । संघीय लोकतन्त्रमाथि धावा बोलिरहेका छन् । हामीले प्राप्त गरेका उपलब्धिहरु नगुमाउन सजग बनौं र संविधान कार्यान्वयनमा अघि बढौं ।’
नेपाली जनताको बलिदानीबाट प्राप्त व्यवस्था जोगाउन सबै एकजुट हुने समय आएको सांसद राईले बताइन् । नेकपा एकीकृत समाजवादीकै अर्का सांसद उदयबहादुर बोहराले पनि लोकतन्त्रमाथिको प्रहार सह्य नहुने चेतावनी दिएका छन् ।
टिप्पणीहरू