ओली खेमालाई पन्छाउँदै एमाले मोरङमा पूर्व राष्ट्रपति समर्थित विजयी
नेकपा एमाले मोरङको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा संस्थापन इतर खेमाले बाजी मारेको छ ।
आज साँझ सार्वजनिक मत परिणामअनुसार केन्द्रीय अध्यक्ष केपी ओली समर्थित प्यानललाई पराजित गर्दै इतर खेमाले पाँचैजना पदाधिकारी हात पारेको हो । निर्वाचन समितिले मत गणनाको आधिकारिक घोषणा गर्न भने बाँकी छ ।
जसअनुसार अध्यक्षमा अजम्बर राई निर्वाचित भएका छन् । ८८८ मत खसेकोमा उनले ४४६ मत पाए । त्यस्तै, राई प्यानलबाटै उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज थापा, उपसचिवमा सन्तोष वान्तवा र उषा झा विजयी भएका छन ।
संस्थापन समूहबाट अध्यक्षमा राजकुमार ओझा, उपाध्यक्षमा शान्ति लिम्बू, सचिवमा रविन थापा, उप सचिवमा शिल्पा कार्की र इर्जालाल राजवंशी उम्मेदवार थिए ।
एमाले मोरङको अधिवेशन फागुन १७ गते उद्घाटन भएको थियो । सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि २१ गते मतदान प्रक्रिया थालिएको । पाँच पदाधिकारीसहित १६५ सदस्यीय जिल्ला समितिमा ७१ सदस्य भने सर्वसम्मत निर्वाचित भएका थिए ।
अध्यक्षमा निर्वाचित राईलाई जिल्लाका स्थापित नेता विनोद ढकालको समर्थन थियो । अध्यक्ष केपी ओलीसहितका केन्द्रीय नेता एकातिर उभिँदा पनि आफ्नो समूहलाई जिताउन सफल भएका ढकाललाई पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी निकट मानिन्छन् ।

टिप्पणीहरू