सरकारलाई मानव अधिकार आयोगको पत्र
राष्ट्रिय मानव अधिकार आयोगले संक्रमणकालीन न्याय संयन्त्र गठन प्रक्रिया छिटो अघि बढाउन आग्रह गर्दै सरकारलाई पत्र लेखेको छ । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन प्रक्रिया तत्काल अघि बढाउन ध्यानाकर्षण गराउँदै आयोगले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरेको हो ।
संक्रमणकालीन न्यायको सम्बोधनका लागि सरकारले दुई पटक आयोग गठन गरिसकेको छ । तर, ती आयोगले मानव अधिकार उल्लंघनका घटनामा सिफारिस गर्न नसकेको आयोगको गुनासो छ । आयोग गठन हुन नसक्दा द्वन्द्वपीडितहरुमा नैराश्यता पैदा भएको आयोगको ठहर छ ।
‘शान्ति प्रक्रियाको महत्वपूर्ण भाग संक्रमणकालीन न्यायको सम्बोधनका लागि नेपाल सरकारबाट दुईपटकसम्म आयोगहरु गठन भई कार्य अगाडि बढाइएको भएतापनि तत्कालीन आयोगहरुबाट द्वन्द्वकालीन मानव अधिकार उल्लंघनका घटनाहरुमा सिफारिस गर्ने कार्य पूरा हुन नसकेको अवस्था छ’,विज्ञप्तिमा भनिएको छ,‘यस सन्दर्भमा आयोगले शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन गठन हुनुपर्ने सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन प्रक्रिया अघि बढाउन आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरेको हो ।’
टिप्पणीहरू