पूर्व राजा लक्षित प्रचण्डको चेतावनी : परिवर्तन उल्ट्याउन खोजे प्रतिवाद गर्छौँ

पूर्व राजा लक्षित प्रचण्डको चेतावनी : परिवर्तन उल्ट्याउन खोजे प्रतिवाद गर्छौँ
सुन्नुहोस्

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक परिवर्तनको रक्षाका लागि माओवादी शक्ति बलियो हुनुपर्ने बताउनुभएको छ । 

'जनतासँग माओवादी, तराई मधेस जागरण अभियान' अन्तर्गत महोत्तरीको सम्सी गाउँपालिकामा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । अध्यक्ष प्रचण्डले माओवादीलाई पुनर्जागृत गराउनकै लागि जनतामा फर्किएको स्पष्ट पार्नुभयो । 

अहिलेको अधिकार कुनै शासक र राजा महाराजाले दिएको नभई जनताले आफ्नै बलमा खोसेर लिएकाले त्यसको रक्षा, प्रयोग र विकास गर्न माओवादीलाई बलियो बनाउनुपर्ने उहाँको तर्क छ । यथास्थितिमा मुलुक चल्न नसक्ने र अब नयाँ आन्दोलन आवश्यक रहेकाले त्यसको तयारीका लागि सबैभन्दा बढी उत्पीडित र अपहेलित बनाइएका वर्ग समुदायको घरमा पुग्नुपर्छ भनेर नै गम्भीर आत्मसमीक्षासहित आफूहरु जनताको बीचमा आएको उहाँले बताउनुभयो ।

पूर्व राजा ज्ञानेन्द्र शाहको पछिल्लो सम्बोधन र राजावादीहरुको गतिविधिप्रति इंकित गर्दै उहाँले आन्दोलनको बलमा गलहत्याइए 'सामन्ती प्रेत'हरुले टाउको उठाउन खोजे जनताकै बलबाट समाप्त पार्ने चेतावनी पनि दिनुभयो । 

अबको आवश्यकता जनताले प्राप्त गरेका अधिकारको रक्षा गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली जस्ता अग्रगामी एजेन्डामा जानु रहेको उल्लेख गर्दै प्रचण्डले पछाडि फर्कनेतर्फ कसैले सोचे राम्रो नहुने बताउनुभयो ।

पार्टीले अघि बढाएको हुलाकी मार्ग केन्द्रित अभियानले दक्षिण नेपाललाई राज्यको मूल प्रवाहमा जोड्दै नयाँ राष्ट्रिय एकता कायम गर्न सहयोग पुर्याउने उहाँको विश्वास छ । लामो समय अलपत्र परेको हुलाकी मार्ग अघि बढाउन आफूले २०७३ मा प्रधानमन्त्रीको रुपमा भारत भ्रमण गर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल गरी सहयोग सुचारु गरेपछि योजना अघि बढेको जानकारी दिनुभयो ।

टिप्पणीहरू