मन्त्रीले लोडसेडिङ अन्त्यको जस भारतलाई दिएपछि माओवादीको आक्रोश

मन्त्रीले लोडसेडिङ अन्त्यको जस भारतलाई दिएपछि माओवादीको आक्रोश

उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले नेपालमा लोडसेडिङ अन्त्य हुनुमा छिमेकी देश भारतको निर्णायक भूमिका रहेको बताएका छन् । 

आज प्रतिनिधिसभा बैठकमा उनले त्यस्तो दाबी गरेका हुन् । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका कारण लोडसेडिङ हटेको भनी भ्रम फैलाइएको भन्दै हाइड्रो व्यवसायीसमेत रहेका मन्त्रीले आपत्ति जनाए । 

‘हाम्रो लोडसेडिङ अन्त्य गरिदिएको भारतले हो, उसले आफ्नो अभावका बीच पनि हामीलाई ४०० मेगावट विद्युत किन्न दियो’, उनले भने, ‘त्यसकारण लोडसेडिङ अन्त्यको श्रेय भारतलाई जान्छ, अन्य भ्रम फैलाउन आवश्यक छैन ।’

मन्त्री खड्काले घिसिङलाई कार्यसम्पाद मुल्यांकनमा शून्य अंक दिनुको कारण पनि खुलाए । उनका अनुसार घिसिङले तोकिएको समयभन्दा ढिलो प्रतिवेदन बुझाएपछि जिरो नम्बर दिनुपरेको हो । 

‘माननीयहरु पक्कै पनि कुनैबेला विद्यार्थी हुनुहुन्थ्यो होला, विद्यार्थी जाँचमै उपस्थित नभएपछि कति नम्बर पाउँला ?’ खड्काले सोधे, ‘कि मलाई भन्दिनुपर्यो उहाँ कानुनभन्दा माथि हुनुहुन्छ भनेर, नत्र जिम्मेवार पदमा बस्ने सबैले कानुनको पालना गर्नुपर्छ, उहाँले नगरेपछि शुन्य अंक दियौँ ।’

त्यस्तै, घिसिङले सरकारको निर्देशन अटेर गरेको मन्त्री खड्काको आरोप छ । ‘प्राधिकरणको नाफा नोक्सानीको डिडिए गरौँ भनेर बोर्डबाटै निर्णय गर्यौँ । तर, उहाँले त्यसलाई कार्यान्वयनमा ल्याउनुभएन', उनले थपे, 'किन ल्याउनुभएन भनेर सोध्दा पनि जवाफ नै दिनुहुन्न । अर्को भाषामा भन्दा टेर्दै टेर्नुहुन्न !’

मन्त्रीको यस्तो अभिव्यक्तिप्रति प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले तत्कालै आपत्ति जनाएका थिए । मन्त्रीजस्तो व्यक्तिले लोडसेडिङको विषयमा संसदमै भ्रम छरेको भन्दै उनले अध्ययन गरेर बोल्न सुझाव दिए ।

टिप्पणीहरू