बालेनको अड्डामा पुरानै हाकिम
मेयर बालेन्द्र (बालेन) साहको बलमिच्याईमा परेका सरोज गुरागाईँ नै काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुने भएका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुरागाईँलाई काम गर्ने वातावरण बनाइदिन भन्दै महानगरपालिकालाई हिजाे पत्राचार गरेको छ । पुरानो बसपार्क क्षेत्रमा निर्माण भइरहेको ‘काठमाडौँ भ्यु टावर’को नक्सापास सम्बन्धी विवादमा पारिएका उनी दुई महिनादेखि बिदामा छन् ।
संघीय सरकारसँग टसल गरिरहेका मेयर साहले नै गुरागाईँलाई कार्यालयमा रोक लगाएको भनिएको अवस्थामा मन्त्रालयले भने उनैलाई प्रशासकीय अधिकृत बनाएर पठाउने निर्णय गरेको हो ।
उक्त विवादमा अनुसन्धान गर्न भन्दै साहले पूर्व सचिव शंकरप्रसाद पाण्डेको संयोजकत्वमा छानविन समितिसमेत बनाएका थिए । तर, समितिले गुरागाईँको गल्ती नभेटिएको आशयसहितको प्रतिवेदन तयार पारेपछि मेयरले छुट्टै रायसहितको पत्र तयार मन्त्रालयमा पठाएका थिए ।
‘तहाँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री सरोज प्रसाद गुरागाईंले आफूलाई खटाइएको कार्यालयको कार्यकक्षमा प्रवेश गर्न अवरोध सिर्जना गरी कार्यवातावरण विथोलिएको तथा पुस ८ गते देखि हाजिर गर्न नपाएको गुनासाे प्राप्त भएकाे छ’, मन्त्रालयको पत्रमा भनिएको छ, ‘आवश्यक व्यवस्थापन गरी कार्य वातावरण सहज बनाइदिनु हुन भनी यस मन्त्रालयमा निवेदन पेश गर्नुभएको हुँदा निजलाई तहाँ महानगरपालिकामा हाजिर भई कार्य सम्पादनका लागि आवश्यक सहजीकरण गरिदिनु हुन यस मन्त्रालयमा मन्त्रीस्तरको निर्णयानुसार अनुरोध छ ।’
मेयर साहले कार्यकक्षमा रोक लगाएलगत्तै प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले आफूमाथि षड्यन्त्र गरेर विभिन्न लाञ्छना लगाइएको र कार्यालय प्रवेशमा रोक लगाएको व्यहोराको पत्र मन्त्रालयमा पठाएका थिए ।

टिप्पणीहरू