पूर्व राजालाई नजरबन्दमा राख्न लगियो भन्दै सञ्जालमा रोइलो
बैंकको ऋण मिनाहा अभियान चलाउँदै पछिल्लो समय राजावादी बनेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पूर्व राजा ज्ञानेन्द्र शाहलाई सरकारले नजरबन्दमा राख्ने तयारी गरिरहेको दाबी गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा आज स्टाटस लेख्दै उनले राजतन्त्र पुनःस्थापनाको पक्षमा देशव्यापी माहोल बनेपछि सरकार अत्तालिएर पूर्व राजालाई नजरबन्दमा राख्ने प्रपन्च गरेको बताएका हुन् । सूत्रको हवाला दिँदै प्रसाईले आफूलाई झूठा मुद्दा लगाएर समात्ने तयारी भइरहेको जिकिरसमेत गरे ।
‘राजतन्त्र पुनःस्थापनाको माहोल देशव्यापी बनेपछि यो ओली सरकार अत्तालिएर श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेव सरकारलाई नजरबन्दमा राख्ने र मलाई पुनः झुट्टा मुद्दा लगाई पक्राउको तयारी गर्दै गरेको समाचार मलाई विश्वस्त सुत्रबाट प्राप्त भएको छ,’ पूर्व राजा र उनका छोरा पारससँगको फोटो फेसबुकमा राखेर उनले लेखेका छन् ।
पूर्वराजा शाह पोखराबाट काठमाडौं फर्किँदा राजावादीहरुले काठमाडौंमा शक्ति प्रदर्शनको तयारी गरेका छन् । तर, प्रसाईले भने आफूलाई सोभन्दा अगाडि नै पक्राउ गर्ने तयारी भएको बताउँदै यस्तो अवस्थामा विभाजित नभई एकताबद्ध भएर राजसंस्था पुनःस्थापना आन्दोलनको आँधीबेहरी ल्याउन समर्थकलाई आह्वान गरेका छन् ।
भनेका छन्, ‘२५ गते अगाडि नै मलाई पक्राउको तयारी गर्दैछ । म रहुँला वा नरहुँला, मलाई हिरासत लैजाला वा बाहिरै रहुँला केही छैन । २५ गते सरकारको सवारीमा यस्तो शक्ति प्रदर्शन गरौं कि यी देश बेचुवाको सत्ता च्युत होस्, नेपाललाई फेरि हाम्रो गौरवपूर्ण नेपाल बनाउने यात्रा शुभारम्भ होस् ।’
टिप्पणीहरू