व्यापार केन्द्रपछि विप्लवको 'सी गार्मेन्ट'

व्यापार केन्द्रपछि विप्लवको 'सी गार्मेन्ट'
सुन्नुहोस्

कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकट्टामा सञ्चालित ‘सी गार्मेन्ट’ को हिजो एक कार्यक्रमबीच औपचारिक उद्धघाटन गरिएको हो । उद्घाटन मन्तव्य राख्दै विप्लवले स्वदेशी उत्पादनलाई आत्मनिर्भर बनाई अर्थतन्त्रको जग बनाउनुपर्नेमा जोड दिए । स्वदेशी उत्पादन र श्रमको सम्मान नगरी आर्थिक क्रान्ति सम्भव नहुने उनको प्रष्ट भनाई छ ।  

नेकपा आत्मनिर्भर अर्थतन्त्रको मार्गमा हिँड्ने पार्टीको रूपमा अगाडि बडेको भन्दै उनले सबैलाई उत्पादन र व्यवसायमा लाग्न आग्रह गरे । नागरिकलाई आर्थिकसँग जोड्दै स्थानीयस्तरमा रोजगारी सृजना गर्न सी गार्मेन्ट जस्ता उत्पादनमूलक उद्योगले टेवा पुर्याउने विप्लवको विश्वास छ ।

नेकपाले विभिन्न उत्पादनमूलक उद्योग सञ्चालन गरी पार्टीको आर्थिक अवस्था उकास्ने योजना बनाएको जनाए । गार्मेन्टमार्फत उत्पादन गरिएका सामग्री स्थानीय तथा राष्ट्रिय बजारमा बिक्री गरिने विप्लवले बताए ।
 
गार्मेन्ट सञ्चालनबाट नेपाली जनतालाई स्वदेशी वस्तु प्रयोग गर्न उत्प्रेरित गर्ने तथा स्थानीय स्रोत-साधनको अधिकतम उपयोग गर्ने उद्देश्य नेकपाले राखेको छ । उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य एवम् पूर्वमन्त्री अर्जुन केसीले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न यस्ता लघु तथा मध्यम उद्योगहरू आवश्यक रहेको बताए ।

शिवराज नगरपालिकाका मेयर अजय थापाले नगरपालिकाले उद्यमशीलतालाई प्रवर्द्धन गर्ने नीति लिएको भन्दै यस्ता उद्योगले नगरको विकासमा मद्धत पुर्याउने विश्वास जनाए ।

नेकपाले ‘सी व्यापार केन्द्र’ पनि सञ्चालनमा ल्याएको छ । काठमाडौंको बूढानीलकण्ठमा गत महिना उद्घाटन गरिएको उक्त केन्द्रमा सो पार्टीले उत्पादन गरेको धान, मकै, आलु, मह, तोरी, घिउ, टिमुरलगायत अर्गानिक वस्तुहरु राखिएका छन् ।

टिप्पणीहरू