आर्टिफिसियल इन्टेलिजेन्सको यता चरम दुरुपयोग, उता अधिकतम सदुपयोग

आर्टिफिसियल इन्टेलिजेन्सको यता चरम दुरुपयोग, उता अधिकतम सदुपयोग
सुन्नुहोस्

अमेरिकापछि विश्वकै ठूलो अर्थतन्त्र रहेको चीनले सूचना प्रविधि र विज्ञानको सक्दो प्रयोग गरेर  विकास निर्माणमा एकपछि अर्को फड्को मारिरहेको छ । छोटो समयमै असम्भवलाई समेत सम्भव बनाएर चीनले गरेको विकास वर्णन गरिसाध्य छैन । असल राजनीतिक नेतृत्व, सक्षम प्रशासन र प्रणालीका कारण त्यो सबै सम्भव भएको भन्न सकिन्छ ।

मसहित पाँच जनाको पत्रकार टोली दुई साताको चीन भ्रमण सकेर स्वदेश फर्किएका छौं । पत्रकार एवम् उकालो डटकमकी दिपा दाहाल, कविसमेत रहेका पत्रकार भानु बोखिम, तुलसी बोहरा, एलिना कार्की र म थियौं । हामी सबै पहिलो पटक चीन भ्रमणमा गएका थियौं ।

चीनको वाणिज्य मन्त्रालयअन्तर्गतको एकेडेमी फर इन्टरनेसनल बिजनेश अफिसियल (आइबो) ले बेइजिङमा आयोजना गरेको ‘सेमिनार अन इमरजीङ इण्डस्इिज फर डेभलोपिङ कन्ट्रिज’ मा सहभागी हुन हामी पाँच जनाको टोली फागुन ५ गते छन्तु हुँदै चीन उडेका थियौं ।

काठमाडौंबाट उडेका हामी चाइना सिचुआन एयरलाइन्सको उडानमा छेन्तुको तियानफु एयरपोर्टमा अवतरण गर्यौं । बेइजिङसम्मको यात्रा भएकाले तीन घण्टाको ट्रान्जिटपछि हामी गन्तव्यतर्फ लाग्यौं । र, स्थानीय समय अनुसार रातिको ११ बजेर १५ मिनेटमा बेइजिङ पुग्यौं ।

त्यहाँको विशाल र सुविधाजनक विमानस्थल, सहज अध्यागमन प्रक्रियाले हामीलाई आफ्नो देशको विमानस्थलबारे सम्झायो । बिना झन्झट हामी विमानस्थलबाट बाहिरियौं ।

 बेइजिङ क्यापिटल इन्टरनेशनल एयरपोर्टमा आइबोकी प्रतिनिधि लाउरा एउटा गाडीसहित हाम्रो प्रतीक्षामा थिइन् । उनीसँगै मध्यरातमा आइबो होटल पुग्यौं । भोलिपल्ट सबेरै उद्घाटन समारोह भएकाले छोटो समय मात्रै निदायौं । 

आइबोका अध्यक्ष सुन जोङछेद्वारा उद्घाटित उक्त कार्यक्रम सन् २०२५ का लागि पहिलो सेमिनार थियो । विभिन्न पाँच वटा विषयमा केन्द्रित सेमिनारमा २६ देशका एक सय ७२ जना सहभागी थिए । हाम्रो टोली ‘सेमिनार अन इमरजीङ इण्डस्ट्रिज फर डेभलपिङ कन्ट्रिज’ मा १० मुलुकका ३२ जनासँगै सहभागी भएको हो ।

इराकबाट छ, इजिप्टबाट दुई, बोत्सवानाबाट एक, तान्जानियाबाट चार, नेपालबाट पाँच, उज्बेकिस्तानबाट तीन, ग्रिनिडाबाट दुई, बहामसबाट एक, केन्याबाट चार र कम्बोडियाबाट चार जना सहभागी थिए । चीनको विदेश मन्त्रालयका पूर्वराजदूत छिन मिङमिङले सहभागीलाई चीनको राष्ट्रिय अवस्थाबारे जानकारी गराएपछि सेमिनार अघि बढेको थियो । 

नयाँ चीन निर्माणका लागि गरिएको संघर्षबारे बताउँदै उनले भने, ‘देश विकास गर्नु छ भने युवामा लगानीसँगै अवसर दिनुपर्छ ।’ उनको यो भनाइले हाम्रो देशको राजनीतिक अवस्थाबारे स्मरण गराउन बाध्य बनायो । चीनको संघर्ष र उपलब्धिबारे मिङमिङले आकर्षक र रमाइलो तरिकाले पढाउँदा बिहान ९ बजेदेखि १२ बजेसम्मको कक्षा सकिएको थाहै भएन । 

हरेक दिन साढे ११ बजेदेखि १ बजेसम्म लञ्च समय तोकिएको थियो । लञ्चपछि पुनः २ बजेदेखि कक्षा शुरु हुन्थ्यो । अन्तर्राष्ट्रिय व्यापार तथा अर्थशास्त्र विश्वविद्यालयका प्रोफेसर वेइकाङले बेल्ट एण्ड रोड (बीआरआई) बारे पढाए । बीआरआई कार्यान्वयनका निम्ति चीनले गरेको पहल र यसबाट भविष्यमा हुनसक्ने फाइदाबारे थप जानकारी पाइयो । 

बीआरआईमा नयाँ मार्गहरुको विस्तार, विमानस्थल, रेल्वे र अन्य पूर्वाधार जडान गर्ने र त्यसमा विज्ञान र प्रविधिको प्रयोगलाई चीनले जोड दिएको पाइयो । उदाहरणका रुपमा प्रोफेसर वेइकाङले नवप्रवर्तनलाई समर्थन र लगानीलाई स्वागत गर्ने चिनियाँ सरकारी नीतिका कारण सन्चन माछा मार्ने सानो गाउँबाट अहिले विश्वव्यापी प्रविधिको केन्द्रमा परिणत भएको नमूना प्रस्तुत गरे । 

त्यसपछि एनिमेसनसम्बन्धी कक्षाहरु भए । विभिन्न विश्वविद्यालयका प्रोफेसरहरुले विविध विषयमा अध्यापन गराएपछि सहभागीलाई फागुन ९ गते सर्जिकल रोबोट प्रणालीको अवलोकनका निम्ति बेइजिङ सुरुई रोबोर्स कम्पनी लगियो । शल्यक्रियाका लागि रोबोटको प्रयोग गर्ने प्रविधिले सबैलाई आकर्षित गरेको थियो ।

हाम्रोजस्तो देशमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को दुरुपयोग बढिरहेको अवस्थामा चीनले भने यसैको सदुरुपयोग गरेर स्वास्थ्य क्षेत्रमा समेत महत्वपूर्ण उपलब्धि हात पारेको मैले पाए । उदाहरणका लागि चीनमा टेन्सेटको एआई सहायता प्राप्त निदानले मानवीय स्वास्थ्यमा प्रारम्भिक रोग पत्ता लगाउने कार्यमा सुधार गरेको छ । 

उद्योगहरुलाई स्वचालित बनाउने, शासन सुधार गर्ने र सेवा वितरण बढाउने काममा पनि एआईको भूमिका परिवर्तनकारी छ । सर्जिकल रोबोटको अवलोकनपछि हाम्रो देशले पनि ग्रामीण क्षेत्रहरुमा एआईमार्फत स्वास्थ्य क्षेत्रमा सुधार ल्याउनसक्ने सोच सहभागीहरुको पाइयो । त्यसपछि अटोमोबाइल कम्पनी लगियो । त्यहाँ पनि स्वचालित कार देखाइयो । र, अटोमोबाइल प्रविधिमार्फत चीनले सवारी दुर्घटनालाई धेरै हदसम्म न्यूनीकरण गरेको पाइयो ।

सेमिनारकै क्रममा विश्वप्रसिद्ध ‘द ग्रेट वाल अफ चाइना’ को भ्रमण गर्न पाइयो । सानैदेखि सुन्दै र किताबमा पढ्दै आएको ग्रेट वालमा साँच्चिकै पुग्न पाउँदा अरुलाई झैँ मलाई पनि निकै गौरवान्वित महशुस भयो । त्यसमाथि विदेशी साथीहरुसँग हाँस्दै रमाउँदै ग्रेट वालमा चढ्न पाउनुको आनन्द अलग्गै थियो । 

केही दिनपछि राजधानीबाट चीनको पूर्वी भेगको सान्दोङ प्रान्तको छिङताओ शहर लगियो । छिङताओ निकै रमाइलो शहर रहेछ । चिनियाँहरुले गाउँको रुपमा हेर्ने यो शहर मैले हाम्रो राजधानी काठमाडौंभन्दा धेरै गुणा विकसित देखेँ । 

समुद्री शहरका रुपमा समेत परिचित छिङताओमा समुद्रको आनन्द लिन पाउँदा सबैले निकै रमाइलो महशुस गरेका थिए । वृद्धवृद्धा, बालबालिकाका लागि बनाइएको पार्क पनि आकर्षक देखियो । बियरका लागि प्रख्यात शहरमा ऐतिहासिक र सांस्कृतिक ‘छिङताओ बियर म्युजियम’ हेर्ने मौका समेत मिल्यो । हाम्रोमा घरेलु मदिरालाई प्रतिबन्ध लगाउन बेला बखत आवाज उठ्ने गरेकोमा छिङताओमा घरेलु मदिरालाई नै व्यवसायिक उत्पादनमा परिणत गरेको पाइयो । छिङताओमा तीन दिनको बसाइपछि फागुन १६ गते बेइजिङ फर्कियौं । पर्सिपल्ट चीनको राष्ट्रिय विकास तथा सुधार आयोगअन्तर्गत ऊर्जा अनुसन्धान प्रयोगशालामा कार्यरत अनुसन्धानकर्ता जियाङ केजुनले ठूलो स्तरको शून्य कार्बन ऊर्जा उद्योग र यसको विकासबारे जानकारी दिए ।

 बेइजिङ जाओतोङ विश्वविद्यालयकी प्रोफेसर झाङ चुनले स्मार्ट सिटीबारे बताइन् । चीनले छोटो समयमै विकास निर्माणमा ठूलो फड्को मारेको छ । यसको पछाडि उसले सडक र यातायातको क्षेत्रमा गरेको लगानी निकै महत्वपूर्ण रहेकोे प्रमाणित हुँदै गएको छ । यसले चीनमा स्मार्ट सिटीको विकासमा सहयोग पुगेको छ ।

सायद यही देखाउन र अन्य मुलुकलाईसमेत विकास निर्माणका निम्ति प्रोत्साहित गर्न चीनले विदेशी नागरिकमाथि समेत ठूलो लगानी गरेको अनुमान गर्न सकिन्छ । दुई साताको बसाईले सबैलाई एउटै परिवारको सदस्य बनाइसकेकाले छुट्ने बेला सबैलाई गाह्रो हुनु स्वाभाविक हो । 

फागुन १९ गतेको समापन समारोहमा हाम्रो तर्फबाट दिपा दाहालको मन्तव्य थियो । अन्य मुलुकका प्रतिनिधिहरुले आफ्नो धारणा राखेपछि सकिएको औपचारिक कार्यक्रम पश्चात् इराक, इजिप्ट, बोत्सवाना र तान्जानियाको टोली स्वदेशका लागि विमानस्थलतर्फ गयो । 

त्यसपछि आइबोबाट निस्किने पालो हाम्रो थियो । हामी रातको २ बजे विमानस्थलतर्फ लाग्यौं । बिहान ७ बजे बेइजिङबाट खुन्मिङ प्रस्थान गरेको टोली मंगलबार चाइना इस्टर्नको उडानमा चार घण्टाको ट्रान्जिटपछि दिउँसो ४ बजे काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको हो ।

चीनको यो यात्रा मेरा लागि अविस्मरणीयसँगै निकै उपलब्धिमूलक समेत भयो । यात्रा र समारोहबाट धेरै सिकियो, नजिकबाट चीनको विकास निर्माण मात्र हेरिएन चीनले भविष्यका लागि तयार पारेका योजनाबारेसमेत जानकारी पाइयो ।

विश्वकै दोस्रो ठूलो अर्थतन्त्र र विकासको शिखरमा पुग्दै गरेको असल छिमेकी मुलुकको यात्रा गर्न पाउँदा ाफूलाई निकै भाग्यशाली ठानेको छु । यो अवसर जुटाइदिने चीन सरकार, नेपाल चाइना मिडिया फोरम, फोरमका अध्यक्षलगायत सबै विशेष धन्यवादका पात्र हुनुहुन्छ ।

टिप्पणीहरू