ल्याकत देखाउन मन्त्रीलाई कुलमानको चुनौती
नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक (एमडी) कुलमान घिसिङले आफूमाथि जति षड्यन्त्र रचिए पनि कार्यकालको अन्तिम समयसम्म बिचलित नभई ऊर्जा क्षेत्रको हितमा काम गरिरहने प्रतिबद्धता जनाएका छन् ।
बुटवलमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले जति स्पष्टीकरण सोधे पनि आफू नअत्तालिएको बताए । पदमा रहेको अन्तिम क्षणसम्म पनि दत्तचित्त भएर काम गरिरहने घिसिङको भनाई छ ।
‘आज हो कि भोलि हो भन्ने हल्ला तपाईंहरुले पनि सुन्नुभएकै होला, मेरोचाहिँ अन्तिम समयसम्म काम गर्नुपर्छ भन्ने मान्यता हो’, उनले भने, ‘मैले पाँच छ वटा स्पष्टीकरण दिए हुँला, त्यसले अर्थ राख्दैन । मन्त्रालयले मलाई शून्य अंक दियो, त्यसले पनि अर्थ राख्दैन ।’
एमडी घिसिङले राष्ट्रिय जिम्मेवारीसहित पदमा बस्दा केही अवरोध आउनु सामान्य हो भन्दै ऊर्जामन्त्री दिपक खड्कालाई कटाक्षसमेत गरे । ‘जति स्पष्टीकरण खाए पनि अन्तिम क्षणको एक घण्टासम्म काम गर्ने ल्याकत राख्नुपर्छ, म त्यहि ल्याकतले हिँडिरहेको छु, अवरोध गर्नेले गरिरहन्छन्’, उनले थपे ।
कुलमानले त्यसो भनिरहँदा यता उनको पक्षमा विपक्षी दल संसदमा एकजुट भएका छन् । घाटामा गएको संस्थानलाई नाफामा पुर्याएर असल काम गरेका एमडीलाई हटाइए सडक तताउने विपक्षीहरुको चेतावनी छ ।
टिप्पणीहरू