माओवादीको प्रश्न : अध्यादेशकाे मस्यौदा कुन कर्पोरेट हाउसमा बसेर बनाइयो ?
प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले केही व्यापारीको स्वार्थअनुकूल सरकारले निजीकरण अध्यादेश ल्याएको दाबी गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उनले उक्त अध्यादेशको मस्यौदा कुन कर्पोरेट हाउसमा लेखिएको हो ? भन्दै सरकारलाई प्रश्न गरेका हुन् ।
‘अहिले म निजीकरण विधेयकको बारेमा कुरा गर्दैछु । यो कहाँ ड्राफ्ट भयो ? यसको बारेमा सोध्दा कोही जवाफ दिँदैनन् । र, यो कुन कर्पोरेट हाउसमा ड्राफ्ट भएर आयो ? र, आदेश के गर्यो सरकारले भन्दा कमा र फुलस्टप समेत परिवर्तन नगरियोस्’, सापकोटाले भने ।
‘निजीकण (पहिलो संशोधन) अध्यादेश,२०८१ अस्विकृत गरियोस्’ भन्ने पेश गर्दै सांसद सापकोटाले अन्तरवस्तु र प्रक्रिया दुबै हिसाबले अध्यादेश गलत रहेको बताए ।
‘लोकतान्त्रिक मूल्यमान्यताको हिसाबले यो अध्यादेशको बाटो सर्वथा गलत छ । यसले सम्पूर्ण रुपमा संसदलाई नाङ्गो ढंगले झम्टिराखेको छ’, उनले थपे, ‘त्यसैले विधि र मान्यताको हिसाबले एउटा होइन, दुईटा होइन, तीन वटा होइन, चार वटा होइन, पाँच वटा पनि होइन, छ वटा अध्यादेश र ३२ वटा ऐन ल्याइयो । यही हो लोकतन्त्र ? संविधानलाई जिस्क्याएर, खिसी गरेर ल्याइयो ।’
गिरीबन्धुको गन्ध आउनेगरी सकारले भूमिसम्बन्धी अध्यादेश ल्याएको उनको टिप्पणी छ ।
टिप्पणीहरू