दुर्गा प्रसाईंका ‘हजुरबा’ ‘मारवाडीको पार्टनर’ मा परिणत
आफूलाई राजावादी अभियन्ता भनाउँदै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्को नारा लगाएका छन् । पूर्वपञ्चहरुको बाहुल्य रहेको राप्रपाले आज काठमाडौँमा आयोजना गरेको बृहत मोटरसाइकल र्यालीका क्रममा उनले प्रधानमन्त्री ओलीलाई माडवारीको पार्टनरको संज्ञासमेत दिए ।
एमाले केन्द्रीय सदस्य रहँदासम्म ओलीलाई ‘हजुरबा’ भनेर बोलाउने प्रसाईंले आज ‘...चोर देश छोड’ को नारा लगाएका हुन् ।
राप्रपा अध्यक्ष राजेन्द्र लिंगदेनसँगै नारायणहिटी दक्षिणको चौबाटोमा राखिएको ट्राफिक बुथमा उभिएर प्रधानमन्त्रीको चर्को निन्दा गरेका उनले पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाहको भने जयजकार गरे । ‘हामीले गुमाएको राजसंस्था र हिन्दु धर्मलाई फर्काउन यो अभियान शुरु गरेका हौँ’, युटुबरलाई सम्बोधन गर्दै प्रसाईं कड्किए ।
सडकमा राम्रै उपस्थिति देखेर हौसिएका उनले आजको प्रदर्शनलाई जनविद्रोह भनेका छन् । पूर्वराजा ज्ञानेन्द्र काठमाडौँ फर्किएपछि आन्दोलन थप चर्काउने प्रसाईंको दाबी छ
‘फागुन २५ गते श्री ५ महाराजधिराज ज्ञानेन्द्र मौसुफ सरकार पोखराबाट काठमाडौँ फिर्ता सवारी हुँदैछ । त्यो सवारीमा एयरपोर्ट कब्जा गरेर आन्दोलनमा अघि बढेर यी मारवाडीका पार्टनरहरुलाई लखेट्नुपर्छ ।’
त्यसोभन्दा राजावादीहरुले सिठ्ठी फुकेर समर्थन जनाएपछि अझै हौसिएका उनले ज्ञानेन्द्रको सवारीमा आइदिन चुल्हेनिम्तो दिएका छन् । त्यसपछि ‘दुर्गा दाइ, हाइ हाइ’ को नारा लगाइएको थियो ।
टिप्पणीहरू