एमालेका कार्यकर्ताले मान्छे कुटेकोमा कविता सुनाएर आक्रोश
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको नामबाट संचालन गरिएको ‘केपी ओली कप’ फुटबल प्रतियोगिताको फाइनलमा भएको कुटपिटको घटना संसदमा प्रवेश गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले दशरथ रंगशालामा नागरिकमाथि कुटपिट गर्ने एमालेनिकट राष्ट्रिय युवा संघका कार्यकर्तालाई कारवाहीको दायरामा ल्याउन माग गरेका हुन् । आजको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले प्रहरीकै अगाडि खुलममुल्ला नागरिक कुट्ने कस्तो लोकतन्त्र हो ? भनेर प्रश्न गरे ।
दशरथ रंगशालामा गुण्डा परिचालन गरेकोमा ‘वा ! वा ! प्रधानमन्त्रीज्यू’ भनेर व्यंग्य कसेका शाहीले थपे, ‘रंगशालामा फागुन १९ गते प्रधानमन्त्रीको नाममा खेलकुद आयोजना गर्ने, दर्शकदिर्घामा बसेर बोल्यो भन्दै प्रधानमन्त्रीकै पार्टीका विल्लाधारी गण्डाले मान्छे कुट्ने, अनि प्रहरी चाहिँ बचाउनको सट्टा कुट्न सघाउने । वा वा गृहमन्त्रीज्यू, वा वा प्रधानमन्त्री ज्यू, यो तिम्रो कस्तो लोकतन्त्र हो ? कस्तो प्रजातन्त्र हो ?’
नागरिकमाथि निर्घात कुटपिट गर्ने राष्ट्रिय युवा संघका कार्यकर्तालाई तत्काल पक्राउ नगरिए सडक र सदनबाट आन्दोलन थाल्ने उनको चेतावनी छ । ‘विधिको शाषण खोई ? विपी र मदन भण्डारीको सपना खोई ? यसरी मान्छे कुट्नेमाथि कारवाही गरियोस्, पक्राउ गरियोस्, हैन भने सडक र सदनबाट आन्दोलन सुरु हुन्छ’, शाहीले आक्रोशित हुँदै भने ।
सांसद उनले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै एक कविता पनि सुनाएका छन् ।
यस्तो छ शाहीको कविता :
गर्नेलाई भन्दा देख्नेलाई लाज,
प्रधानमन्त्रीको थियो रंगशालामा बास,
सरकारविरुद्ध आवाज उठायो कि हातखुट्टा भाँच,
पार्टीका विल्लाधारी गुण्डाहरुको देखियो ताण्डव नाच !!
टिप्पणीहरू