राजा फर्काउन राप्रपाको र्‍याली

राजा फर्काउन राप्रपाको र्‍याली
सुन्नुहोस्

पूर्व राजा ज्ञानेन्द्र बिरविक्रम शाहको फागुन ७ को सम्बोधनपछि हौसिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंमा जुलुस निकालेको छ । राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै आज दिउँसो सो पार्टीले बृहत मोटरसाइकल र्‍याली गरेको हो ।

बबहरमहलबाट शुरु भएको र्‍याली थापाथली, त्रिपुरेश्वर, सुन्धारा, रत्नपार्क, जमलहुँदै दरबार मार्गस्थित नारायणहिटी अगाडि पुगेर कोणसभामा परिणत हुने जनाइएको छ । त्यसअघि उपत्यकाका विभिन्न स्थानबाट नारा जुलुस गर्दै राप्रपाका कार्यकर्ता बबरमहलमा भेला भएका थिए । 

कागेश्वरी मनोहरा-०५ थलीबाट राप्रपा नगर अध्यक्ष मणि सिंखडाको नेतृत्वमा पांच दर्जनजति कार्यकर्ता बबरमहल आइपुगेको जानकारी गराइएको छ । थलीबाट ३० वटा मोटरसाइकलमा जोरपाटी, बौद्ध,चावहिल, गौशाला, बिजुलीबजार पुल हुँदै आएका उनीहरु मूल र्यालीमा मिसिएका छन् ।

त्यस्तै, काठमाडौं महानगरपालिका- २६ नयाँ बसपार्कस्थित बिजी मल अगाडिबाट राप्रपा क्षेत्र नम्बर ६ का अध्यक्ष टंक अधिकारीको नेतृत्वमा शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्कालगायतको टोली मूल र्यालीमा जोडिएको छ । माछापोखरीबाट नारा लगाउँदै मिस्किएको टोली नयाँ बसपार्क, बिष्णुमति करिडोर, नयाँ बजार, सोह्रखुट्टे, ठमेल, दरबारमार्ग हुँदै बिजुलीबजार आइपुगेको हो ।

जुलुसका क्रममा 'हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ', 'राजतन्त्र जिन्दावाद', 'राजा आउ देश बचाऊ' जस्ता नारा लगाइएको छ ।

शक्तिमा फर्किने पूर्वराजाको चाहनालाई हर हालतमा पूरा गराउने बाचासहित राप्रपा, राप्रपा नेपाल लगायतका राजनीतिक दल तथा विभिन्न समूहमा छरिएर रहेका राजावादीहरु केही दिनयता छुट्टा–छुट्टै सडकमा ओर्लिएका छन् ।

 

टिप्पणीहरू