ओलीविरुद्ध नारा लगाएको भन्दै दर्शकमाथि आक्रमण
सत्ता र शक्ति हुनेले जे पनि गर्न पाउँछ ? एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा संचालित ‘केपी ओली कप’ फुटबल प्रतियोगिताको फाइनल खेलका दौरान दशरथ रंगाशालामा देखिएको दृश्यले यस्तो प्रश्न उब्जाएको छ ।
उक्त प्रतियोगिताअन्तर्गत त्रिभुवन आर्मी क्लब र मच्छिन्द्र एफसीबीच हिजो फाइनल खेल हुँदै थियो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दर्शक खचाखच थिए । खेल शुरु हुनै लाग्दा आफ्नै नामको प्रतियोगिता हेर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि रंगशाला पुग्नुभयो । अरु बेलाजस्तै उहाँलाई देख्नबित्तिकै समर्थकले हुटिङ गरे । त्यतिन्जेलसम्म रंगशालाको वातावरण उत्साहजनक नै देखिन्थ्यो ।
यद्यपि, अपारदर्शी टिकट बिक्री र अव्यवस्थित प्रवेशले रंगशालाको गेटमा तनावग्रस्त अवस्था नभएको भने होइन । खेल चलिरहँदा पश्चिमतर्फको दर्शकदिर्घामा रहेकाहरु युवाहरु कानेखुशी गर्दै थिए । पछाडि बसेका एमालेको भात्री संस्था राष्ट्रिय युवा संघका कार्यकर्ताले त्य सलाई आफ्ना अध्यक्षविरुद्ध नाराबाजी गर्न खोजेको अर्थमा बुझे । र, एकाएक आक्रमणमा उत्रिए।
फलामको रेलिङ नाघेर ती युवा भएको ठाउँमा पुगेका युवा संघका कार्यकर्ता आक्रोशित हुँदै किक प्रहार गरेको सामाजिक सञ्जालमा भाइरल भिडियोमा देख्न सकिन्छ । रातो खाता लगाएका र गलामा आइडी भिरेकाहरुको आक्रमणमा परेका युवाले 'बोल्न पनि पाइंदैन' भन्दै प्रतिवाद गर्न खोजेको देखिन्छ । तर, गालीगलौज गर्दै आक्रमणमा उत्रिएका युवा संघका कार्यकर्ता रोकिँदैनन् र ती युवकको कठालोमा समात्न पुग्छन् ।
रंगशालाभित्र दर्शक कुटिंदा पनि छेवैमा रहेका प्रहरीले भने हस्तक्षेप गरेको देखिंदैन । दर्शकलाई आक्रमण गर्ने सत्ताधारी पार्टीका कार्यकर्तालाई रोक्न जरुरी नठानेको प्रहरीले उल्टै कुटाई खाने युवातर्फ हात तेर्स्याएको भिडियोमा देखिन्छ ।
हिजो एमालेका कार्यकर्ताले नागरिकमाथि ज्यादती गरेको थुप्रै भिडियो क्लिपहरु सामाजिक सञ्जालमा सार्वजनिक भइरहेका छन् । संविधानले नै वाक तथा अभिव्यक्ति स्वतन्त्रता प्रत्याभूत गरेपनि ओलीविरुद्ध बोलेकै कारण एमाले कार्यकर्ताले देखाएको उक्त हर्कतको चर्को विरोध भैरहेको छ ।
सामाजिक सञ्जालबाटै धेरैले कडा प्रतिक्रिया दिएका छन् । ‘नेतृत्व गतिलो भए पो कार्यकर्ता गतिला बन्ने’ सञ्जाल प्रयोगकर्ता पवन घिसिङको तर्क छ ।
मनोज सिलवालले पनि एमाले कार्यकर्ताको चर्को आलोचना गरेका छन् । उनको प्रतिक्रिया छ, ‘केपीका झड्केला पुत्रको करामत ! निभ्न लागेको दियो चम्किएको हो ।’
अनिल सापकोटाले भने हिजो रंगशालामा एमालेले पैसा दिएर गुण्डा परिचालन गरेको बताएका छन् । ‘वैदेशिक ऋण लियो, गुन्डा पाल्यो, जनता कुट्न लगायो, क्या मोज छ है’, उनकाे व्यंग छ ।
टिप्पणीहरू