सिक्किमबाट पाथीभरामा घुसपैठको सुराक
ताप्लेजुङको पाथीभरामा निर्माणाधीन केबलकार विरोधीहरुले थालेको आन्दोलनले विभिन्न रुप धारण गरेको छ । गत शनिबार पाथीभरा जाने डाँडोको फेदीस्थित काफ्लेपाटी र सदरमुकाम फुङलिङमा भएको आन्दोलनमा घुसपैठ भएको सेनाको निचोड छ ।
‘केबलकार विरोधीहरुको आन्दोलनमा सिक्किमबाट घुसपैठ’ भन्ने सैनिक रिपोर्ट प्राप्त भएपछि आइतबार गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको आकस्मिक बैठक डाकिएको थियो । तर, चार वटै सुरक्षा निकायको रिपोर्टमा फरक कुरा भेटियो ।
भद्रकालीस्थित जंगी अड्डामा पृतनापति सम्मेलन जारी रहेकै बेला आएको उक्त रिपोर्टले सनसनी मच्चाउनु स्वाभाविक पनि थियो । बैठकमा सहभागी स्रोत भन्छ, ‘केही दिनअघि केबलकार पक्षधर एक जनालाई धरानमा विरोधीहरुले मोसो दलेपछि रातारात भागेर सिक्किम पुगेका एकजना फरार अभियुक्तले सामाजिक सञ्जालमा लेखेको स्टाटसको आधारमा सेनाले उक्त रिपोर्ट गरेको देखिन आयो ।’
धरानमा फागुन ४ गते केबलकार पक्षधर स्थानीय लिम्बू समुदायका पदम चेन्जी माबोलाई असन्तुष्ट समूहले हातपात गर्दै मोसो दलेको थियो । धरान–२ स्थित एचके मेलोडी होटलमा अर्कै सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा ‘नो केबलकार’ समूहले माबोलाई मोसो दलेको हो । प्रहरीले माबोको उजुरीका आधारमा छानबिन प्रक्रिया अघि बढाउने भएपछि मोसो दल्नेमध्ये केही समातिए भने एकजना चाहिँ फुत्किएर सिक्किम पुगे । विष्णु फामदेन, सुमिन चेम्जोङ, जन्टिल लावतीहरुले मोसो दलेको र विष्णुचाहिँ लुक्नैको लागि सिक्किम पुगेको स्रोतको दाबी छ ।
यता केबलकारको विरोधमा आन्दोलन चर्काउन उनले गाङतोकबाटै पोष्ट गरेको फेसबुक स्टाटस यताका नातेदार तथा अरुले शेयर गरेपछि विष्णुको लोकेसनका आधारमा सेनाले सिक्किमबाट घुसपैठ भइरहेको रिपोर्ट तयार पारेको अनुमान छ । विष्णुको फेसबुक स्टाटसकै कारण पनि शनिबार साँझ ताप्लेजुङ सदरमुकाममा भिडन्त निम्त्याएको निचोड निकालिएको छ।
टिप्पणीहरू