दिल्ली अनि देउवाको दुःख
पूर्वप्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाको पूर्वनिर्धारित भारत भ्रमण अन्तिम समयमा रोकिएपछि राजनीतिक वृत्तमा विभिन्न टिप्पणी भइरहेको छ । वर्तमान सत्ता गठबन्धनसँग दक्षिणी छिमेकी खुशी नरहेको चर्चाका बीच फागुन ८ गतेलाई उक्त मिति तय भएको थियो । तर, पत्नी आरजु राणा ओमानबाट घर फर्कने र देउवा बूढानीलकण्ठस्थित निवासबाट विमानस्थलतर्फ जाने तयारी हुँदै गर्दा अचानक यात्रा रद्ध गरियो ।
एमालेसँग मिलेर सत्ता गठबन्धन बनाएकोमा भारतीय संस्थापन पक्ष शुरुदेखि नै काँग्रेस र देउवासँग सन्तुष्ट थिएन । असार १७ गते मध्यराति दुई पार्टीका शीर्ष नेताबीच सात बुँदे सहमतिमा हस्ताक्षर भएको भोलिपल्ट बूढानिलकण्ठ पुगेर राजदूत नवीन श्रीवास्तवले माओवादीसँगको पुरानै गठबन्धनमा फर्किन घुमाउरो दबाबसमेत दिएका थिए । तर, एमालेसँग लिखित सहमति भैसकेकाले धोका दिन नमिल्ने भन्दै देउवाले प्रस्ताव अस्वीकार गरिदिए । त्यसपछि थप चिढिएको भारतले सरकार बनेको आठ महिना बितिसक्दा पनि प्रधानमन्त्री ओलीलाई औपचारिक निम्तो दिएको छैन ।
सरकार गठनलगत्तै पहिले दिल्ली जाने रहर गरेका ओलीले आफ्नो तर्फबाट भरमग्दुर प्रयास नगरेको होइन । दिल्ली जाने हुटहुटी पूरा गर्न डा. आरजु राणा देउवालाई दुईचोटि दिल्ली पठाईएको पनि हो । तर, भारतीय संस्थापन पक्ष ओलीलाई स्वागत गर्न अझै तयार देखिंदैन ।
सरकार बन्नासाथ परराष्ट्रमन्त्रीको हैसियतमा दिल्ली पुगेकी आरजुलाई प्रधानमन्त्रीसरह स्वागत–सत्कार गरेको भारतले पछिल्लो पटक भने पूरै बेवास्ता गर्यो । निम्ता माग्न प्रधानमन्त्रीको दूत बनेर गएकी उनले प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस. जयशंकर, अजित डोभालसँग त भेट्न पाइनन् नै बिजेपीका सामान्य नेताले समेत भेट दिएनन् । भारतसँग सम्बन्ध सुधारेर ओलीको भ्रमण गराउने उद्धेश्यसहित जर्मनीबाटै दिल्ली पुगेकी उनले उल्टै अपमान खेपेर रित्तोहात स्वदेश फर्किनुप¥यो । जबकि भदौ २ गते पहिलोचोटि जाँदा दिल्लीमा अभूतपूर्व स्वागत गरिएको थियो ।
यो पृष्ठभूमिमा फागुन ७ गते बुधबार दिउँसो एकाएक देउवा भारत जान लागेको खबर बाहिरियो । उत्तर प्रदेश सरकारले प्रयागराजमा आयोजना गर्न लागेको ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेनेबिलिटी’ कार्यक्रममा प्रमुख वक्ताका रुपमा निम्त्याइएको थियो । त्यहाँका मुख्यमन्त्री योगी आदित्यनाथसहित बिभिन्न देशका शीर्ष नेता र मन्त्रीहरु सहभागी हुने भनिएको कार्यक्रमका निम्ति देउवाको तस्वीरसहितको ब्यानर सार्वजनिक भैसकेको थियो । निजी सचिव भानु देउवासँगै जगदम्बा इन्टरप्राइजेजका अध्यक्ष अनिल रुंगटालाई लिएर एअर इण्डियाको उडानमा बिहीबार दिउँसो ३ बजे दिल्ली जाने कार्यक्रम थियो ।
तर, एकाएक देउवाले भ्रमण स्थगित गरे । पाँच पटक मुलुकको कार्यकारी प्रमुख भैसकेका र भावी प्रधानमन्त्रीको रुपमा समेत हेरिएका देशकै सबैभन्दा ठूलो पार्टीका सभापतिको अचानक भ्रमण रोकिएको विषयमा कांग्रेसले आधिकारिक धारणा सार्वजनिक गरेको छैन । उडिसामा नेपाली विद्यार्थी मृत भेटिएको घटनापछि उत्पन्न परिस्थिति र महाकुम्भको समापनमा मुस्लिमहरुले भागदौड मच्चाउने खतरालाई मध्यनजर गर्दै भ्रमण रद्ध गरेको हल्ला पिटाए पनि दिल्लीमा उच्चस्तरीय भेटघाट नहुने भएपछि रोकिएको कांग्रेस स्रोतले बताएको छ ।
स्रोतका अनुसार भारतसँग सम्बन्ध सुधारको प्रयासमा रहेका देउवा तीर्थाटनको अवसर पारेर दिल्लीमा उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्न चाहन्थे । प्रधानमन्त्री नरेन्द्र मोदी, सुरक्षा सल्लाहकार अजित डोभाल, विदेशमन्त्री एस. जयशंकर र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथमध्ये एक जनासँग भेट्ने प्रयास थियो । त्यसनिम्ति विभिन्न कूटनीतिक च्यानलमार्फत संवाद अघि बढाईयो । तर, चारै जनाले भेट नदिने भएपछि अन्तिम क्षणमा भ्रमण रोकिएको स्रोतको भनाई छ ।
‘पहिला उनीहरुसँग समय मिलाएर मात्र कार्यक्रम सार्वजनिक गर्नुपथ्र्यो । तर, कार्यक्रम सार्वजनिक गरेर बल्ल विभिन्न च्यानलमार्फत भेटवार्ताको प्रयास गरे’, समाचार स्रोतले सुनायो, ‘कुनै पनि च्यानलले समय दिन नमानेपछि एयरपोर्टका लागि निस्कने बेला रोकिनुप¥यो ।’ ओलीको दूत बनेर दिल्ली पुगेकी आरजुलाई भेटेवापत राम माधवसँग बिजेपीले स्पष्टिकरण मागेको थियो । जबकि एनजिओ चलाएर बसेका उनी पार्टीको ठोस जिम्मेवारीमा थिएनन् । देउवाको हकमा त्यो तहका नेताले समेत भेट्न इच्छा नदेखाएको बुझिएको छ ।
नेपालका राजनीतिक पार्टीहरुमा कांग्रेसलाई भारतनिकट मानिन्छ । बिजेपी र काँग्रेसबीच असल पार्टीगत सम्बन्ध पनि रहँदै आएको छ । अर्कोतिर देउवा परिवारसँग बिजेपीको विशेष र छुट्टै सम्बन्ध रहेको बेलाबखत चर्चासमेत हुने गर्छ । देउवा प्रधानमन्त्री भएका बेला आरजुले तत्कालीन विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेलाई जनै पूर्णिमाको दिन बालुवाटारमा राखी बाँधेर राजनीतिक सम्बन्धलाई थप कसिलो बनाएको भनिन्थ्यो । तर, यो घटनासँगै ओलीको सत्ता जोगाउन काँध थापेका देउवाप्रति भारतले भरोशा गर्न छोडेको विश्लेषकहरुको टिप्पणी छ ।
एयरपोर्ट जानेबेला भ्रमण रद्ध भएको विषयलाई शेरबहादुर र आरजुको कूटनीतिक असफलता भन्दै कांग्रेसका एकथरी नेताले पार्टीमा छलफलको माग गरेका छन् । महामन्त्री गगन थापा काठमाडौँ फर्किएपछि यसबारे मज्जैसँग कुरा उठाउने एकजना पूर्वपदाधिकारीले दावी गरे ।
‘पहिला श्रीमतीलाई भेट दिएन, अहिले श्रीमानलाई पनि त्यसै गरियो । श्रीमतीलाई नदिएकोमा त ल परराष्ट्रमन्त्रीलाई दिएन, यस्तै हो भनौंला । काँग्रेस सभापतिका रुपमा देउवालाई भेट नदिएको विषय गम्भीर छ’, उनी भन्छन्, ’यो उहाँहरुको कूटनीतिक विफलता हो, यसबारे पार्टीमा छलफल हुनुपर्छ ।’ त्यसो त देउवालाई दिल्ली नगैनहुने हतारो पनि होइन । सहमतिअनुसार आलोपालोको प्रधानमन्त्री बन्न डेढ वर्ष बाँकी नै छ । भारतीय रिसाए पनि त्यतिञ्जेलको तुष ओलीसँगै रहने हो ।
समाचार स्रोतका अनुसार देउवाले पनि सिधै मोदी भेट्नकै लागि दिल्ली जान लागे जस्तो नदेखिने गरी यात्रा योजना बनाएका थिए । कुम्भ मेलामा नुहाउन प्रयागराज जाने र त्यसपछि उपचारको बहानामा दिल्ली पुग्ने योजना थियो । तर, मोदीको सचिवालयले हाल संसद चलिरहेको र दिल्लीको नयाँ मुख्यमन्त्रीलाई शपथ ग्रहण गराउने लगायतका समारोहहरूमा सहभागी बन्न जाने जस्ता बहाना बनाएर अहिले भेट्न नभ्याउने जानकारी दियो । दिल्लीको योजनाबारे जानकार स्रोत बताउँछ, आरजुलाई भेट दिइरहेकै अवस्था हो । त्यसो हुँदा देउवालाई भेट्न नचाहने भन्ने कुरै आउँदैन । बरु सत्य के हो भने अहिले देउवासँग छलफल नै गरिहाल्नुपर्ने कुनै एजेण्डा दिल्लीसँग छैन । त्यसैले उपयुक्त बहाना देखाएर समय नमिलेको जनाउ दिइएको हो ।’
देउवाको भ्रमणबारे दिल्लीको बुझाई प्रष्ट छ । उताकाहरू भन्छन्, ‘हामीले कुरा बुझेका छौं । देउवा धार्मिक व्यक्ति होइनन् र प्रयागराजमा कुम्भ स्नान गर्न आउन चाहेका पनि होइनन् । न त स्वास्थ्य उपचारका लागि आउनुपर्ने गरीे कुनै गम्भीर समस्या नै देखिएको छ । त्यसैले समय मिलाएर चाँडै खबर गर्ने वाचा गरेका छौं ।’ उनी धार्मीक यात्राको कभरमा दिल्ली जान चाहेको भारतीयहरूले बुझेका छन् ।
जानकारहरु भन्छन्, ‘अहिले भारत केपी ओलीले शान्त र सौंहाद्र्र वातावरणमा देउवालाई सत्ता हस्तान्तरण गर्ने दिनको प्रतिक्षामा छ । त्यसो त देउवाले पनि ओलीलाई सबै कुरामा साथ दिएकै छन् । ओलीले ल्याएका अध्यादेशको समर्थनमा देउवा किन आएका हुन् भने यदि राम्रो भए गठबन्धन सरकारले गरेको भन्न पाइन्छ भने बिग्रिएको जति प्रधानमन्त्री र उनकै दलको थाप्लोमा हाल्न पाइन्छ । त्यसबाहेक आफूलाई सबै कुरामा साथ दिएका देउवालाई धोका दिन ओलीलाई समेत नैतिकरूपमा गाह्रो पर्छ । यसरी देउवा अहिले रणनीनतिक पाइला चालिरहेका छन् ।
देउवा निकट एक नेताले बताएअनुसार हाल उनको बुझाइ कस्तो छ भने प्रचण्डले जति नै फुइँ लगाए पनि आम जनता माओवादीसँग रुष्ट छन् । प्रधानमन्त्री ओली र उनको दलको शाख दिनप्रतिदिन घट्दो छ । त्यसैले माहौल आफ्नो पक्षमा रहेको निश्कर्षमा देउवा रहेका छन् । त्यसबाहेक हिन्दू राष्ट्रका पक्षधर र राजावादीहरु समेत माओवादीलाई देखी सहँदैनन् । उनीहरूले कांग्रेस र एमालेमध्ये एक रोज्नु पर्दा सहयात्राको लागि कांग्रेसलाई नै खोज्छन् ।
समाचार स्रोतका अनुसार ‘तपाईंले सभापतिको विकल्प दिनु भएन । हामीलाई बेसहारा छोड्नु भो ।’ भन्ने गुनासो बोकेर देउवा निवास पुगेका प्रकाशमान सिंह, प्रकाश शरण महत, मोहनबहादुर बस्नेत लगायतलाई देउवाले निकै क्याल्कुलेटिभ जवाफ दिएका थिए– ‘यदि तपाईंहरू अबको सभापति शेखर कोइराला नबनुन् भन्ने चाहनुहुन्छ भने उनलाई कसरी कमजोर पार्न सकिन्छ त्यतातिर सोच्नुस् ।’ देउवाले शेखर क्याम्पबाट गगन थापालाई निकालेर कोइरालालाई कमजोर पार्ने युक्ति सिकाएपछि अहिले गगनलाई देउवासँग निकटस्थहरुले समेत सँगै लिएर हिंड्ने र देउवाको पकेट क्षेत्रमा समेत उनलाई पहुँच दिने गरिरहेका छन् ।
देउवाको सिधा सुझाव थियो – तिमीहरू अहिले वैकल्पिक सभापतिको चिन्ता छाडेर शेखर कता जाँदैछन् के गर्दैछन् त्यो बारे पनि सोधखोज नगरी बसे हुन्छ । सोच्ने भनेको शेखरलाई कसरी कमजोर पार्न सकिन्छ भन्ने बारे मात्र हो । उनलाई जिल्ला जिल्ला घुम्न र मन लागेको बोल्न छोडिदिनु पर्छ भन्ने देउवाको सुझाव थियो । त्यसैले देउवाले गगनको सार्वजनिक रूपमा प्रशंशासमेत गर्न थालेका छन् । त्यतिमात्र होइन अहिले गगन शेरबहादुरको बलियो प्रभाव रहेको सुर्खेतलगायतका क्षेत्रमा पुगिरहेका छन् । त्यसो त गगनको पनि पछिल्लो दिनमा ‘टोन चेञ्ज’ भएको छ । उनी यो गठबन्धन पुरै कार्यकालभर चल्छ भनेर ठोकुवा गर्दै हिँडिरहेका छन् । एमालेप्रतिको कडा प्रहार पनि रोकिएको छ । उनले आफ्नो प्रहारको केन्द्र माओवादीलाई बनाएका छन् । गगनसँग तालमेल मिलाउनको लागि गुरु घिमिरेलगायतका युवा नेतासमेत देउवाबाट परिचालित बनेको अवस्था छ ।
गगन थापाले के कुरा बुझेका छन् भने यदि देउवालाई प्रधानमन्त्री नबनाइकन अधिवेशन गरियो भने फेरि पनि उनी पार्टी सभापति बन्नेछन् । त्यसैले पहिले शेरबहादुरलाई प्रधानमन्त्री बनाउने र त्यसपछि आफू सभापति बन्ने योजना छ । उता शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुअघि नै महाधिवेशन गर्ने योजनामा छन् । कथमकदाचित गठबन्धन तोड्नुपर्ने अवस्था आयो भने पनि पार्टी सभापति त कम्तीमा आफैसँग रहन्छ भनेर अर्ली महाधिवेशनको समेत सोचमा अघि बढिरहेको बताइन्छ । यदि गठबन्धन परिवर्तन गरिहाल्नुपर्ने अवस्था आएमा पनि प्रचण्डलाई प्रयोग गरेर आफू सजिलै प्रधानमन्त्री बन्न सकिन्छ भन्ने कुरामा देउवा ढुक्क देखिन्छन् ।
टिप्पणीहरू