आफ्नै नेताले तरबार र बञ्चरोले प्रहार गर्न खोजेपछि...
सत्तारुढ दल नेपाली काँग्रेसको महाधिवेशन नजिकिँदै गर्दा नेतृत्वका आकांक्षीहरुले अघोषित रणनीति अपनाउन थालिसकेका छन् । पार्टी विधानअनुसार सभापति शेरबहादुर देउवाले ०८२ भित्रै महाधिवेशन सम्पन्न गरेर नेतृत्व हस्तान्तरण गर्नुपर्ने हुन्छ ।
सभापति बन्ने उद्देश्यसहित नेता शेखर कोइरालाले छुट्टै भेला गर्दै हिँडिरहेको बेला देउवा निकट मानिएका महामन्त्री गगन थापा पनि नेतृत्व हात पार्न हरतरहका प्रयासमा देखिन्छन् । पार्टीको शीर्ष नेतृत्व तहमै देखिएको गुटको ‘साइड इफेक्ट’ यतिबेला भने विभिन्न भ्रातृ संगठन हुँदै स्थानीय स्तरसम्मै छताछुल्ल हुन थालेको छ ।
नेपाल विद्यार्थी संघका मोरङ सभापति सरोज पोखरेल आज आफ्नै नेता तथा कार्यकर्ताबाट कुटिएका छन् । कुटपिटबाट घाइते उनकोे विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ ।
सभापति पोखरेल नेतृत्वको टोली क्याम्पस इकाइ कमिटी गठन गर्ने भन्दै दिउँसो महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा पुगेको थियो । तर उनीहरुलाई देख्नबित्तिकै स्ववियु सभापतिसमेत रहेका नेविसंघकै नेता जसवन्त पौडेलसहितको टोलीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी नारायणप्रसाद चिमरियाले जानकारी दिए । उनका अनुसार पौडेल समूहले बञ्चरो र तरबारले आक्रमणको प्रयास गरेको थियो । ‘तर त्यहाँ भएका अन्य विद्यार्थीले हतियार खोसेपछि उहाँ (पोखरेल)लाई लछारपछार गरेर कुटपिट गरेछन्’, एसपी चिमरियाले भने ।
दुवै जना नेविसंघका नेताबीच किन झडप भयो होला ? भन्ने कारण खोज्दै जाँदा पार्टीको शीर्ष तहमा रहेको गुटको प्रभाव परेको बुझिएको छ । आक्रमण गर्ने पौडेल सभापति देउवा पक्षधर हुन्, भने घाइते जिल्ला सभापति पोखरेल कोइराला पक्षका हुन् । उनीहरुबीच पुरानो दुश्मनी रहेको र आजको घटना निम्तिएको प्रहरीको विश्लेषण छ ।
‘क्याम्पसभित्रको कुरा हो, दुवै समूहबीच पहिल्यैदेखि टकराव रहेछ’, एसपी चिमरियाले थपे, ‘पहिले स्ववियु सभापतिको उम्मेदवार बनाउने विषयमा मनमुटाव भएको र अहिले आक्रमणमै उत्रिएको पाइयो ।’
उक्त घटनामा प्रहरीले हालसम्म कसैलाई पक्राउ गरेको छैन । ‘हामीले क्याम्पस प्रशासनसँग समन्वय गरेर घटनाबारे बुझिरहेका छौँ, तर पीडितको तर्फबाट कुनै लिखित जाहेरी नपर्दासम्म केही गर्न सक्दैनौँ । अहिले घाइतेको उपचार चलिरहेको छ, उहाँले निवेदन दिनुभयो भने आक्रमण गर्नेलाई नियन्त्रणमा लिएर विस्तृत अनुसन्धान गछौँ,’ प्रहरीको भनाइ छ ।
टिप्पणीहरू