कुलमानको हकमा ‘पर्ख र हेर’,बीमा प्राधिकरणमा तुरुन्तै
नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिंगलाई हिजोको क्याबिनेट बैठकले हटाउने चर्चा व्यापक भए पनि त्यसबारे कुनै निर्णय भएन । हिजोको बैठकले ८० जना सहसचिवको सरुवा र नेपाल बीमा प्राधिकरणको कार्यकारी अध्यक्षमा पूर्व पत्रकार शरद ओझालाई नियुक्तिको निर्णय गरेको छ ।
बैठकमा ऊर्जा मन्त्रालयको तर्फबाट कुलमान हटाउने प्रस्ताव दर्ता नै नभएको बुझिएको छ । बैठकमा सहभागी एक जना मन्त्री भन्छन्, ‘औपचारिक प्रक्रिया नै अघि बढेको छैन । माथिल्लो तहमा कुरा भएको होला । त्यसको पुष्टि राज्यमन्त्री पूर्णबहादुर तामाङले गरेका छन् । उनले घिसिंगलाई हटाउन नहुने धारणा सार्वजनिक गरिसकेका छन् ।’
सोझै मन्त्रिपरिषद्को बैठकबाट हटाउँदा कुलमानले अदालतबाट अन्तरिम आदेश ल्याउन सक्ने सम्भावना देखिएपछि स्पष्टीकरणका प्रक्रिया पूरा गर्नेतर्फ सरकार अघि बढेको बुझिएको छ । बीमा ओझालाई नियुक्तिको लागि आएको प्रस्तावमा क्याबिनेटमा कसैले चुईंक्क समेत नबोलेको बताइन्छ ।
बिचौलिया दीपक भट्टको रोडम्यापअनुसार अर्थसचिव फेर्दै र बीमा प्राधिकरणमा एमाले निकट पूर्व सचिव रामशरण पुडासैनीहरु जस्तालाई फाल्दै ओझालाई ल्याइएपछि भट्टको विरुद्धमा बोल्न धेरैलाई गाह्रो भएको छ । ओझा काँग्रेस सभापति शेरबहादुर देउवाको गाउँपालिका डडेलधुराको गन्यापधुराका ३३ वर्षे युवक हुन् । रवि भवनको होटल तालिम केन्द्रदेखि विभिन्न निजी कलेजमा अध्यापन गरेको र पत्रकारिता गरेको आधारमा उनीमाथि ऐनले तोकेको योग्यता पूरा नभएको प्रतिस्पर्धीहरुको आरोप छ ।
सर्टलिस्टमा परेका पाँच जना उम्मेदवारमध्ये एकजनाले भने, ‘बैंक र बीमाको क्षेत्रमा ५ वर्षको अनुभव भनिएको छ । त्यो भनेको उनले बैंक र बीमा क्षेत्रमा कार्य अनुभव संगालेको हुनैपर्छ ।’ हिजो रातिको क्याबिनेट बैठकमा प्रस्तुत प्रस्तावमाथि कसैले प्रश्न नउठाएपछि सोझै पारित भएको थियो ।

टिप्पणीहरू