केराको पातमा खाएपछि जनताकाे घाउको चर्चा
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकको घाउ पत्ता लगाउन पूर्वपश्चिम जागरण अभियानको थालनी गरिएको बताउनुभएको छ । झापाको कचनकवल गाउँपालिकास्थित हुकाहुकी चोकमा पार्टीको तराई–मधेश जागरण अभियानको औपचारिक उद्घाटन गर्दै उहाँले यसको उद्देश्यबारे स्पष्ट पार्नुभएको छ ।
सडक र जनतालाई माओवादीले हेर्ने बताउँदै उहाँले सत्ता गठबन्धन दलका नेताहरुलाई धेरै चिन्ता नगर्न आग्रह गर्नुभयो । ‘कतिपयले यहाँ फेरि सरकार ढाल्न सडक संघर्ष चर्काउँदै छ भनेर गलत प्रचार गरेको पनि देखियो’, उहाँले भन्नुभयो, ‘सत्तापक्षका साथीहरुलाई म के भन्न चाहन्छु भने माओवादी अब सरकार बनाउने र ढाल्ने खेलमा छैन, तपाईंहरुले चिन्ता गर्नुपर्दैन । जनताको घाउ पत्ता लगाउन हामी सडकमा ओर्लिएका हौँ ।’
उद्घाटनअघि प्रचण्डसहित पार्टी पदाधिकारीहरुले शहीद सुनिल राजवंशीको घरमा स्थानीय संस्कृतिअनुसार केराको पातमा खाना खाएका थिए । राजंवशी समुदायको परिकार खाएपछि नेताहरुले खुशी हुँदै अभियान चैत ७ गते कञ्चनपुर पुगेर टुंगिने जानकारी दिए ।
टिप्पणीहरू