आजै साँझको क्याबिनेटबाट अर्थसचिव परिवर्तनको परिणाम आउँदै

आजै साँझको क्याबिनेटबाट अर्थसचिव परिवर्तनको परिणाम आउँदै
सुन्नुहोस्

प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ मन्त्रिपरिषद्को बैठक डाक्नुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा बस्ने बैठकले केही सरकारी अधिकारीलाई बर्खास्त र केहीलाई नियुक्ति दिलाउने स्रोतले बतायो । 

आजको बैठकबाट नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिंगलाई हटाउने सम्भावना प्रबल रहेको बताइन्छ । त्यसैगरी नेपाल बीमा प्राधिकरणको अध्यक्षमा पूर्व सचिव रामशरण पुडासैनीको सट्टा पूर्व पत्रकार शरद ओझालाई नियुक्त गर्ने गोप्य तयारी भएको स्रोतको दाबी छ ।

यसअघि अर्थ मन्त्रालयबाट डा. रामप्रसाद घिमिरेलाई हटाएर घनश्याम उपाध्यायलाई ल्याउनुको तात्पर्य पनि यस्तै यस्तै रहेको हुनसक्छ । गत सोमबार प्राधिकरणको अध्यक्ष नियुक्ति प्रक्रियाका लागि पाँच जनाको नाम सर्टलिष्टमा राखेर सिफारिस समितिले नाम छानेको थियो । 

समितिले १२ जना आवेदकमध्ये कमलप्रसाद रेग्मी,चिरञ्जीवी चापागाईँ, दामोदर बसौला,रामशरण पुडासैनी र शरद ओझाको नाम छनौट गरेको थियो । उनीहरुको व्यावसायिक कार्ययोजनाको प्रस्तुतिकरण र अन्तर्वार्ता अस्ति शनिबार भइसकेको छ ।

छानिएकामध्ये रेग्मी प्राधिकरणकै निर्देशक हुन् भने चापागाईं तत्कालीन बीमा समितिका पूर्व अध्यक्ष र बसौला नेपाल स्वास्थ्य बीमा बोर्डका निवर्तमान अध्यक्ष हुन् । पूर्व सचिव पुडासैनी हाल कृषि विकास बैंकको अध्यक्ष र ओझा पूर्व पत्रकार हुन् ।

अध्यक्ष नियुक्तिका लागि क्याबिनेटमा अर्थ मन्त्रालयले पाँचमध्ये तीन जनाको नाम सिफारिस गरेको छ । तीमध्ये पहिलो नम्बरमा ओझालाई, दोस्रोमा पुडासैनी र तेस्रोमा बसौलाको नाम रहेको स्रोतको दाबी छ ।
 

टिप्पणीहरू