जम्बो टोलीसहित खाँदबारीका मेयर भोलि भारततिर
संखुवासभाको चार वटा पालिका प्रमुख भारत जान लागेका छन् । अन्य जनप्रतिनिधि एक्लै जान लाग्दा खाँदबारी नगरपालिकाका मेयर भने जम्बो टोलीसहित जाँदैछन् । जनप्रतिनिधिको टोलीमा खाँदबारीका मेयर महेश थपलिया,पाँचखपन नगरपालिकाका मेयर बिपिन राई, चिचिला गाउँपालिकाका अध्यक्ष पासाङ नुर्बु शेर्पा र सिलिचोङ गाउँपालिकाका अध्यक्ष भुपालराज मेवाहाङ छन् । खाँदबारीबाट जाने कर्मचारीको संख्या आठ रहेको छ ।
रोचक प्रसंग के भने,उता जान लागेका सम्पूर्ण जनप्रतिनिधि काँग्रेसबाट निर्वाचित हुन् । कर्मचारी पनि मेयर थपलिया निकट छन् । पालिकामा सेवा ठप्प पारेर फागुन १४ देखि २४ गतेसम्म हैदरावाद भ्रमणमा निस्किन लागेपछि स्थानीयले आपत्ति जनाएका छन् । यता, मेयर थपलियाले भने विज्ञप्तिमार्फत नगरपालिकाको दैनिक कार्यमा कुनै पनि अवरोध नहुने दाबी गरेका छन् ।
‘खाँदबारी नगरपालिकाको अनुरोधमा भारतीय दूतावासको सहजीकरण र सहयोगमा यही मिति २०८१–११–१४ देखि २०८१–११–२४ सम्म हैदराबादमा ‘एग्रीकल्चर,हर्टीकल्चर,टुरिज्मसँग सम्बन्धित रहेर हुने उक्त ट्रेनिङ्गमा केही फिल्ड भिजिटसमेत रहनेछन् जसमा भारतीय सरकारबाट भएका उच्चतम न्यू टेक्नोलोजीहरु देखाइनेछ । उक्त ट्रेनिङ्ग र अध्ययन अवलोकन भ्रमणमा १२ जनाको सहभागिता रहने र सहभागीको आवतजावतसहित सम्पूर्ण खर्च भारतीय दूतावास नेपालमार्फत हुने मेयर महेशको दावी छ ।’
भारत जाने कुरा केही समय अघिदेखि चलिरहेको थियो । मैले पनि त्यता जान रहर देखाएकी थिएँ । तर, कर्मचारीको नाम अटायो,मेरो अटाएन । दूतावासले मेरो नाम काटिदियो भन्नुभयो । मलाई उहाँहरुको जवाफ चित्त बुझेको छैन । म अहिले उपचारका लागि काठमाडौं आएकी छु ।’
यसवीच उपमेयर महेश्वरा श्रेष्ठ (बज्राचार्य) उपचारका लागि काठमाडौं आएकी छन् । नेकपा एमालेबाट निर्वाचित उनल जनआस्थासँग भनिन्,‘भारत जाने कुरा केही समय अघिदेखि चलिरहेको थियो । मैले पनि त्यता जान रहर देखाएकी थिएँ । तर, कर्मचारीको नाम अटायो,मेरो अटाएन । दूतावासले मेरो नाम काटिदियो भन्नुभयो । मलाई उहाँहरुको जवाफ चित्त बुझेको छैन । म अहिले उपचारका लागि काठमाडौं आएकी छु ।’
नेकपा एकीकृत समाजवादी पार्टीको स्थानीय नेतासमेत रहेका हेमराज निरौलाले मेयर थपलिया निर्वाचित भएदेखि नै स्थानीयले दुःख पाएको बताए । उनी नगरपालिकाभन्दा काठमाडौंमा बढी बस्ने त कहिले नगरपालिकाको खर्चमा अमेरिका डुलिरहने भएकाले स्थानीयले जनप्रतिनिधि भए–नभएको अनुभूति गर्न नपाएको उनको गुनासो छ । नगरपालिका बेथितिको दलदलमा फसेको उनले बताए ।
यता,श्रोतले भने उनीहरु हाइटेन्सन लाइनको विवाद सुल्झाउन भारत जान लागेको बताएको छ । भारतीय कम्पनी सतलज हाइड्रो कम्पनीले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत परियोजना निर्माण गर्न थालेको छ । त्यसको पावर हाउस खाँदबारीमा छ । भारतले निर्माण गरेको अरुण तेस्रो जलविद्युतको पावर हाउस भने चिचिला गाउँपालिकामा पर्छ ।
खाँदबारीमा मुआब्जा वितरण सकिइसकेको छ । तर,हाइटेन्सन लाइनको विवाद भएपछि भारतीय दूतावासको निम्तोमा उनीहरु त्यसतर्फ जाने कार्यक्रम तय भएको हो । मेयर थपलिया गत वर्ष अमेरिका गएका थिए । शुरुवातमा आफ्नै पैसाबाट अमेरिका जान लागेको बताएका उनले पछि नगरपालिकाबाट भुक्तानी लिएको स्रोतको दाबी छ ।
यता,उनीहरुले भारत जान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट स्वीकृतिसमेत नलिएको बुझिएको छ । चिचिला गाउँपालिकाका अध्यक्ष पासाङ नुर्बु शेर्पाले मन्त्रालयलाई पत्र पठाइएको बताए । तर,त्यसको जवाफ आइनसकेको उनको भनाइ छ ।
‘भ्रमणको स्वीकृतिका लागि मन्त्रालयलाई पत्र पठाएको हो । तर, अहिलेसम्म जवाफ आएको छैन’,उनले भने । खाँदबारीका मेयर थपलियाले चाहिँ स्वीकृति पाइसकेको ठोकुवा गरे । काँग्रेसको जनप्रतिनिधि मात्र जान लाग्नुभएछ नि भन्ने प्रश्न गर्दा उनले जङ्गिँदै भने,‘अब अन्य पार्टीबाट निर्वाचित भएनन् त मैले के गर्नु !’
एकपछि अर्को विवाद
मेयर थपलियाले यसअघि सार्वजनिक सुनुवाई कार्यक्रममै एक स्थानीयलाई अपशब्द प्रयोग गर्दै थर्काएका थिए । कार्यक्रममा उनले ‘गुण्डा शैली’ देखाएको भन्दै चर्को विरोध भएको थियो । हालै उनी र एक वडाध्यक्षबीच भिडन्त भएको छ । यसै क्रममा वडा नम्बर ९ का वडाध्यक्ष विमल गौतम एक रात थुनामा बसेर निस्किएका छन् ।
उनले लामो समयदेखि योजनाको भुक्तानी गर्न आग्रह गरिरहेका थिए । तर, मेयर थपलियाले आज–भोलि भन्दै अल्मलाइराखे । मादक पदार्थ सेवन गरेर बसेका वडाध्यक्ष गौतमको कानमा प्रमुख प्रशासकीय अधिकृत सरुवा भएर अन्यत्र जान लागेको कुरा परेछ । भुक्तानी रोकिने भएपछि उनी त्यहाँबाट उठेर सिधै मेयरकहाँ पुगे । दुईबीच भनाभन मात्र नभई हात हालाहालसम्म भयो । मेयर थपलियाले प्रहरी बोलाएर एक रात वडाध्यक्षलाई थुनाए ।
टिक्दैनन् प्रमुख प्रशासकीय अधिकृत
नगरपालिकामा महिनैपिच्छे प्रमुख प्रशासकीय अधिकृत फेरिन्छन् । कुनै त एक महिना पनि टिक्दैनन् । प्रमुख प्रशासकीय अधिकृतलाई हैरान बनाएर धपाउने गरेको आरोप मेयर थपलियामाथि लाग्ने गरेको छ । भट्ट थरका एक प्रमुख प्रशासकीय अधिकृत बल्लतल्ल एक महिना टिके । केही दिनअघि मात्र कार्यभार सम्हाल्ने पनि कतिञ्जेल टिक्ने हुन् ? भनी स्थानीयमा चर्चा चल्न थालिसकेको छ । यता, मेयर थपलियाले भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कारण नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नटिक्ने भनेर त्यता दोष थुपार्दै आएका छन् ।
सरकारी गाडीको चरम दुरुपयोग
नगरपालिकामा सरकारी गाडीको चरम दुरुपयोग हुँदै आएको छ । व्यक्तिगत कामका लागि पनि सरकारी गाडी प्रयोग गर्दै आएका छन् । अति नै भएपछि स्थानीयले जिल्ला प्रशासन कार्यालय, संखुवासभालाई गुहारेका छन् ।
गत फागुन ९ गते वडा नम्बर ८ का स्थानीय राजमणि भण्डारीले सिडियो कार्यालयमा निवेदन दर्ता गरेका छन् । दर्ता नम्बर ९६ भएको निवेदनमा उनले सरकारी गाडीको दुरुपयोग रोक्न जोडदार माग गरेका छन् । बिहेभोज होस् या मलामी, सरकारी गाडी लैजाने गरिएको उनको आरोप छ ।
‘सवारी साधनहरु व्यक्तिगत प्रयोजनका निम्ति, जन्ती मलामी जाँदा, बिहे भोजमा जाँदा वा सार्वजनिक बिदाका दिन मोजमस्तीमा जाँदासमेत प्रयोग गर्ने गरेको कारण यस्तो कुकृत्यको नियन्त्रण गरी सरकारी सवारी साधनको दुरुपयोग हुनबाट जोगाउनको लागि पहल गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु । प्रयोजन खुलाई तोकिएको कार्यालयबाट अनुमति लिएर चलाउन पाउने व्यवस्थालाई प्रयोगमा ल्याउनका लागि समेत सवारी साधन दुरुपयोग नियन्त्रण गर्नु वाञ्छनीय भएको कारण श्रीमानसमक्ष निवेदन पेश गरेको छु’,निवेदनमा भनिएको छ ।
टिप्पणीहरू