राजाको नाममा तमासा नदेखाउन एमाले नेताको आग्रह

सुन्नुहोस्

नेकपा (एमाले) का सांसद गोकुलप्रसाद बाँस्कोटाले राजतन्त्र पुनःस्थापना सम्भव नभएको उल्लेख गर्दै राजावादीहरुलाई धेरै दुःख नगर्न सल्लाह दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले गणतन्त्र मासेर कुनैपनि हालतमा राजसंस्था नफर्किने दाबी गरे । 

बाँसकोटाले राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता–कार्यकर्तालाई राजाको नाममा धेरै तमासा नदेखाउन पनि आग्रह गरेका छन् । ‘राजा फर्काउन पोखरामा त्यत्रो जुलुस गर्नुपर्छ ? पूर्व राजा पोखरा पुग्या...धेरै दुःख गर्नुपर्दैन, एउटा प्लेनको टिकट काट्दिनुस्, पूर्वराजा काठमाडौँ फर्किहाल्छन् नि !’, उनले व्यंग गर्दै भने, ‘के को लागि धेरै दुःख गर्ने, फर्किने भन्या काठमाडौँ त होला नि ! सिंहासनमा त सम्भव छैन, एक छैन, दुई छैन, तीन छैन ।’

सांसद बाँस्कोटाले प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)लाई पनि कटाक्ष गरेका छन् । सडकबाट सरकार नढल्ने जनाउँदै उनले संसदमा संख्या पुर्याएर आउन प्रतिपक्षलाई चुनौतीसमेत दिए । 

उनले भने, ‘सरकार बदल्न प्रतिपक्षले पनि संघर्ष गर्नुपर्दैन । बढी भोट ल्याउने, चुनाव जित्ने, बहुमत पुर्याउने अनि सरकार बनाउने । चित्त बुझेन भने अविश्वासको प्रस्ताव ल्याउने, आफ्नो सरकार बनाउने । त्यतिको लागि के सडक तताउनु पर्यो । फेरि सडक आफैं तात्दै गएको छ नि, गर्मी लाइसक्यो, पानी परेको छैन । कुनै दिन डढेलो लाग्यो भने त्यो पनि सडक आन्दोलनले लाग्यो भन्ने हुन्छ कि । गृहमन्त्रीज्यूले ध्यान दिनुहोला, सडक तातेर आन्दोलनले डढेलो लाग्नुअघि नै कुवा खन्नुहोला ।’
 

टिप्पणीहरू