पूर्वराजपरिवार यसरी थुप्रिए पोखरामा
देशमा राजतन्त्र छैन तर पुराना शाह र राणा परिवारको गतिविधि, दिनचर्या या घुमफिर भने उस्तै छ । प्रसंग पूर्वराजा ज्ञानेन्द्र पोखरामा ढुक्कैसँग बस्दाको हो । त्यहाँ उनी गत शुक्रबारदेखि दुईवटा होटलका ३९ वटा कोठामा आफन्तसँग दिन बिताइरहेका छन् । साथमा छन्, बालसखा प्रभुसमशेरकी विधवा राजी राणासहितका आफन्तहरू । प्रभु बितेको केही वर्ष भयो । उनको मृत्यु संस्कार सकेको १३ औँ दिने अवसर पारेर श्रीमती राजीले केही सहयोगीलाई पाँच वटा कार दान गरेकी थिइन् । स्रोतका अनुसार यस्तो आर्थिक क्षमता भएकी राजीको खर्चमै पूर्व राजपरिवार दोबिल्लास्थित बहादुरकृष्ण ताम्राकार र कोषराज वन्तहरु जोडिएको माउन्ट ग्लोरी होटलका ३० वटा र छेउकै अर्को होटलका ९ वटा कोठामा बस्न थालेका हुन् । पूर्वराजा ज्ञानेन्द्रसँग दरबार हत्याकाण्डमा जोगिएकी एक मात्र बहिनी शोभा र ज्वाइँ मोहनबहादुर शाहीसहित नाति/नातिनीहरू छन् । ४ गते आइतबारदेखि भने पूर्वरानी कोमल र तत्कालीन युवराज्ञी हिमानीसहित ७ जना थपिएका छन् ।
अघिल्लो वर्ष पनि यही टोली त्यो होटलमा केही दिन बस्दा एक करोड २५ लाख रूपैयाँको बिल उठेको थियो । त्यसो त ज्ञानेन्द्र सिमरा जाँदा पनि प्रभु समशेरकै घरमा बस्ने गरेका छन् । उनीहरूको पारिवारिक सम्बन्ध यति प्रगाढ छ कि ज्ञानेन्द्रले प्रभु र आफ्नो परिवारलाई अलग मान्दैनन् ।
समाचार स्रोतका अनुसार, प्रभुसमशेरको मृत्यु भएको १३ औं दिन राजीको हातबाट गाडीको चाबी ग्रहण गर्नेहरूमा अवकाशप्राप्त महासेनानी गोविन्द बस्नेतसमेत थिए । बुबाले प्रभु समशेरको परिवारका लागि लामो समयसम्म सेवा गरेको हुनाले उनलाई त्यो उपहार प्राप्त भएको बताइन्छ । सेनामा मेजर रहेको गोविन्दका छोराको भने हालै मात्र मृत्यु भएको छ । जण्डिसबाट ग्रसित उनको स्वास्थ्य लापरवाहीका कारण बिग्रेको थियो । प्रभु समशेरको बस्नेत परिवारसँग प्रगाढ सम्बन्ध रहेका गोविन्दका दाजु कृष्णकी छोरीलाई ज्ञानेन्द्रकी एक्ली छोरी प्रेरणाको साथीका रुपमा सँगै पढ्ने व्यवस्था मिलाइदिएबाट पनि प्रष्ट हुन्छ । कृष्णले पनि राजीबाट त्यहीबेला कार पाएका थिए । कृष्णकी छोरीको सम्पूर्ण पढाइ खर्च ज्ञानेन्द्रले नै वहन गरेर उनलाई दन्त चिकित्सक बनाएका छन् । त्यसैगरी राजी राणाबाट कार पाउने अर्का व्यक्ति हुन्, सहायक रथीबाट अवकाशप्राप्त नवजीवसमशेर राणा । उनी राजी राणाकी बहिनीका छोरा हुन् ।
टिप्पणीहरू