यसकारण प्रचण्डलक्षित डा. भट्टराईको एकोहोरो कटाक्ष

यसकारण प्रचण्डलक्षित डा. भट्टराईको एकोहोरो कटाक्ष
सुन्नुहोस्

पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्व सहयोद्धा तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै भन्दै आउनुभएको छ,‘मैले मेरो क्षेत्र (गोरखा) दिएर ठूलो भूल गरेँ, अब फेरि म यस्तो गल्ति गर्दिंन ।’ 
२०७९ को आम चुनावमा गृहजिल्ला चितवनबाटै उठ्ने तयारी गरे पनि अन्तिम समयमा प्रचण्ड गोरखा पुग्नुभएको थियो । विगतका तुष बिर्संदै भट्टराई पनि आफूले जित्दै आएको गोर्खा–२ प्रचण्डलाई छोड्न राजी हुनुभएकै हो । पार्टी एकताको शर्तमा दुबैले एक अर्कालाई काँध हाल्न तयार भएकै कारण निकटतम प्रतिस्पर्धीभन्दा दोब्बर मतले माओवादी अध्यक्षको जित सम्भव भयो । 

प्रचण्डले २६ हजार १०३ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार कविन्द्र बुर्लाकोटी १२ हजार ६३७ भोटमा सीमित भएका थिए । तेस्रो स्थानमा नेकपा (एमाले) का अब्दुस मियाले सात हजार ३९३ मत पाए । 

यसरी चुनावी सहकार्य गरेका प्रचण्ड र बाबुराम अहिले ‘काटाकाट’ को स्थितिमा छन् । चुनावलगत्तै काँग्रेस सभापति शेरबहादुर देउवालाई अगाडि राखेर हिसिलालाई उपराष्ट्रपति बनाउने सहमति प्रचण्डले तोडेपछि बाबुराम भड्किएको एकथरीले बताउने गरेका छन् । त्यसपछि बाबुराम पार्टी एकताको सहमतिबाट पछि हटेको भन्नेहरु पनि थुप्रै छन् । चुनावअघिको सहमतिमा बाबुराम अडिन नसकेको भन्दै महेन्द्र राय यादव र गङ्गानारायण श्रेष्ठहरुले साथ छोडेको अवस्था छँदैछ । 

त्यहि भएर अहिले बाबुराम काँग्रेस सभापति र एमाले अध्यक्षभन्दा बढी प्रचण्डसँग रुष्ट देखिनुहुन्छ । डाक्टरको सामाजिक सञ्जाल हेर्दा पनि त्यस्तो अनुमान लगाउन सकिन्छ । 

भट्टराईको राजनीति र रणनीतिबारे जानकार प्रचण्ड भने अब फकाउनेभन्दा आफ्नै हिसाबले अघि बढ्ने मनसाय रहेको देखिन्छ । २०८४ को निर्वाचनमा पनि उहाँ गोर्खाबाटै उठ्ने तयारीमा रहेको निर्वाचन क्षेत्र केन्द्रित गतिविधि बढाएबाट अनुमान गर्न सकिन्छ । त्यसो हुँदा आउँदो चुनावमा गोर्खा–२ मा प्रचण्ड र बाबुराम आमनेसामने हुने पक्का छ । 

कार्यकर्ता भेटकै लागि प्रचण्ड पछिल्लो एक महिनामा दोस्रो पटक गोरखा पुग्नुभएको छ । गत माघ ८ गते गोर्खा नगरपालिकामा शहीद परिवार, ज्येष्ठ नागरिक, मुस्लिम समुदाय र स्थानीय कार्यकर्तासँग दुई दिन बिताउनुभएका उहाँ हिजो पनि त्यहाँ पुग्नुभएको हो । 

पालुङ्टार र गोप्लिङ पुगेर शहीद परिवारसँग भेटघाट गर्नुभएका उहाँले जनयुद्धमा बलिदान दिनेहरुको सपना पूरा गर्न जीवनको अन्तिम क्षणसँग लागिरहने वाचासमेत गर्नुभएको छ । आज पनि उहाँले जनयुद्धको उपलब्धि बचाउन र शहीदको सपना तुहिन नदिने प्रतिबद्धता जनाउनुभयो ।

बिहान तनहुँको शुक्लागण्डकी नगरपालिका–२, हलेदीस्थित शहीदपार्कमा आयोजित स्थानीय कार्यकर्ता भेटघाटमा प्रचण्डले शहीदको त्यागले नै मुलुकले आज संघीय लोकतान्त्रिक गणतन्त्र पाएको बताउनुभयो ।

‘आफ्नो जीवनको प्रवाह नगरेर महान जनयुद्धमा होमिनेहरुप्रति मलाई साँच्चिकै हृदयदेखि सम्मान जाग्छ’, उहाँले भन्नुभयो, ‘त्यतिबेला न हामी एकअर्कासँग परिचित थियौँ, न पर्याप्त शक्ति थियो, तर पनि एउटा उद्देश्य र विचारले हामीलाई एक ठाउँमा उभियौँ र सफल भयौँ ।’ 

त्यतिबेला ‘प्रचण्ड’ नामप्रति विश्वास गर्ने सहकर्मी, कार्यकर्ता तथा नागरिकप्रति उहाँले सम्मान समेत व्यक्त गर्नुभयो । ‘जनयुद्ध शुरु भइसकेपछि माओवादीमा जुन लहर देखियो, त्यो स्वतःस्फूर्त जोडिएका हुन्, प्रचण्ड भन्ने मान्छेको अनुहार नदेखे पनि नामप्रति विश्वास गर्नेहरुलाई सम्मान व्यक्त गर्न चाहन्छु’, उहाँले थप्नुभयो । 

अध्यक्ष प्रचण्डलाई पञ्चमुनिदेव माध्यमिक विद्यालयमा शिक्षक र विद्यार्थीहरुले भव्य स्वागतसमेत गरेका छन् ।

टिप्पणीहरू