धामीको जन्मथलोमा भीम रावलको प्रवेश

धामीको जन्मथलोमा भीम रावलको प्रवेश

नेकपा (एमाले)बाट निष्कासित नेता डा. भीम रावलले मातृभूमि जागरण अभियानअन्तर्गत माघ अन्तिम साता दार्चुला भ्रमण गरेका छन् । गत पुस १७ गते घोषित अभियानअन्तर्गत सुदूर कुनाको दार्चुलामा डा. रावल पहिलोपटक पुगेका हुन् । 

धनगढीबाट सडकमार्ग हुँदै दार्चुला पुगेका रावललाई देशभक्त नेता स्वर्गीय प्रेमसिंह धामीको जन्मस्थल मालिकार्जुन गाउँपालिकामा भव्य स्वागत गरिएको छ । राष्ट्रिय धामसमेत रहेको मालिकार्जुन गाउँपालिका–३ मडमा रावललाई स्थानीयले बाजागाजा र फूलमालासहित स्वागत गरेका छन् । रावलले मालिकार्जुन मन्दिर दर्शन गरेका छन् भने मन्दिरका पुजारीहरूले टीका र फूलमाला लगाइदिएका छन् । महाकाली लोकमार्गले जोडिएको मालिकार्जुन राष्ट्रिय धामक्षेत्रमा रावलले स्थानीयसामु आधा घण्टा भाषण पनि दिएका छन् । 

रावललाई स्वागत गर्न एमाले, कांग्रेस र माओवादी केन्द्रलगायत सबै दलमा आबद्ध स्थानीय नेता–कार्यकर्ता सक्रिय थिए । केही ज्येष्ठ नागरिकसमेत लौरो टेकेर पुगेका थिए । नेता रावललाई शैल्यशिखर नगरपालिका–६ पनेबाज र मालिकार्जुन गाउँपालिकाको केन्द्र रहेको वडा नम्बर ८ शंकरपुर पस्तीमा पनि स्थानीयले स्वागत गरेका छन् । माघ २८ गते अपरान्ह ४ बजे मालिकार्जुन राष्ट्रिय धाममा पुगेका रावल ५० किलोमिटर दूरीमा रहेको सदरमुकाम खलंगा भने राती ८ बजे पुगेका थिए ।

विगतदेखि रावलको सम्पर्क र परिचयमा रहेका कार्यकर्तालाई जोगाउन सिंगो एमाले पार्टीपंक्तिको ध्यान गएको देखिन्छ । रावल दार्चुला पुग्दैगर्दा एमालेका सबैजसो नेता–कार्यकर्तामा रावलसँग भेटघाट र सम्पर्क नगर्न सर्कुलर भइसकेको थियो । दार्चुला पुग्नुअघि धेरै एमाले नेता–कार्यकर्तासंग डा. रावलले फोन सम्पर्क गरेका थिए तर दार्चुला पुगेपछि धेरैजसो सम्पर्कमा आएनन् । कतिपयले फोन नै नउठाएको स्रोतले बतायो । 

एमालेका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य इन्द्रसिंह विष्ट भने रावलसँगै गाडीमा सदरमुकाम खलंगा पुगेका थिए । मालिकार्जुन गाउँपालिका–८ घर भएका जिल्ला सदस्य विशनराम लोहार रावललाई भेट्न माघ २९ गते खलंगा पुगे । एमालेका पूर्व जिल्ला कमिटी सदस्य श्यामराज विष्टलगायत केही स्थानीय नेता–कार्यकर्ताले रावललाई स्थानीय ठाउँमा स्वागत गरेका थिए । 

रावललाई नेकपा (एकीकृत समाजवादी)का कार्यवाहक जिल्ला अध्यक्ष किसन सिंह धामीले पनि भेटेका छन् । सदरमुकाम खलंगामा राप्रपाको जिल्ला टोलीले रावललाई दुईपटक भेटेको छ । माओवादी केन्द्रका महाकाली नगर कमिटी अध्यक्ष गणेश सिंह खत्री पनि रावलसँग भेट्न गएका छन् । एमाले र माओवादीको एकीकरण हुँदा नेकपाको जिल्ला अध्यक्ष रहेका खत्रीसँग रावलको त्यतिबेलादेखि नै चिनजान र सम्पर्क थियो । 

रावलको भ्रमण र होटल व्यवस्थापनको जिम्मा कांग्रेसनिकट निर्माण व्यवसायी संघ दार्चुलाका अध्यक्ष सर्पराज बडूले गरेको स्रोतको भनाइ छ । रावलको सक्रियताले एमालेको संगठनलाई असर पार्ने र त्यसले आफूलाई लाभ हुने कांग्रेसजनको आकलन छ । 
 

टिप्पणीहरू